कोरोनाभाइरस महामारी बारेको समाचार संकलन गर्दा पत्रकारले ध्यान दिनुपर्ने कुराहरु


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

– कमिटि टु प्रोटेक्ट जर्नालिस्ट

मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ (नोभल कोरोनाभाइरस) लाई विश्वव्यापी महामारी घोषणा गर्यो । संक्रमितको संख्या विश्वभरि बढ्दै गइरहेको छ । यस महामारीका बारेमा ताजा सूचनाका लागि जोन्स हप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टर भरपर्दो र सुरक्षित स्रोत हो ।

विश्वभरिका पत्रकारहरुले आम मानिसलाई भाइरस र त्यस विरुद्धको लडाइँमा सरकारको प्रयासबारे सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसको अर्थ सञ्चारकर्मीहरु आफ्नो कामका दौरान जस्तै अन्तर्वार्ता लिँदा, स्थलगत भ्रमणका क्रममा वा उनीहरु पुग्ने ठाउँका कारण संक्रमणको जोखिममा पर्दछन् ।

यो अवस्था छिट्छिटो बदलिरहेकोले यस महामारी सम्बन्धी नयाँ तथ्य देखा पर्दै जादा सम्बन्धित निकायहरुले स्वास्थ्य सूचना र महामारीसम्बन्धी समाचार अध्यावधिक गर्नेछन् । यसबारेका पछिल्ला सल्लाह र सरकारले चालेका प्रतिबन्धात्मक कदमहरुबारे जानकारी लिन पत्रकारहरुले विश्व स्वास्थ्य संगठनको वेबसाइट र स्थानीय स्वास्थ्य निकायहरुको अनुगमन गर्नु पर्नेछ ।

स्थलगत रिपोर्टिङमा कसरी सुरक्षित हुने

अन्तर्राष्ट्रिय यात्रामा लगाइएको व्यापक प्रतिबन्धका कारण सञ्चार माध्यमका लागि समाचार संकलनको ठूलो अंश यतिखेर स्वदेशमै सीमित हुने अवस्था छ ।

कोभिड–१९ बारे समाचार संकलन गर्ने योजना बनाइरहनुभएको छ भने आफ्नो सुरक्षाका लागि यी कुरामा विचार गर्नुपर्छ ।

रिपोर्टिङ अघि

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार बुढाबुढी र पहिल्यै स्वास्थ्य समस्या भएका व्यक्तिहरु यसको बढी जोखिममा पर्दछन् । यदि तपाई तीमध्येमा पर्नुहुन्छ भने तपाईले आम मान्छेहरुका बीचमा गई पूरा गर्नुपर्ने खालको जिम्मेवारी लिनु हुँदैन । त्यस्तै, गर्भवती कर्मचारीमाथि पनि विचार गर्नुपर्छ ।

– कोभिड–१९ को रिपोर्टिङका लागि कर्मचारी छान्दा व्यवस्थापनले यसबेला केही देशका व्यक्तिमाथि रंगभेदी आक्रमण हुनसक्ने कुराको ख्याल गर्नुपर्छ । यो महामारी फैलिँदै जादा यस्ता घटना बढ्ने सम्भावना छ ।

–  कार्यक्षेत्रमा खटिरहँदा तपाई बिरामी भएको (जस्तै स्व एकान्तवासमा बस्ने वा आवागमन निषेध/क्वारन्टिन लागु भएका स्थानमा लामो समय बस्नुपर्ने) अवस्थामा व्यवस्थापन टोलीले के–कस्तो सहयोग गर्नसक्छ भन्नेबारे छलफल गर्ने ।

 

मनोवैज्ञानिक सुस्वास्थ्य

– तपाई कोभिड–१९ को समाचार संकलनमा खट्दै गर्दा तपाईको परिवार र आफन्त चिन्तित र तनावग्रस्त हुने सम्भावना रहन्छ । यसबाट हुने जोखिम र उनीहरुको चिन्ताबारे उनीहरुसँग छलफल गर्नुहोस् ।

