बेरोजगारी विमा आवेदन दिंदा कुनै गल्ती गर्नुभयो ? यथाशीघ्र यसरी सच्याउनुहोस्


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

न्युयोर्कमा तपाईले बेरोजगारी विमा आवेदन दिंदा कुनै गल्ती गर्नुभएको थियो कि ? जसका कारण तपाईको आवेदनको निर्णय वा पाउने रकमको सुविधामा फरक परेको छ कि ? वा तपाईको आवेदन अहिलेसम्म पेन्डिंग अवस्थामा रहेको छ कि ?

यदि तपाईले आवेदन दिंदा कुनै विवरणमा गल्ती गर्नुभएको थियो भने तपाईले डिपार्टमेन्ट अफ लेवरमा फोन गर्नुपर्ने हुन्छ । त्यसका लागि न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले फोन सम्पर्क गरेर सच्याउन सुझाव दिएको छ ।

न्युयोर्कमा तपाईले 888-209-8124 नम्बरमा फोन गर्नुपर्ने हुन्छ ।

डिपार्टमेन्ट अफ लेबरले भनेको छ – ‘यदि तपाईले आवेदन दिंदा कुनै विवरणमा गल्ती गर्नुभएको थियो भने सच्याउनका लागि तपाईले डिपार्टमेन्ट अफ लेबरका प्रतिनिधिसँग कुरा गर्नुपर्छ । हामीलाई थाहा छ अहिले फोन गर्नेहरुको संख्या निकै ठूलो रहेको छ । तर गल्ती सच्याउनका लागि फोन गर्ने निरन्तर प्रयास गर्नुहोला ।’

यदि तपाईलाई आवेदन पूर्ण गर्नका लागि फोन गर्न भनिएको थियो तर तपाईले फोन गर्नुभएको छैन र तपाईलाई डिपार्टमेन्ट अफ लेबरबाट पनि अहिलेसम्म फोन आएको छैन भने तपाईले आफै फोन गर्ने प्रयास गर्न सुझाव दिइएको छ ।

यदि तपाईले गतसाता ६ सय डलर बैंक एकाउन्टमा प्राप्त गरिसक्नुभएको छ तर अनलाइन एकाउन्टमा कुनै अपडेट देख्नुभएको छैन भने कृपया प्रतिक्षा गर्नुहोला । डिपार्टमेन्ट अफ लेबरले पेन्डिंगबाट रकम प्राप्त गर्न योग्य भएका आवेदनका सन्दर्भमा तत्कालै अनलाइनमा प्रणालीले अपडेट नगरेको हुनसक्ने जनाएको छ । त्यस्तै डिपार्टमेन्ट अफ लेबरले साप्ताहिक प्रमाणिकर जारी राख्न भनेको छ भने अनलाइन स्टाटस अपडेट हुन केहीदिनसमेत लाग्नसक्ने जनाएको छ ।

न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण

न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण आवेदकले रोजगारदाताको संघीय पहिचान नम्बर ईआईएन भर्न छुटाएको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यस्तो नम्बर रोजगारदाताले प्रदान गरेको डब्लु टु फर्ममा हुने स्पष्ट पारिएको छ ।

रोजगारदाताहरु कानुनी रुपमा नै आफ्ना कामदारलाई ईआईएन नम्बर दिन बाध्य हुने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । साथै रोजगारदातालाई आफ्नो संघीय ईआईएन नम्बर, न्युयोर्क राज्यको रोजगारदाता दर्ता नम्बर, पूरा नाम र ठेगाना आफ्ना कामदारलाई उपलब्ध गराउन समेत भनिएको छ ।

डिपार्टमेन्ट अफ लेवरले ३ लाख २० हजार विजनेशहरुलाई आफ्ना कामदारलाई ईआईएन नम्बर उपलब्ध गराउन भनेको छ । त्यसका लागि रोजगारदाताले एउटा फर्म भरेर कामदारलाई दिनसक्ने जनाइएको छ । रोजगारदाताले उक्त फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

यदि आवेदकले रोजगारदाताको ईआईएन नम्बर विना नै आवेदन दिएको खण्डमा डिपार्टमेन्ट अफ लेवरका प्रतिनिधिले आवेदन पूरा गर्न आवेदकलाई फोन गर्नेछन् । अहिलेसम्म आवेदन फाइल नगरेकाहरुलाई आवेदन फाइल गर्दा रोजगार दाताको ईआईएन नम्बर, न्युयोर्क राज्यको रोजगारदाता दर्ता नम्बर, पूरा नाम र ठेगाना उल्लेख गर्न सचेत गराइएको छ ।

नयाँ आवेदन प्रणालीमार्फत बेरोजगारी विमाको आवेदन दिएकाहरुले पीयुएका लागि छुट्टै आवेदन दिन आवश्यक नभएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । नयाँ प्रणाली अन्तरगत पीयुए आवेदन दिनका लागि नियमित बेरोजगारी विमा अस्वीकृत भएको हुन आवश्यक नरहेको जनाइएको छ ।

तर यदि तपाईले पूरानै प्रणालीमार्फत नियमित बेरोजगारी विमा रकमका लागि आवेदन दिनुभएको थियो र तपाई अयोग्य हुनुभयो भने तपाईले नियमित बेरोजबिमाका लागि आयोग्य भएको निर्धारसहित पत्र प्राप्त गर्नुहुनेछ । साथै तपाईले पीयुए आवेदन दिनका लागि लिंकसहित तपाईको अनलाइन एकाउन्टको इनबक्समा मेसेज प्राप्त गर्नुहुनेछ ।

उक्त मेसेज प्राप्त गरिसकेपछि तपाईले पीयुए आवेदन दिनुहोला । यदि यो मेसेज प्राप्त गर्नु अगाडि नै तपाईले पीयुए आवेदन दिइसक्नुभएको छ भने तपाईले नयाँ आवेदन दिन आवश्यक छैन । यदि तपाईको अनलाइन एकाउन्ट छैन भने तपाईले पत्र प्राप्त गर्नुहुनेछ, त्यसमा फोन प्रणाली कसरी पीयुए आवेदन दिने भन्ने सिकाइएको हुन्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com