सन्दर्भ ११ सेप्टेम्बर : ‘अबेरसम्म सुत्नाले बाँचें’ – केशव सेडाई
प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार
मेरो आफ्नै घर वल्र्डट्रेड सेन्टर नजिकै रहेपनि कार्यालय भने वल्र्डट्रेड सेन्टरकै तलपट्टीको घरमा थियो । घरबाट त्यहा पुग्न झण्डै आठ मिनेट लाग्थ्यो । त्यतीबेला म ट्रेन चढेरै मेरो ल फर्मको कार्यालयमा जाने गर्थें । म सधै विहान ८ बजे नै अफिस पुग्ने गर्थें । तर अघिल्लो दिन असाध्यै थकाई लागेकाले सेप्टेम्बर ११ को दिनमा भने अबेरसम्म सुतिएछ । अबेर भएकाले हतार हतार ल फर्मको कार्यालय तिर लागें ।
ट्रेनबाट बाहिर निस्केको मात्र के थिएं, त्यहाँ निकै ठूलो भागदौड मच्चिरहेको थियो । भर्खरै मात्र एउटा जहाजले वल्र्डट्रेड सेन्टरको एउटा भवन हिर्काइसकेको रहेछ । त्यसैले ट्रेनबाहिर निस्कनासाथ प्रहरीले अगाडि बढ्नै दिएन । प्रहरीले तुरुन्त भागिहाल्न चेतावनी दियो । सुरुमा त किन भागदौड मच्चिएको छ भन्ने भेउ पनि पाइएन । तर अलि पर पुगेपछि आकाश तिर हेर्दा त वल्र्डट्रेड सेन्टरको भवन जलिरहेको थियो । मैले सामान्य घटना होला भन्ने ठानेको त घर ध्वस्त भैरहेको पो रहेछ । पेलापेल र भागदौडमा कसकसले कसकसलाई कुल्चियो कुनै लेखा जोखा नै भएन ।
म जेनतेन अलिक पर पुगेको मात्र के थिएं, अर्को जहाज आएर वल्र्डट्रेड सेन्टरको अर्को भवनमा पनि हिर्कायो । आकासै फाट्ने गरी आवाज आउदा मेरो त सातो नै गएजस्तो भयो । आफ्नै अगाडि घर ढलेको र मान्छेहरु पुरिएर मरेको दृश्य देख्दा होसै गुमेजस्तो भयो । मान्छेहरु ज्यान जोगाउन झ्यालबाट हाम्फालिरहेका थिए । ठ्याक्कै त्यतीबेला मलाई मेरो कार्यालयमा रहेका फाइल कसरी जोगाउने भन्ने चिन्ता लाग्यो । तर फाइल जोगाउन जानसक्ने अवस्था थिएन । आठमिनेटको बाटो जेनतेन तीनघण्टा लगाएर फर्किएं । धेरै मान्छेको मृत्यु आफ्नै अगाडि देख्दा जिन्दगी भनेको पानीको फोका जस्तो लाग्यो । तर आफू बाच्न पाएकोमा निकै खुशि पनि लाग्यो ।
मेरो मिल्ने साथीले वल्र्डट्रेड सेन्टरकै ९० तलामा काम गथ्र्यो । तर उ पनि निकै संयोगले मात्र बाच्न सफल भयो । छोरीलाइ ज्वरो आएकोले त्यसदिन ऊ काममा गएको रहेनछ । त्यसैले ऊ बाच्न सफल भयो । मलाई घर फर्कदा मसानघाटबाट आएजस्तो लाग्यो । धेरैदिनसम्म खाना खान पनि मन लागेन । एकमहिनासम्म अफिस पनि जानसक्ने अवस्था थिएन । एक महिना पछि अफिसमा पुग्दा अफिसको ढोका खुल्लै थियो । अफिसभरी सिसा र फोहोर भरिएको थियो । एकमहिनासम्म त्यो क्षेत्रमा जान नपाएकाले सरकारले एकमहिना हुने कमाइको क्षतिपूर्ति पनि तिरिदियो । अहिले पनि यो भयानक घटना मेरो आखामा नाचिरहेको छ ।