– कोभिड–१९ बाट प्रभावित क्वारन्टिन क्षेत्र, एकान्तवास वा स्वास्थ्य सेवा स्थल आदिबाट रिपोर्टिब गर्दा हुने मनोवैज्ञानिक असरमाथि पनि विचार पुर्याउनुपर्छ । डार्ट सेन्टर फर जर्नालिजम एण्ड ट्रमाले मानसिक आघात पार्ने खालका रिपोर्टिङमा अपनाउनुपर्ने उपायबारे एक उपयोगी सामग्री प्रकाशित गरेको छ ।

संक्रमित हुन र संक्रमण फैलाउनबाट जोगिनुस्

धेरै देशले अहिले सामाजिक/व्यक्तिगत दुरी कायम राख्ने अभ्यास गरेका छन् । स्वास्थ्य प्रदायक संस्था, वृद्धाश्रम, बिरामीको घर, शव गृह, क्वारन्टिन क्षेत्र, घना आवादी भएका शहरी क्षेत्र, पशु बजार वा गाईवस्तु फार्म जानु अघि ती स्थानको सरसफाईको बारेमा जानकारी लिनुहोस् । तपाई विश्वस्त हुन सक्नुभएन भने ती ठाउँ नजानुस् । यसको संक्रमणबाट बच्न निम्न उपाय अपनाउनुहोस् : 

– खासगरी हाछ्युँ र खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका मानिसबाट सतर्क रहँदै सबैबाट कम्तिमा २ मिटर टाढा रहनुहोस् ।

– कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरु, तिनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, बुढाबुढी र पहिल्यै स्वास्थ्य समस्या भएका व्यक्तिहरु र उच्च जोखिममा रहेका कामदारहरुबाट सुरक्षित दुरी कायम राख्ने कुरामा सचेत हुनुहोस् ।

– तातोपानी र साबुनले नियमित रुपमा २० सेकेन्डसम्म मिची मिची हात धुनुहोस् । त्यसपछि हात सही तरिकाले सुख्खा बनाउनुहोस् । हात कसरी सही तरिकाले धुने र सुख्खा बनाउने भन्ने जानकारी विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उपलब्ध छ ।

– साबुन वा तातोपानी नभएको अवस्थामा जीवाणु मार्ने पदार्थ वा पुछ्ने सामग्रीको प्रयोग गर्नुहोस् । लगत्तै तातोपानी र साबुनले हात धुनुहोस् । सिडिसिले ६० प्रतिशत इथानोल वा ७० प्रतिशत इसाडानोल भएको ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाएको छ । तर यी सामग्री नियमित रुपमा हात धुनुको साटो चाहिँ प्रयोग गरिनु हुँदैन ।

– खोक्दा वा हाछ्युँ गर्दा सधैँ मुख र नाक छोप्नुहोस् । टिस्यु पेपरमा खोक्नु वा हाछ्युँ गर्नुभयो भने त्यसलाई तत्कालै सुरक्षित र सही तरिकाले नष्ट गर्नुहोस् र त्यसपछि मिची मिची हात धनुुहोस्।

– अनुहार, नाक, कान, मुखलाई हातले नछुनुहोस् ।

– हात मिलाउने, अँगालो हाल्ने र चुम्बन गर्ने जस्ता क्रियाकलाप बन्द गर्नुहोस् ।

– अरु मान्छेले प्रयोग गरेका कप, माटाका भाँडा र काँटा चम्चा प्रयोग नगर्नुहोस् ।

– कोरोना भाइरस विभिन्न सामानको सतहमा लामो समयसम्म जीवित रहने भएकोले कुनै रिपोर्टिङमा जानु अघि गरगहना र घडी खोली थन्क्याएर मात्र जानुहोस् ।

–  तपाई चश्मा लगाउनुहुन्छ भने त्यसलाई नियमित रुपमा तातो पानी र साबुनले धुने गर्नुहोस् ।

– कुनै लुगा अरुभन्दा सजिलैसँग पुछ्न सकिने भएकाले कस्तो लुगा लगाउने भन्ने विचार पुर्याउनुहोस् । रिपोर्टिङबाट फर्किएपछि तातो पानीमा लुगा सफा गर्ने पाउडर लगाएर धुनुहोस् ।

