जारी भएन मे महिनाको भिसा बुलेटिन, ग्रिनकार्ड फाइल गर्न कुरेकाहरु अन्यौलमा


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

सामान्यतया महिनाको पहिलो वा दोश्रो साता अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन जारी गर्दै आएपनि मे महिनाको भिसा बुलेटिन अहिलेसम्म जारी भएको छैन । जसका कारण मे महिनामा अध्यागमन स्टाटस एड्जस्ट गर्नका लागि भिसा बुलेटिन कुरेर बसिरहेकाहरु अन्यौलमा परेका छन् ।

अमेरिकी विदेशमन्त्रालयले मे महिनाको भिसा बुलेटिन जारी नगरेका कारण युएससीआईएसले पनि परिवार र रोजगारमा आधारित ग्रिनकार्ड फायल गर्न योग्य प्राथमिकता मिति हुनेहरुको विवरण प्रकाशित गरेको छैन । अप्रिल महिनाका लागि मार्च १७ तारिख नै युएससीआइएसले यस्तो सुचना प्रकाशित गरेको थियो । तर मे महिनाका लागि भने अहिलेसम्म जारी भएको छैन ।

अमेरिकी सरकारको भिसा बुलेटिनमा डिभी लोटरी विजेताहरुको केस नम्बर समेत उल्लेख गरिएको हुन्छ । तर अमेरिकी दूतावासहरुले डिभी लोटरीका अन्तरवार्ताहरु नगरेको एकमहिना भइसकेको छ । जसका कारण सन् २०२० का लागि डिभी लोटरी जितेकाहरु अन्यौलमा परेका छन् । अर्कातर्फ आजदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि आप्रवासनमा रोक लगाएपछि अब कम्तीमा ६० दिनसम्म डिभी विजेताहरुलाई आप्रवासी भिसाहरु जारी गरिनेछैन ।

ट्रम्पको आप्रवासन रोकबाट अमेरिकी नागरिकका बयस्क छोराछोरीहरु, बुबाआमाहरु, दाजुभाईदिदीबहिनीहरु प्रभावित हुनेछन् भने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरु समेत प्रभावित हुनेछन् । उनीहरुले कम्तीमा २ महिना अमेरिकी दूतावासबाट आप्रवासी भिसा पाउनेछैनन् । त्यस्तै एक्स्ट्राअर्डिनरी लगायतका ग्रिनकार्डमा आउनेहरुले पनि भिसा पाउनेछैनन् ।

ट्रम्पको आदेशमा अमेरिकामा एसाइलम खोज्नेहरुलाई कुनै असर गर्नेछैन । साथै अमेरिकामा नै रहेर स्टाटस एड्जस्ट गर्नेहरुलाई पनि कुनै असर गर्नेछैन । अमेरिका बाहिर रहेका ग्रिनकार्डवाहक र पहिले नै आप्रवासी भिसा पाइसकेकाहरुपनि यो आदेशबाट प्रभावित हुनेछैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com