हिन्दु र बौद्ध धर्मालम्बीका साझा देवताको रथयात्रा सुरु (फोटो फिचर)


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

-दीपेन्द्र ढुंगाना (सबै तस्विर)

काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ।

आजको रथयात्रा काठमाडौँको दरबारमार्ग नजिकै रहेको तीनधारा पाठशाला अगाडिको सडकबाट सुरु भई घण्टाघर, रत्नपार्क आकाशे पुल छेउबाट असन भोटाहिटी हुँदै असनमा लगिएको छ ।

आउँदा दिनमा असनबाट हनुमानढोका हुँदै लगन पुर्‍याएर मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक रथ परिक्रमा गरेपछि यात्रा समापन हुन्छ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा बर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ।

सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ। उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्।

धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com