न्युयोर्कमा कोरोनाबिरुद्ध ‘कम्युनिटी फस्ट रेस्पोण्डर’ शेर्पा किदुग र सारथी उर्गेन शेर्पा


प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार

‘जब कोरोना महामारीमा सँगै स्वयंसेवकका रुपमा खटेका साथी बिरामी भएपछि आफ्नो सबै हिसाबकिताबबारे जानकारी दिंदै मेसेज पठाउनुभयो, तब मैले आँखामा आँशु रोक्नै सकिन । अस्पताल भर्ना भएमा फर्केर आउने नआउने ठेगान नभएको भन्दै उहाँले सबै हिसाबकिताब उल्लेख गरेर म्यासेज पठाउनुभएको थियो ।’ जब न्युयोर्क कोरोना महामारीको इपिसेन्टर बनिसकेको थियो, त्यतीबेलाको क्षण सम्झदै क्वीन्स एल्महस्र्टमा कार्यालय रहेको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले भने ।

मार्चको पहिलो दोश्रो साता न्युयोर्कमा कोरोनाको महामारी बढ्न थाल्यो । नेपालीहरु पनि भटाभट बिरामी हुन थाले । कतिपय सिकिस्तै भएर अस्पतालमा भर्ना हुने अवस्था आयो । त्यतिबेला न्युयोर्कको चर्चित सामुदायिक संस्था शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले नेपाली समुदायलाई सहयोगका लागि तत्कालै संस्थाको बैठक बसाले । सबै नियमित कार्यक्रमहरु स्थगित गरेर समुदायको सहयोगका लागि अगाडि बढ्ने निर्णय गरियो ।

‘सुरुमा त के गर्ने भन्ने नै अलमल भयो । हामीसँग सहयोगका लागि साधनश्रोतपनि उपलब्ध थिएन । कोरानाको त्रासले सबै आतंकित थिए । तर पनि हामीले तत्कालै सस्थाका तर्फबाट १० हजार डलर छुट्याएर आवश्यक परेका व्यक्तिलाई विभिन्न खाले सहयोग गर्ने निर्णय गर्यौं ।’ शेर्पाले भने ।

त्यसपछि शेर्पा एउटा सानो स्वयंसेवकको टिम बनाएर सामान जुटाउनतिर लागे । कतैबाट कुनै पसलमा मास्क भएको थाहा पाए भने तुरुन्तै त्यतै दौडिन्थे । कुनै पसलमा सेनिटाइजर वा टाइलोनोल उपलब्ध भएको थाहा पाएमा तत्कालै त्यतै जान्थे । तर पनि न्युयोर्कमा मार्चको तेश्रो सातासम्म मास्क, सेनिटाइजर, थर्मामिटर लगायतको अभाव भइसकेको थियो । झण्डै १३ सय सेनिटाइजर त चाइनाबाट मगाउनुपर्ने अवस्था आयो ।

अर्डर गरेको सामानहरु आउन पनि केही समय लाग्ने भएकाले ती सामानहरु उपलब्ध नहुन्जेल शेर्पा किदगु र यसको नेतृत्व जनचेतना जगाउने अभियान तिर लाग्यो । विभिन्न खालका हल्लाहरु र सामाजिक सञ्जालमा कैयन अफवाहहरु पनि फैलिरहेका थिए । नेपाली समुदायमा एकखालको त्राहीमामकै अवस्था थियो । त्यो बेलामा आफूहरुले सीडीसी, मेयर अफिस र गभर्नरको अफिसबाट प्राप्त समाचार र रिसोर्सहरुलाई अनुवाद गरेर, भिडियो बनाएर जानकारी दिन थालेको शेर्पाले बताए ।

जब केही सामान जुटाउन सम्भव भयो, त्यसपछि केयर प्याकेज बनाएर वितरण गर्न थालियो । अध्यक्ष शेर्पासहित ५ जनाको टिम दिनरात नभनी खटिरह्यो । अर्कातर्फ एउटा टिम बनाएर फण्डरेज पनि सुरु गरिएको थियो । १० वटा मास्क, १० वटा ग्लोभ्स, एउटा ह्याण्ड सेनिटाइजर राखेर केयर प्याकेज बनाइयो । कतिपय प्याकेजमा टाइलोनोल र थर्मामिटरपनि राखिएको थियो ।

केयर प्याकेज

मार्चको तेश्रो साता न्युयोर्कमा धेरै नेपालीहरु बिरामी भएका खबर आए । कतिपय नेपालीको ज्यानै समेत गएका खबर आउन थाले । त्यसपछि त्रास अझ बढेको थियो । यो अवस्थामा उर्गेन शेर्पाको टिम बिरामीहरु खोजी खोजी उनीहरुको घरमा सहयोग पुर्याउन गयो । शेर्पा भन्छन् –‘कोही नेपाली बिरामी भएको थाहा पाउनासाथ हामी त्यहाँ केयर प्याकेज लिएर पुग्यौं ।’

