बेरोजगारी विमाको साप्ताहिक प्रमाणिकरणमा कुनै साता छुटाएकालाई नयाँ प्रकृया


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

बेरोजगारी विमाको साप्ताहिक प्रमाणिकरण छुटाउने न्युयोर्कबासीहरु साढे ४ लाख बढी रहेको भन्दै न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले छुटाएकाहरुका लागि व्यवस्थीत र नयाँ प्रकृया सुरुवात गर्ने भएको छ । बेरोजगारी विमाको छुटेको हप्ताको प्रमाणिकरण गराउन नयाँ प्रकृयाले मद्दत गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्कमा बेरोजगारी विमाको आवदेन दिएका ४ लाख ७० हजार भन्दा बढीले कुनै न कुनै हप्ताको प्रमाणिकरण गर्न छुटाएको जनाइएको छ । आगामी सातादेखि डिपार्टमेन्ट अफ लेबरले प्रमाणिकरण छुटाएकाहरुलाई सुरक्षित फर्म इमेल गर्ने भएको छ । जसबाट छुटेको हप्ताको प्रमाणिकरण गरेर रकम छिटो पाउन सकिनेछ ।

डिपार्टमेन्ट अफ लेवरले फोन, इमेल र पत्रमार्फत प्रमाणिकरण छुटाएकाहरुलाई सम्पर्क गर्ने र उनीहरुले छुटेको हप्ताको रकम प्राप्त गर्ने कुराको सुनिश्चित गर्ने जनाएको छ । बेरोजगारी विमाका लागि आवेदन दिएकाहरुलाई साप्ताहिक रुपमा प्रमाणिकरण गर्न डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ ।

साप्ताहिक रुपमा प्रमाणिकरणको सबैभन्दा सजिलो माध्यम अनलाइन एकाउन्टमार्फत नै हो । लगइन गरेर इम्प्लोयमेन्ट सर्भिसेजमा क्लीक गरेर विक्ली बेनिफिट क्लेममा क्लीक गरेर साप्ताहिक प्रमाणिकरण गर्नुपर्छ । यदि तपाईको आवेदन पेन्डिंग अवस्थामा छ भने पनि साप्ताहिक प्रमाणिकरण नछुटाउनुहोला । साप्ताहिक प्रमाणिकरण फोनमार्फत पनि गर्न सकिन्छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी सुरुभएयता झण्डै १५ लाख न्युयोर्कबासीलाई ५ दशमलव ८ बिलियन डलर प्रदान गरिसकिएको छ । योग्य रहेका हरेक न्युयोर्कबासीहरुले रकम प्राप्त नगर्दासम्म आफूहरुले आराम नगर्ने डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com