यसरी गर्नुहोस् कुनै गल्तीविना बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले प्रकृयामा लगिएका आवेदनमा सन्दर्भमा आवेदकले साप्ताहिक रुपमा प्रमाणिकरण नगर्नेहरुको संख्या उल्लेख्य रहेको जनाएको छ । यो सप्ताहन्तमामात्र साप्ताहिक प्रमाणिकरण नगरेका झण्डै ९० हजारलाई सम्पर्क गरेको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

बेरोजगारी बिमाका लागि अनलाइन आवेदन दिएकाहरुलाई साप्ताहिक रुपमा नछुटाई प्रमाणिकरण गर्न सुझाव दिइएको छ । अनलाइन एकाउन्ट वा फोनमार्फत साप्ताहिक प्रमाणिकरण गर्न सकिन्छ ।

अनलाइनमार्फत साप्ताहिक प्रमाणिकरण गर्नका लागि सुरुमा अनलाइन एकाउन्ट लगइन गर्नुहोला । त्यसपछि अनइम्प्लोयमेन्ट सर्भिसेज सेक्सनमा क्लीक गर्नुहोला । तपाईले साप्ताहिक रकम दावी गर्ने विकल्प देख्नुहुनेछ । त्यसमा क्लिक गरेपनि केही प्रश्नावलीहरुको जवाफ दिनुपर्छ ।

डिपार्टमेन्ट अफ लेवरले प्रश्नावलीहरुमा केही परिवर्तन गरेको छ । यदि तपाईको नियमित बेरोजगारी विमा हो भने तपाईले परम्परागत प्रश्नहरु देख्नुहुनेछ । यदि तपाईको महामारी बेरोजगारी सहायता हो भने तपाईले केही अपडेटेड प्रश्नावली देख्नुहुनेछ ।

प्रश्नावलीमा तपाईले योसाता कुनै जब अफर अस्वीकार गर्नुभयो ? भनेर सोधिएको प्रश्नमा तपाईले बेरोजगारी विमा रकमका लागि योग्य हुन ‘छैन’ मा क्लीक गर्नुपर्छ । यदि तपाईले कुनै जागिरको अफर अस्वीकार गर्नुभएको खण्डमा डिपार्टमेन्ट अफ लेवरले तपाई बेरोजगारी विमा रकमका लागि योग्य भएनभएको पुनरावलोकन गर्नेछ ।

तपाईले उक्त सातामा कतिदिन काम गर्नुभयो ? भनेर प्रश्न सोधिएको हुन्छ । तपाईले काम गर्नुभएको छैन भने ‘शुन्य’ उल्लेख गर्नुहोला । तपाई योग्य हुनका लागि ‘शुन्य’ उल्लेख गर्नुपर्छ । यदि काम गर्नुभएको छ भने कतिदिन काम गर्नुभएको छ त्यो उल्लेख गर्नुपर्छ । तर तपाईले काम गर्नुभएको छ भने तपाई बेरोजगारी विमा रकमका लागि अयोग्य हुनसक्नुहुन्छ । पार्ट टाइम काम गर्नुभएको छ भने तपाई बिमा रकमका लागि योग्य पनि हुनसक्नुहुन्छ ।

तपाईले ५०४ डलरभन्दा बढी कमाई गर्नुभयो ? भन्ने प्रश्नमा तपाई बेरोजगारी बिमाका लागि योग्य ‘छैन’ मा क्लिक गर्नुपर्छ । यदि तपाईले साप्ताहिक ५०४ डलरभन्दा बढी कमाई गर्नुभएको छ भने तपाई बेरोजगारी विमा रकमका लागि योग्य हुनुहुनेछैन ।

तपाई कतिदिन काम गर्न सक्षम हुनुभएन ? वा चाहनुभएन ? वा तयार हुनुभएन ? भन्ने प्रश्नमा तपाईको जवाफ ‘शुन्य’ हुनुपर्छ । अनिमात्र तपाई विमा रकमका लागि योग्य हुनुहुनेछ । यदि तपाईले कुनै दिनमा काममा फर्कन नचाहेको उल्लेख गर्नुभएमा तपाई विमा रकमका लागि अयोग्य हुनसक्नुहुनेछ ।

त्यस्तै तपाईले विदाको समयमा कतिदिन पेमेन्ट प्राप्त गर्नुभयो वा पेमेन्ट प्राप्त गर्नुभयो कि भएन भन्ने प्रश्नमा तपाईको जवाफ ‘छैन’ वा ‘शुन्य’ भएमा मात्र तपाईले विमा रकम पाउनुहुनेछ । तपाई बिमा रकमका लागि योग्य हुनका लागि तपाई तलबी विदामा बसेको हुनुहुँदैन । यदि तपाईको कार्यस्थल बन्द छ तर तपाईले काममा नगएपनि तलब पाउनुभएको छ भने तपाई बिमा रकमका लागि योग्य हुनुहुनेछैन ।

त्यस्तै तपाईले चाडबाडको रकम प्राप्त गर्नुभएको छ कि भन्ने प्रश्नमा तपाई सामान्यतया विमा रकमका लागि योग्य हुन तपाईको जवाफ ‘शुन्य’ हुनुपर्छ । यदि तपाईले चाडबाडको पेमेन्ट प्राप्त गर्नुभएको छ भने तपाईको आवेदन डिपार्टमेन्ट अफ लेवरले पुनरावलोकन गर्नेछ ।