कतै बिरामी त कतै लामो समयदेखिका दीर्घरोगीहरु भएका नेपालीका घरमा प्याकेजहरु पुर्याउने काम भयो । ज्वरो नाप्ने थर्मामिटर नभएर आत्तिएका कैयन घर उर्गेन शेर्पा र उनको टिम थर्मामिटर लिएर पुग्यो । ज्वरो आएर औषधी नभएर आत्तिएकाहरुका घरमा टाइलोनोल बोकेर पुग्यो ।

शेर्पा र उनको टिमले ८ सय भन्दा धेरैलाई घरमै केयर प्याकेज डेलिभरी गरिदियो । झण्डै त्यती नै नेपालीहरुले शेर्पा किदुको गुम्बामा आएर केयर प्याकेज लिए । महामारीका बेलामा शेर्पा किदुगका तर्फबाट झण्डै १५ हजार मास्क वितरण गरियो । जसमध्ये झण्डै ५ हजार मास्क खरिद गरेको र १० हजार भन्दा बढी मास्क डोनेशनमा आएको शेर्पाले जानकारी दिए ।

१७ सयभन्दा बढी सेनिटाइजर, १२ हजार बढी ग्लोभ्स, हजारौं टाइलोनोल र झण्डै १ सय थर्मामिटर वितरण गरियो । केयर प्याकेज वितरण जारी रहेकै बेलामा खाद्यान्न वितरण पनि सुरु गरियो । कैयन विद्यार्थीहरुले आर्थिक समस्याको सामना गरिरहेका थिए भने कैयन बिरामीहरु ग्रोसरी किन्न घरबाहिर जान नसक्ने अवस्था थियो । कतिपय बृद्धबृद्धा र दीर्घरोगीहरु ग्रोसरी किन्न घरबाहिर जान डराइरहेका थिए । कतिपयका घरका सदस्यहरु बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । यो अवस्थामा ग्रोसरीको प्याकेज बनाएर शेर्पा र उनको टिमले घरघरमा पुर्यायो । झण्डै ६ सय विद्यार्थी र बिरामीहरुका घरमा ग्रोसरीको प्याकेज पुर्याइयो ।

लिन आउन सक्नेहरुले गुम्बामा आएर ग्रोसरीका प्याकेजहरु लिएर गए । यसरी झण्डै ६ हजार प्याकेज वितरण गरिएको शेर्पाले जानकारी दिए । ३५ हजार डलर भन्दा बढी रकम फण्डरेज पनि गरिएको थियो । त्यसमध्ये झण्डै साढे १८ हजार डलर विद्यार्थी र बिरामीहरुलाई नगद सहयोग गरियो । ३७ जना विद्यार्थी र बिरामीहरुलाई ५ सय डलरका दरले नगद सहयोग गरेको शेर्पाले जानकारी दिए । खासगरी कुनै पनि प्रकारको सरकारी नगद रकम पाउन योग्य नभएकाहरुलाई सहयोग गरिएको उनले बताए । यसै क्रममा मृतकको परिवारलाई पनि सहयोग उपलब्ध गराइयो ।

सुरुका दिन सम्झदै ५० बर्षीय उर्गेन शेर्पा भन्छन् –‘विहानै उठेदेखि रातीसम्मै खट्नुपर्ने अवस्था थियो । टिम सानो थियो । सुरुको महिला बोर्ड सदस्य र ५५ बर्ष भन्दा नाघेकालाई हामीले स्वयंसेवकका रुपमा आउन दिएका थिएनौं । त्यसैले सुरुको एकदुईसाता धेरै गाह्रो भएको थियो । तर पछि ४० जना भन्दा बढी स्वयंसेवकहरु खट्नुभयो । ’

सुरुमा मास्कको अभाव हुँदा पेपर टावेलबाट मास्क बनाएर विभिन्न सामानको खोजीमा दौडिएको बताउँछन् शेर्पा । घरघरमा केयर प्याकेज र ग्रोसरी प्याकेज पुर्याउन जाँदा देखेका दृश्यले आफू निकै भावुक भएको शेर्पाले बताए । उनी भन्छन् –‘कतिपय बिरामी अवस्थामा हुनुहुन्थ्यो । कतिपय परिवारका सदस्यहरु बिरामी भएर अस्पताल भर्ना भएकाले आफूहरु क्वारेन्टीनमा हुनुहुन्थ्यो । अरुले ल्याइदिएको ग्रोसरीमा भर पर्नुपर्ने अवस्था थियो । सिकिस्त बिरामी भएपनि अस्पतालमा भएको भींडभाडका कारण झन् बिरामी हुने डरले घरमै बस्न बाध्य भएकाहरु पनि भेट्यौं । कति त लामो समयदेखि थला परेर ओछ्यानबाट उठ्न पनि नसक्ने अवस्थाका हुनुहुन्थ्यो । हामीले उठाएर जुत्ता मोजा लगाएर अस्पताल पनि लग्यौं ।’