–  रिपोर्टिङमा जादा र फर्किदा प्रयोग गर्ने सवारीसाधनमा विचार पु¥याउनु होस् । भरसक भीड हुने समयमा सार्वजनिक यातायात नचढ्नुस् । उत्रिसकेपछि हातमा ह्याण्ड स्यानिटाइजर दल्नुहोस् । आफ्नै साधनमा यात्रा गर्दै हुनुुहुन्छ भने संक्रमित यात्रुले साधनभित्रका अन्य व्यक्तिलाई भाइरस सार्नसक्छ भन्नेमा सचेत हुनुहोस् ।

– कामको बीच बीचमा आराम गर्नुहोस् र आफ्नो थकाइ/उर्जाशक्तिको ख्याल राख्नुहोस् । काम शुरु गर्नुअघि र सकिएपछि मानिसहरुले लामो दुरीसम्म आफ्ना सवारी साधन चलाउनसक्छन् भन्ने कुरामा पनि ध्यान दिनुहोस् ।

– प्रभावित क्षेत्रमा रहँदा वा त्यहाँबाट फर्किदा तातो पानी र साबुनले मिची मिची हात धुने कुरा हेक्का राख्नुहोस् ।

– तपाईलाई ज्वरो आउने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखियो कसरी स्वास्थ्य उपचार गर्ने भन्ने कुरा सोच्नुहोस् । अधिकांश स्वास्थ्य निकायले अरुलाई यो रोग नसरोस् भनेर घरमै क्वारन्टिनमा बस्न सुझाउँछन् ।

–  तपाई धेरै व्यक्ति संक्रमित भएको क्षेत्र पुग्नुभयो भने त्यहाँको खचाखच भएको उपचार केन्द्रमा कोभिड–१९ बाट संक्रमितसँग तपाईको जम्काभेट हुनसक्छ । यसबाट तपाई समेत जोखिममा पर्न सक्नुहुन्छ ।

–  खानेकुरा (मासु वा अण्डा) खाँदा पकाएको मात्र खानुहोस् ।

उपकरणको सुरक्षा

– क्लीप माइकको साटो निर्देशकले प्रयोग गर्ने टाढैबाट रेकर्ड गर्न सकिने फिसपोल माइक्रोफोनको प्रयोग गर्नुहोस् ।

– हरेक रिपोर्टिङपछि माइक्रोफोनको कभरलाई राम्ररी सफा गर्नुका साथै किटाणुमुक्त बनाउनुपर्छ । त्यसको कभरमा संक्रमण नहोस् भनेर त्यसलाई कसरी सुरक्षित तरिकाले हटाउने भन्ने तालिम/निर्देशिका खोज्नुहोस् ।

–  छोटो समयमा प्रभावकारी हुने सुक्ष्म जीव नासक सामग्रीले सबै उपकरणलाई प्रदुषणमुक्त गर्नुपर्छ । त्यसपछि मोबाइल, ट्याब्लेट, प्लग, ल्यापटप, हार्ड ड्राइभ, क्यामरा, प्रेस पास लगायतलाई किटाणुमुक्त गर्नुपर्छ

– आफ्नो कार्यस्थलमा आएपछि फेरि ती उपकरण/सामग्रीलाई किटाणुमुक्त गर्नुपर्छ । उपकरणको रेखदेख गर्ने अन्य सहकर्मीलाई पनि कसरी सुरक्षित तरिकाले सफा गर्ने भन्ने सिकाउनु पर्छ । सफा गर्ने व्यक्तिलाई जिम्मा नलगाएसम्म ती उपकरण त्यत्तिकै छाड्नु हुँदैन ।

– तपाईसँग किटाणु मार्ने औषधि छैन भने घामका किरणले पनि यो भाइरसलाई मार्नसक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । त्यसैले केही नलागेमा वा अरु कुनै विकल्प नभएको अवस्थामा आफ्ना उपकरण घाममा धेरै घन्टासम्म सुकाउनुहोस् । तर यसो गर्दा उपकरणको रंग खुइलिने वा त्यसलाई हानि हुनसक्ने कुराको ख्याल गर्नुहोस् ।

–  रिपोर्टिङमा जानका लागि सवारी साधन प्रयोग गर्नुभएको छ भने उपयुक्त र तालिमप्राप्त टोलीलाई किटाणुमुक्त बनाउन लगाउनुहोस् । खासगरी गाडिको ढोका खोल्ने ह्याण्डल, स्टेरिब, पछाडि हेर्ने ऐना, टाउको अड्याउने ठाउँ, सिटबेल्ट, ड्यासबोर्ड र झ्याल लगायतमा विशेष ध्यान दिनुपर्छ ।

