सर्वेन्द्रको कार्यकालमा आएको सुधारपछि अमेरिकाले नेपाललाई हटायो आतंककारीको क्रिडास्थलबाट
प्रकाशित मिति : असार १०, २०७७ बुधबार
गतबर्षसम्मको रिपोर्टमा नेपाल आतंकवादीको क्रिडास्थल भएको बताएको अमेरिकाले आज आतंकवादसम्बन्धि नयाँ रिपोर्ट सार्वजनिक गर्दै नेपाललाई आतंकबादीको क्रिडास्थलबाट हटाएको छ । सन् २०१५ देखि सन् २०१८ सम्मको रिपोर्टमा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको सबैभन्दा ठूलो हब भएको उल्लेख गर्दै आएको थियो । तर आज सन् २०१९ भरको अवधिको रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाले नेपाललाई आतंकवादीको क्रिडास्थल र मुजाहिद्दिनको हबबाट हटाएको छ । यो रिपोर्ट अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ काउन्टर टेरोरिज्मले निकालेको हो । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् ।
प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नेतृत्वमा आइसकेपछिको सुधारपछि अमेरिकाले नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको हो । खनालको नेतृत्वमा नेपाल प्रहरीले सन् २०१९ भरमा सुरक्षाका क्षेत्रमा उल्लेख्य कामहरु गरेको थियो । अमेरिकाले नयाँ रिपोर्टमा नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएपछि विश्वको नजरमा नेपालको छवीमा केही सुधार आउनसक्ने अपेक्षा गरिएको छ ।
आज सार्वजनिक रिपोर्टमा सन् २०१९ मा नेपालमा कुनै उल्लेख्य आतंककारी गतिविधि नभएको जनाइएको छ । तर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रयाप्त सुरक्षा प्रोटोकल र नेपाल भारत खुल्ला सिमानाका कारण भविश्यमा नेपाललाई आतंकवादीहरुले ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा भने प्रयोग गर्नसक्ने अमेरिकाको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा विप्लव समुहले गरेका हिंशात्मक घटनाहरुलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
रिपोर्टमा नेपालले आतंकवादीको भर्ती र कट्टरपन्थीकरणलाई रोक्न कुनै रणनीतिक संचार प्रयोग नगर्ने रिपोर्टमा उल्लेख छ । पूर्व आतंककारीहरुलाई समाजमा पुनस्थापित गर्न वा आतंकवादी भर्तीलाई रोक्न नेपालमा कुनै सरकारी वा नागरिक समाजका कार्यक्रम नभएको पनि अमेरिकी रिपोर्टमा जनाइएको छ । सबैभन्दा महत्वपूर्ण खतरा अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नै नेपाललाई क्रिडास्थल वा ट्रान्जिट प्वाइन्ट वा सफ्ट टार्गेट बनाउनसक्ने खतराबारे रिपोर्टमा जोड दिइएको छ ।
के थियो गतबर्ष सार्वजनिक २०१८ को रिपोर्टमा ?
