आमा, म आउनेछु !
प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार
– दिपेन्द्र बस्याल (राजा)
त्यो बस्ती जहाँ म जन्मिएको छु
र यो बस्ती जहाँ जिन्दगी काटदै छु
त्यो बिहानी जहाँ सुर्यले मलाई खोज्दै छ
यो समय म थकितले निदाउँदै छु ।
हो हजुर मलाई फिक्का लाग्छ
यो हरियो पत्ता,
मेरो सेतो नागरिकता अघि
मलाई फिक्का लाग्छ ।
तर भोकमरीले मरेका
मेरा हजुर ‘बा’ लाई
पिण्ड दिन सक्ने
धेरै चामल किन्नु छ ।
त्यो सेतो गण्डकी र कोशीको डुबुल्की
म यो ठुलो समुन्द्रको छालहरुमा
भेट्न् सक्दिन,
तर पियारी, पैसाको अभावमा डुबेको
तिम्रो त्यो सपनाको जहाज
म यो निलो र ठुलो समुन्द्रमा खोज्नुछ।
भूकम्पले चर्किएका ति
पुर्खयौली पुरानो घर भन्दा
यो शहर राम्रो लाग्दैन
तर
बलेसीले बगाएको
त्यो ‘बा’ बस्ने पिंढी टाल्न
आफ्नो बिस्तारादेखि
बीस तारा गन्नसक्ने छाना टाल्न
म यही निर्जन शहरदेखि
सिमेन्ट पैचो गर्दै छु ।
हो हजुर ‘बा’ लाई पिण्ड दिन सक्ने
धेरै चामल किन्दैछु ।
म भुलेको छैन
छोरीलाई प्रेमले बोलाउदा
‘हजुर को हो ?’ भन्ने उनको
त्यो सानो तर धारिलो प्रश्न
म भुलेको छैन।
उनको दसैंको लागि
कयौ दशा खेपेको ‘बा’
अनि उनलाई
नाना र चाचा किनिदिने
माथि आकाशको जुन मामा
मै हुँ , भनि चिनाउनु मन छ ।
हो भाई,
मलाइ त्यो दिन ताजै छ
जुन दिन तिमिले
‘बा’ को उपचारको लागी
आमाको तिलहरी बेच्नु परेको थियो।
हो मलाइ, बेचिएको त्यो
पुरानो तिलहरी किन्नु छ
र
मलाई मेरो ‘बा’ ले,
ताते ताते गर्न सिकाएको औंलामा
बेरुवा औंठी बनी बस्नु छ ।
र
मलाई मेरी आमाले सुध्ने
प्रत्येक फुलको वास्नाहरुमा
बुलाकी बनी ठोकिनु छ।
मलाई देश आउनु अघि
समुन्द्रको किनारमा बसेर
एक सर्को, चुरोटको धुवा उडाउनु छ
जसरी त्यो धुवाँहरु
तुफानले उडाएर लगिदिन्छ
कहिले नफर्किने गरी
मलाई मेरा पीडाहरु ,
त्यो धुवाँजस्तै उडाउनु छ
कहिले नफर्किने गरी ।
मलाई समुन्द्रको छाल हरुमा
डुबुल्की मार्न मन छ
जसरी त्यो छालहरुले
मेहेनतको पसिना पखालिदिन्छ
र, कसैले नदेख्ने गरि
मलाई धेरै आशु पखाल्नु छ
कसैले नदेख्ने गरी ।
त्यो पश्चात , म देश आउने छु
पहाड हुँदै मधेस आउने छु ।
हो हजुर , देशले मलाइ चिनेपछि म आउनेछु
हो आमा, मुहारमा मुस्कान किनेपछि म आउनेछु
यो विरानो शहरमा, धेरै रात अनिदो छु
‘बा’ लाई बैसाखी मिलेपछि म आउनेछु
हो आमा, मुहारमा मुस्कान किनेपछि म आउनेछु।
गल्याङ, स्याङ्जा हाल : न्युयोर्क