व्यक्तिगत सुरक्षा सामग्री

व्यक्तिगत सुरक्षा सामग्री (जस्तै नष्ट गर्न मिल्ने पञ्जा, मास्क, एप्रोन र जुत्तालाई ढाक्ने चिज) कसरी लगाउने र खोल्ने भन्ने कुराको सुरक्षित अभ्यासमा ख्याल गर्नुहोस् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले प्रकाशित गरेको यससम्बन्धी निर्देशिका हेर्नुहोस् । प्रदुषण एउटा सामग्रीबाट अर्कोमा फैलिने सम्भावना बढी भएकाले यी कदमहरु चाल्दा लापरवाही गर्नु हुँदैन ।

–  स्वास्थ्योपचार स्थल वा शव गृहमा काम गर्दा प्रयोगपछि नष्ट गर्न मिल्ने वा पानी नछिर्ने जुत्ता लगाउनु पर्छ । त्यहाँबाट निस्कने बित्तिकै यी दुवै सामग्री नष्ट गर्नुपर्छ र फेरि कदापि प्रयोग गर्नु हुँदैन ।

–  स्वास्थ्योपचार स्थलमा काम गर्दै हुनुहुन्छ वा त्यहाँ पुग्नुभएको छ भने पञ्जा लगाउनुपर्छ । अन्य व्यक्तिगत सुरक्षा सामग्री जस्तै पुरै शरीर ढाक्ने र अनुहार छोप्ने मास्क पनि आवश्यक पर्नसक्छ ।

अनुहारका लागि मास्क

मास्क लगाउँदा निम्न कुरामा ध्यान दिनुहोस् :

–  मास्कलाई नाक र चिउँडोको बीचमा सुरक्षित तरिकाले अड्याउनु होस् । दाह्री नियमित रुपमा काट्नुहोस् ।

– मास्कलाई हातले नछुनुहोस् । अन्य केही प्रयोग गरेर यसलाई हटाउनुहोस् । भुलेर पनि अगाडिको भाग नछुनुहोस् ।

– मास्क खोलेपछि साबुन र तातो पानी वा मदिरामा आधारित ह्याण्ड स्यानिटाइजर (६० प्रतिशतभन्दा बढी इथानोल वा ७० प्रतिशत इसोप्रोपानोल) प्रयोग गरी हात सफा गर्नुहोस् ।

– मास्क ओसिलो र आद्र्र हुने बित्तिकै बदल्नुहोस् । त्यसलाई फ्याँकेर नयाँ, सफा, सुख्खा मास्क लगाउनुहोस् ।

–  प्रयोग गरिसकेपछि मास्कलाई फोहोर हाल्ने झोलामा राखेर बन्द गर्नुहोस् ।

–  मास्कको प्रयोग व्यक्तिगत सुरक्षाको केवल एक हिस्सा मात्र हो । यससँगै नियमित रूपमा तातो पानी र साबुनले हात धुनुपर्छ । अनुहार, आँखा, मुख, कान र नाकलाई छुनुहुँदैन ।

डिजिटल सुरक्षा

– कोभिड–१९ जस्तो महामारीको रिपोर्टिङ गर्ने क्रममा पत्रकारहरु अनलाइन आक्रमणको तारो बन्न सक्छन् । यस्ता आक्रमणबाट आफूलाई बचाउन सीपीजेले ल्याएको उत्तम अभ्यासको समीक्षा गर्नुहोस् ।

– विभिन्न देशका सरकार र प्रविधिसम्बन्धी कम्पनीले यस महामारीको चक्र पत्ता लगाउने क्रममा मानिसहरुको निगरानी गर्दैछन् । सिटिजन ल्याबका अनुसार यसमा पत्रकारहरूलाई लक्षित गर्न प्रयोग गरिएको पेगासस नामक स्पाइवेयरको उत्पादक एनएसओ नामक कम्पनी संलग्न छ । महामारी शुरु भएपछि मानिसलाई निशाना बनाउन यी निगरानी प्रविधिको कसरी प्रयोग गरिन्छ भन्ने विषयमा नागरिक समाजका सदस्यले चिन्ता व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो वेबसाइटमा यससम्बन्धी विश्वभरिका घटनाक्रम अनुगमन गर्दछ ।