गत बर्ष सार्वजनिक २०१८ को रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्नेु खतरा औँल्याइएको थियो ।
प्रतिवेदनमा सन् २०१८ मा अन्तर्राष्ट्रिय आतङ्कवादी घटना नभएको र सन् २०१७ को तुलनामा सन् २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको उल्लेख गरिएको थियो । सन् २०१८ मा भएका अधिकांश घटनाका लागि नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मेवार ठहर्याएको थियो भने विप्लव समूहका गतिविधिमाथि नेपालका सुरक्षा निकायहरूले निगरानी राख्ने क्रम जारी राखेको उल्लेख थियो ।
त्यस्तै खुला सिमाना र काठमाण्डूस्थित देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने, इन्डीअन मुजाहिद्दीन नामक सङ्गठनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको र नेपालमा विमानस्थलमा सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त रहेको गतबर्षको रिपोर्टमा उल्लेख थियो ।
काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रिस्क्रीन नहुने गरेको र डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको, यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने अल्ट्राभाइलेट लाइटको व्यवस्था विमानस्थलमा नभएको, सूचनाका लागि नेपाली अध्यागमनका अधिकारीहरूसम्म पहुँच सजिलो भए पनि उनीहरूसँग नगण्य सूचना हुने भारतसँगको खुला सिमानाका सुरक्षा जाँच चौकी थोरै भएको र एउटा जाँच चौकीमा एक जनासम्म हुने गरेको उदाहरण रहेको रिपोर्टमा जनाइएको थियो ।
त्यस्तै सीमा काट्नेहरूलाई न त रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएकोले निगरानीलाई उनीहरूले छल्न सक्ने अवस्था रहेको पनि रिपोर्टमा उल्लेख थियो ।
इन्डियन मुजाहिद्दिनको अखडा
खासगरी भारतविरोधी आतंकवादी समूह अर्थात् इन्डियन मुजाहिद्दिनको अखडा नेपाल बनेको भन्दै प्रतिवेदन सार्वजनिक भएपछि सबैको चासो बढेको थियो।
नेपाललाई भारतीय आतंकवादी समूहले आफ्नो अखडा बनाएको ठहर अमेरिकाले अहिले मात्र गरेको होइन । सन् २०१५ देखि नै अमेरिकाले यसबारे नेपाललाई सचेत गराउँदै आएको थियो । सन् २०१५ मा प्रकाशित आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनले आफ्नो क्रीडास्थलका रूपमा नेपालसम्म क्षेत्र विस्तार गरेको अमेरिकाले उल्लेख गरेको थियो ।
यद्यपि, अमेरिकाले यस्तो ठहर गर्नुपर्ने अवस्था रातारात आएको होइन । त्योभन्दा अगाडि सन् २०१३ को अमेरिकी रिपोर्टमा अमेरिकाले सुरुवाती वाक्यमै भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा व्यवस्थाका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा दुरुपयोग गर्न सक्ने आशंका उल्लेख गरेको थियो । सन् २०१३ को अगस्ट २८ मा इन्डियन मुजाहिद्दिनका सहसंस्थापक यासिन भटकल नेपाल–भारतको सीमाक्षेत्रमा पक्राउ परेका थिए । सन् २०१० मा भारतको पुणेमा १७ जनाको ज्यान जाने गरी रेस्टुरेन्टमा भएको हमलामा भटकलविरुद्ध अभियोग लगाइएको थियो ।
त्यस्तै, सन् २०१३ को अगस्टमा भारतका ‘मोस्ट वान्टेड’ अब्दुल करिम टुन्डा पनि नेपाल–भारत सीमाक्षेत्रमै पक्राउ परेका थिए । सीमाक्षेत्रमा इन्डियन मुजाहिद्दिनका उच्च तहका नेता पक्राउ परेपछि नेपाल–भारत सीमाक्षेत्रलाई उनीहरूले उपयोग गरिरहेको सतहमा आएको थियो । यसअघि नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको खतराबारे अमेरिकाले खासै बोलेको थिएन । बरु सन् २०१२ को सेप्टेम्बरसम्म तत्कालीन नेकपा ९माओवादी०लाई अमेरिकाले आतंकवादी गतिविधि संलग्न समूहको सूचीमा राखेको थियो । तर, अमेरिकी नागरिक वा अमेरिकाको विदेशनीतिमा डर हुने गरी माओवादी आतंकवादी गतिविधिमा संलग्न नभएको भन्दै सन् २०१२को सेप्टेम्बर ६ मा माओवादीलाई सूचीबाट हटाइएको थियो ।
सन् २०१५ देखि अमेरिकाले लगातार इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको उल्लेख गर्दै आएको थियो । यसबारे अमेरिकाले अहिलेसम्म गतबर्षसम्म आइपुग्दा आफ्नो धारणामा एक शब्द पनि परिवर्तन गरेको थिएन । तर सन् २०१९ मा सुरक्षा संयन्त्रमा आएको सुधारपछि अमेरिकाले ५ बर्षपछि पहिलोपटक नेपाल मुजाहिद्दिनको क्रीडास्थलबाट हटाएको छ ।