त्यस्तै तपाई काममा फर्कनुभयो ? भन्ने प्रश्न समेत रहेको छ । यदि तपाई काममा फर्किसक्नुभएको छ भने तपाई वेरोजगारी विमा रकमका लागि योग्य हुनुहुनेछैन । तपाई काममा फर्कनुभएको छैन भने रकम प्राप्त गर्न ‘छैन’ मा टिक लगाउनुहोला ।

यदि तपाईले अनलाइनमार्फत साप्ताहिक प्रमाणिकरण गर्न सक्नुहुन्न भने फोनमार्फत गर्नसक्नुहुनेछ । परम्परागत बेरोजगारी विमा रकमका लागि ८८८ ५८१ ५८१२ मा फोन गरेर वा महामारी बेरोजगारी सहायताका लागि ८३३ ३२४ ०३६६ मा फोन गरेर प्रमाणिकरण गर्न सक्नुहुनेछ ।

बेरोजगारी विमाको साता सोमबारदेखि आइतबारसम्म हुन्छ । अधिकांशले आइतबार वा सोमबार नै बेरोजगारी विमा रकमका लागि प्रमाणिकरण गर्छन् । त्यही नै उपयुक्त पनि हो । तर तपाईले आइतबारदेखि शनिबारभित्र जुनसुकै दिनमा पनि प्रमाणिकरण गर्नसक्नुहुन्छ । यदि प्रमाणिकरण गर्न छुटाएमा तपाईले रकम प्राप्त गर्नमा समस्या हुनसक्छ ।

कानुन अनुशार तपाई बेरोजगार हुनुभएको पहिलो सातालाई वेटिङ वीक अर्थात् प्रतिक्षा सप्ताहका रुपमा लिइन्छ । सामान्यतया बेरोजगार भएको पहिलो साता तपाईको प्रतिक्षा सप्ताहका रुपमा रहन्छ, तपाईले उक्त साताको रकम प्राप्त गर्नुहुनेछैन । तर त्यसपछिका प्रतिक्षा सप्ताह भने तपाईले आइतबारदेखि शनिबारभित्र प्रमाणिकरण गर्नुपर्छ ।

यदि तपाईको आवेदन पेन्डिंग अवस्थामा रहेको छ भने पनि तपाईले साप्ताहिक प्रमाणिकरण गरिरहनुपर्छ । आवेदन स्वीकृत भइसकेको छ भने पनि काममा नफर्कदासम्म साप्ताहिक प्रमाणिकरण गरिरहन आवश्यक छ ।

यदि तपाईको अनलाइन एकाउन्टको इनबक्समा महामारी बेरोजगारी सहायता आवेदनका लागि मेसेज आएको छ र तपाईको नियमित बेरोजगारी विमा रकमको आवेदन अनलाइनमा पेन्डिंग देखाइरहेको छ भने तपाईले यथाशीघ्र महामारी बेरोजगारी सहायता आवेदन भर्नुहोला । यदि तपाईले सुरुमा नयाँ प्रणालीबाट आवेदन दिनुभएको थियो भने महामारी बेरोजगारी सहायता आवेदन भर्न आवश्यक छैन ।

याद गर्नुहोस्, तपाईले नयाँ आवेदन दिंदामात्र तपाईको थरको पहिलो अक्षरका आधारमा दिन छनौट गर्नुपर्छ । तर साप्ताहिक प्रमाणिकरण जुनसुकै दिनमा पनि गर्न सक्नुहुनेछ । त्यसका लागि दिन छनौट गर्न आवश्यक छैन ।

यदि तपाईले बेरोजगारी विमा रकम साप्ताहिक रुपमा प्रमाणिकरण गर्दा कुनै गल्ती गर्नुभएको छ भने तपाईले अनलाइन एकाउन्ट लगइन गर्नुहोला । त्यसपछि तपाईले चिठीको आइकनमा क्लिक गरेर इनबक्समा जानुहोला । त्यसपछि तपाईले तीनवटा धर्का भएको स्थानमा क्लीक गरेर कम्पोज न्यु अप्सनमा जानुपर्छ । तपाईले विषयमा सर्टिफिकेशन एण्ड पेमेन्ट छान्नुहोला । त्यसपछि दोश्रो लाइनमा मैले प्रमामिकरण गर्दा गल्ती गरें, कसरी सच्याउने भन्ने विकल्प छनौट गर्नुहोला । त्यसपछि मेसेज लेख्ने ठाउँमा तपाईले गरेको गल्तीको व्याख्या गरेर मेसेज पठाउनुहोला ।

तपाईले ८८८ २०९ ८१२४ मा फोन पनि गर्न सक्नुहुन्छ । तर अहिले फोन गर्नेहरुको संख्या अत्याधिक भएकाले तपाईले कुरा गर्न पालो नपाउने अवस्था रहेको छ ।

थप जानकारीका लागि डिपार्टमेन्ट अफ लेवरको वेवसाइट हेर्नुहोला ।

तपाईले बेरोजगारी विमा रकम अहिलेसम्म प्राप्त गर्नसक्नुभएको छैन र कुनै प्रश्न छ भने खसोखासलाई लेख्न सक्नुहुनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com