सँगै गएर सँगै फर्केका यादवकै पार्टीका सचेतक अरगरिया किन अपहरणकारी भएनन् ?


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

‘जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई लिन काठमाडौंबाट महेश बस्नेत, किसान श्रेष्ठ, सर्वेन्द्र खनाल र नविन बस्नेतसँगै गएका र छलफल गरेर सँगै काठमाडौं फर्केका यादवकै पार्टीका सचेतक उमाशंकर अरगरिया किन अपहरणकारी भएनन् ?’ –  अमेरिका निवासी विश्लेषक राधाकृष्ण देउजाले प्रश्न गरेका छन् ।

आफ्नै पार्टीका सचेतक गएर छलफल गरेर सँगै काठमाडौं आएको घटनालाई अपहरण भन्दै प्रचारवाजी गरिनुले उनीहरुको राजनीतिक इमान्दारितामा प्रश्नचिन्ह खडा भएको देउजाले बताएका छन् । देउजा भन्छन् यो –  ‘अपहरण भन्दा पनि आफ्ना सचेतकले आफ्ना सांसदलाई छलफल गरेर सँगै काठमाडौं आएको घटना हो । राजनीतिक सहकार्यको सम्भावनालाई मूर्तरुप दिन गरिएको यात्रामात्र हो ।’

देउजाले भने – ‘नेकपाको सांसदहरु सहित समाजवादी पार्टीको सचेतक पनि आफ्ना साँसदसंग छलफल गर्न संगै काठमान्डौबाट जानु भएको तथ्य वाहिर नआएकोले कतिपयलाई नियोजित भ्रमले गर्दा आशंकित र चिन्तित पारेकोमा अव जो साँसद अपहरित भएका भनिएको थियो उनी महोत्तरीबाट काठमाडौं उनकै दलका सचेतक सहित आएको तथ्य खुलेपछि त्यो भ्रमले पनि नटुटी सुखै रहेन । अफवाहहरुलाई सत्यले विस्थापित गर्नेछ भनेको के रहेछ भनेको बल्ल बुझियो ।’

यसैबीच महेश बस्नेत, किसान श्रेष्ठ, सर्वेन्द्र खनाल र नविन बस्नेतले राष्ट्रिय मानवअधिकार आयोग र सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गराएका छन् । अपहरणको गलत आरोपले आफ्नो परिवारमा मानसिक तनाव उत्पन्न भएको तथा सामाजिक मान प्रतिष्ठामा आघात पुगेको भन्दै उनीहरुले आयोगमा निवेदन दर्ता गराएका छन् ।

त्यस्तै सरकारी वकिलको कार्यालयमा निवदेन दर्ता गराउँदै उनीहरुले घटनाको सत्यतथ्य छानविनको माग गरेका छन् ।

‘हामीलाई कथित अपहरणकारीको गलत आरोप लगाइयो । काठमाडौंबाट उनकै पार्टीका सचेतक उमाशंकर अरगरिया सँगै गएर सुरेन्द्र यादवसँगै काठमाडौं फर्केको कुरालाई भने ढाकछोप गर्न खोजियो ।’ –  पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले भने ।

खनालले भने – ‘उनकै पार्टी सचेतक काठमाडौंबाट हामीसँगै गएका हुन् । पार्टीका सांसदहरु र अन्य नेताहरुसँगको छलफलमा पनि उनी नै सहभागी भएका हुन् । तर आरोप हामीलाई लगाइयो ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com