यसरी खट्ने क्रममा दैनिक खट्ने ५ जनामध्ये ३ जना स्वयंसेवकहरु बिरामी भए । एकजना दुईसाता बिरामी भएर घरमै बस्नुपर्ने अवस्था आयो । दैनिक खट्ने अर्का स्वयंसेवक झण्डै एक महिना बिरामी भए । अर्का एकजनामा कोरोना पोजेटिभ देखियो तर लक्षण देखिएन । यसरी सँगै खटेका मध्ये तीनजना बिरामी भएपछि तपाईलाई डर लागेन ? जवाफमा उर्गेन शेर्पा भन्छन् –‘डर थियो तर डरको अगाडि कर्तब्यले जित्यो ।’

तीनजना बिरामी स्वयंसेवकमध्ये एकजना सिकिस्तै भए । श्रीमति र छोराछोरीहरु नेपालमै रहेकाले उनी न्युयोर्कमा एक्लै बस्दै आएका थिए । एल्महस्र्ट अस्पतालमा निकै भींड भएकाले अर्को अस्पताल लैजाने तयारी भइरहेको भयो । तर त्यती नै बेला उनको मेसेज आउँदा उर्गेन शेर्पा निकै भावुक भए । मेसेजमा उनले आफू अस्पताल गएपछि फर्केर आउने नआउने ठेगान नभएको भन्दै आफ्ना बहुमुल्य सामानहरु कहाँ कहाँ रहेको भन्नेबारे विवरण पठाएका थिए । त्यस्तै बैंकखाताको विवरणहरु र आफूले राखेको नगदबारे जानकारी दिएका थिए ।

यस्तो सन्देश देखेपछि आफू निकै भावुक भएको र त्योदिन कसैसँग फोनमा समेत बोल्न नसकेको बताउँछन् उर्गेन शेर्पा । सपरिवार संक्रमित भएर कोरोनालाई जितेकी नर्स निमा शेर्पासँग सल्लाह गर्दा उनले केही दिन घरमा आरामगर्न र एडभिल खाने सल्लाह दिइन् । ज्वानो, मेथी, बेसार, अदुवा मिसाएको सुप र एडभिल खाएपछि उनलाई आराम हुँदै गयो । अस्पताल भने भर्ना गर्नुपरेन ।

श्रीमति, दुईछोरी र भाईसँगै एल्महस्र्टमा बस्दै आएका उर्गेन शेर्पाको नेतृत्वमा शेर्पा किदुगले कोरोना महामारीका बेलामा न्युयोर्कमा सामुदायिक फस्ट रेस्पोण्डरकै काम गर्यो । न्युयोर्कमा अन्य संघ संस्थाहरु पनि फ्रन्टलाइनमा रहेर नै नेपाली समुदायको सहयोगमा सकृय भइरहेका थिए ।

यसरी महामारीबिरुद्ध नेपाली समुदायको सहयोगमा जुटेका शेर्पाले अहिले पनि कोरोनाबिरुद्ध सावधानी अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनी भन्छन् –‘हामीले आफ्नै आँखाले कतिजना नेपालीहरु सिकिस्त बिरामी भएको देख्यौं । हामीले देखेचिनेका कतिपय बल्लतल्ल ज्यान जोगाएर अस्पतालबाट फर्कनुभएको छ । कति चिनेजानेकै व्यक्तिले ज्यान गुमाउनुभयो । यो अवस्थामा कोरोना केही पनि होइन भन्नु मुर्खता हो । यो ज्यानमारा रोग हो । सबै शर्तक हुनुपर्छ । सबै बच्नुपर्छ । सबैलाई बचाउनुपर्छ । धेरैजना निको भएर आउनेहरुको अनुभव सुन्दा यसलाई हल्का रुपमा लिनु हुँदैन । सक्दो सावधानी अपनाउनुपर्छ ।’

अहिले नै नेपाली समुदायले जमघट र कार्यक्रमहरुका लागि हतार गर्न नहुने उर्गेन शेर्पाको सुझाव छ । आफूहरुले बुद्ध जयन्ती लगायतका विभिन्न महत्वपूर्ण कार्यक्रमहरु एकदमै थोरै व्यक्ति उपस्थीत भएर र सामाजिक दुरी कायम गरेर गरेको उनले बताए । गुम्बामा गरिदै आएका मासिक तीनवटा पूजाहरुपनि एकदमै थोरै व्यक्तिको उपस्थीतिमा गर्दै आएको उनले बताए । ७ सयबढी सहभागी हुँदै आएको खेलकुद प्रतियोगिता स्थगित गरेको र अन्य खोलमा पनि शेर्पा किदुगको टिम नजाने निर्णय गरेको उनले बताए । उनी भन्छन् –‘सबैभन्दा पहिले बाँच्नुपर्छ । बाँचेको खण्डमा चाडपर्व मनाउने र सामाजिक कार्यक्रम गर्ने हो । अहिले भ्याक्सिन समेत नआएको अवस्थमा सबैले सावधानी अपनाउनुपर्छ ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com