– कोभिड–१९ को बारेमा जानकारीमुलक सामग्रीमा क्लिक गर्नु अघि एकपटक विचार गर्नुहोस् । इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनका अनुसार अपराधीहरूले अहिले स्वास्थ्य संकट र आतंकबाट फाइदा उठाउन परिष्कृत फिसिब आक्रमण गर्नुका साथै व्यक्ति र संगठनलाई लक्षित गर्न तपाईका उपकरणमा मालवेयर पठाएको हुनसक्छ ।

– सामाजिक सञ्जाल वा कुनै सूचना आदानप्रदान गर्न प्रयोग गरिने एपमा  क्लिक गर्दा विचार गर्नुहोस् । तीमध्ये कतिले तपाईलाई मालवेयरको साथ उपकरणमा भाइरस लाग्ने वेबसाइटतर्फ लैजानसक्छ ।

– कोभिड–१९ ट्रयाकर जस्ता खराब नियत भएका व्यक्तिलाई लक्षित गर्ने र्यान्समवेयरबाट सचेत हुनुहोस् ।

– विश्व स्वास्थ्य संगठनजस्ता भरपर्दो स्रोतबाट लिइएका भनिएका नक्सामा समेत मालवेयर समावेश गरी पासवर्डहरू चोरी गरिएको विवरणहरु आएका छन् ।

– द गार्डियनमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको जस्तो राज्यबाट प्रायोजित गलत सूचनाका बारे सचेत हुनुहोस् । साथै विश्व स्वास्थ्य संगठनले विशेष चेतावनी दिएको र बीबीसीले प्रकाश पारेको आम रुपमा फैलिने गलत सूचनाबाट सतर्क हुनुहोस् । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा मिथ बस्टर गाइड उपलब्ध छ ।

–  च्याट एप मार्फत फैलिने गलत खबर र अफवाहबाट सचेत हुनुहोस् ।

– फेसबुकमा वा सूचना आदान प्रदानमा सामग्री अब मान्छेले जाँच्नुको सट्टा कृत्रिम बुद्धिमत्ता ( एआई) ले मोडरेट गर्ने भएकाले यो रोगबारे वैधानिक सामग्री पनि भुलवश हट्ने अवस्था आएको छ ।

–  यस महामारीको समाचारलाई निगरानी गर्ने खासगरी अधिनायकवादी शासन प्रणाली भएका देशहरूबाट समाचार संकलन गर्दा हुने जोखिमप्रति सचेत हुनुहोस् । केही सरकारहरूले सीपीजेले जोड दिएजस्तै महामारीबारे जानकारी लुकाउन वा मिडियामाथि अंकुश लगाउन प्रयास गर्न सक्नेछन् ।

 

शारीरिक सुरक्षा

– कारागार वा हिरासतबाट रिपोर्टिङ गर्दा पत्रकारले कोभिड–१९ लाई लिएर कैदीहरूले विरोध वा उपद्रो गर्दा हुनसक्ने खतराप्रति सतर्क हुनुपर्दछ ।

– देशहरूले यस महामारीका बेला जेलको जनसंख्या घटाउन कैदीहरूलाई रिहा गर्न थालेका छन् । यसले गर्दा अपराध बढ्नसक्ने कुराप्रति सचेत हुनुहोस् । आपूर्ति कम हुने, लुटपाट र डकैती हुनसक्ने कुरा मनन गर्नुहोस् ।

-अधिनायकवादी शासन भएको देशका पत्रकारहरूले सीपीजेले जोड दिएजस्तै यस महामारीको बारेमा समाचार संकलन गर्दा नजरबन्दमा पर्नसक्ने वा पक्राउको खतराप्रति सतर्क हुनुपर्दछ ।

– तपाईं अन्तर्राष्ट्रिय समाचार संकलनको लागि यात्रा गर्दै हुनुहुन्छ भने तपाईको गन्तव्यमा पछिल्लो सुरक्षा अवस्था के कस्तो छ बुझ्नुहोस् ।

 

रिपोर्टिङपछि

– लक्षणहरू देखिन्छन् कि भनी निरन्तर आफ्नो स्वास्थ्यको निरीक्षण गर्नुहोस् ।

–  तपाई उच्च संक्रमण दर भएको स्थानबाट फर्किनुभएको छ भने तपाईले आफूलाई अलग्याउनु पर्छ । कृपया सम्बन्धित सरकारी सल्लाह के छ बुझ्नुहोस् ।

–  कोभिड–१९ बारे आफ्नो जानकारी अद्यावधिक गर्नुहोस् । साथै तपाईंको देश र गन्तव्य दुवैमा संगरोध (क्वारन्टिन) र अलग रहने (आइसोलेसन) कार्यान्वयन बारेमा बुझ्नुहोस् ।

–  तपाई जानुभएको देशमा संक्रमण दरको आधारमा तपाईले आफू फर्केको १४ दिनसम्म नजिक आएको व्यक्तिको नाम र संख्यासहितको विवरण राख्नुपर्छ । तपाईलाई कोभिड–१९ को लक्षण देखियो भने कन्ट्याक्ट ट्रेसिबका लागि यो उपयोगी हुन्छ ।

तपाईलाई लक्षण देखिएमा

–  तपाईलाई कोभिड–१९ को लक्षण (सामान्य नै किन नहोस्) देखियो भने तपाईको व्यवस्थापन टोलीलाई सूचित गर्नुहोस् । विमानस्थल वा अन्य यातायात केन्द्रबाट आफूलाई घरसम्म पु¥याउने प्रबन्ध गर्नुहोस् । कुनै पनि अवस्थामा ट्याक्सीमा नजानुहोस् ।

– आफू र आफ्नो समुदायलाई बचाउन विश्व स्वास्थ्य संगठन, सीडीसी वा स्थानीय स्वास्थ्यकर्मीको सल्लाह अनुसरण गर्नुहोस् ।

– तपाईलाई लक्षण देखिएको कम्तिमा सात दिनसम्म तपाई घर बाहिर ननिस्किनुहोस् । यसो गनार्ल े संक्रमणबाट तपाईको समुदायलाई बचाउन सकिन्छ ।

–  योजना बनाउनुहोस् र अरूबाट मद्दत लिनुहोस् । तपाईको रोजगारदाता, साथीभाइ र परिवारलाई आवश्यक पर्ने सामान ल्याइदिन लगाउनुहोस् र त्यसलाई तपाईको अगाडिको ढोका बाहिरै राख्न लगाउनुहोस् ।

– आफ्नो घरमा सकेसम्म अरुबाट कम्तिमा २ मिटर टाढा बस्नुहोस् ।

–  सम्भव भएसम्म एक्लै सुत्नुहोस् ।

–  अरुसँग बस्नैपर्ने अवस्थामा १४ दिने एकान्तवास अवलम्बन गर्नुहोस् । यससम्बन्धी एक उपयोगी निर्देशिका यहाँ छ । संक्रमण नफैलियोस् भनेर खासगरी बाथरुम, ट्वाइलेट र भान्छाको प्रयोग गर्दा विशेष ध्यान पु¥याउनुपर्छ ।

–  तातोपानी र साबुनले नियमित रुपमा २० सेकेन्डसम्म मिची मिची हात धुनुहोस् ।

– यसको बढी जोखिममा पर्ने बुढाबुढी र पहिल्यै स्वास्थ्य समस्या भएका व्यक्तिहरुबाट सकेसम्म टाढै बस्नुहोस् ।

– एकान्तवासमा बसिरहेका बेला तपाईले आफ्नो देशका स्वास्थ्य अधिकारीलाई सम्पर्क गर्नु पर्दैन तर त्यही अवधिमा लक्षणहरु देखिन थाले भने सम्पर्क गर्नुपर्छ ।

सीपीजेको अनलाइन सुरक्षा सामग्रीमा पत्रकार र समाचार कक्षका लागि सामाजिक अशान्ति र चुनावसहित भौतिक, डिजिटल र मनोवैज्ञानिक सुरक्षासम्बन्धी स्रोत र उपायको आधारभूत जानकारी उपलब्ध छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com