कमरेड कृषक: राजनीति छाडेर जमिनसँग जोडिएका पूर्वमन्त्री बिष्ट


प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार

पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर पार्टी र राजनीतिनै परित्याग गर्दा त्यत्ति धेरै चर्चामा थिएनन्, जति अहिले चर्चाको पात्र बनेका छन् । पार्टीका मुख्य नेताले वैचारिक, व्यावहारिक र जनतालाई देखाएको सपनामाथि कुठराघात गरेको देख्न नसकेका बिष्ट राजनीतिबाट अलग रहने निर्णय गरे ।

राजीनामा दिए लगत्तै उनले सार्वजनिक रुपमा भनेका थिए “अब म सामान्य किसानको जिवन ज्यूउनेछु ।”

जसको सुरुवात उनले कालो धान उत्पादनबाट गरे ।

राजनीति छाड्नुको कारण

नेताहरुको व्यावहारबाट वाक्कदिक्क परेका धेरै नेपालीले उनलाई भाग नपुगेर भागेको र कालो धन लुकाउन जनताको आँखामा छारो हाल्न नौटंकी गरेकोसम्म भन्न भ्याए । तर, उनलाई राम्रोसँग थाहा थियो, राजनीतिभित्रको फोहोरी छिटाले उनलाई बेलाबेला लाग्ने छ ।

‘पहिलो, राजनीति धेरै महंगो भयो । दोस्रो, धेरै फोहोरी भयो । तेस्रो, जटिल हुँदै गयो । चौथो, राजनीति र अपराधको बीचमा कुनै पर्खाल रहेन । पाँचौ, आजिवनकालको पेशा व्यावसाय र ठेक्का पट्टा बन्यो । जसले मेरो आस्थामा ठूलो ठेस पुर्यायो । मेरो आदर्श र स्वाभिमानमाथि धक्का पुग्यो, त्यसपछि सोचें- अब राजनीति पुग्यो । पार्टी परित्याग गरेँ । अहिले किसानी गरेको छु ।’ उनी भन्छन् ।

 

किसान र युवाका प्रेरणा

जनयुद्धको उद्गम थलो मानिने रुकुममा जन्मेका बिष्ट जनयुद्धमा महत्वपूर्ण भूमिका निवाह गर्ने पात्र मध्ये एक हुन् भने अहिले कृषि पेशामा व्यस्त छन् । जेलनेल झेल्दै समाज परिवर्तनको लागि बन्दुक उठाएर माओवादी आन्दोलनमा होमिएका विष्ट दुईपटक मन्त्रीसम्म बने । राजनीतिबाट अलगिएका विष्ट किसान र युवाको प्रेरणाको श्रोत बन्दै आएका छन् ।

आफ्नो देशकै माटोमा पसिना बगाए विदेशिन पर्दैन भन्ने सन्देश बोकेर उनी कृषिकर्ममा लागेका छन् । पार्टीबाट अलक भए लगत्तै उत्पादनसँग जोडिनका बिष्टले कालो धान र ड्रागनफ्रुटको खेतीमा समय खर्चन थाले । उनीसँगै अन्य तीन जना साथी पनि रहेका छन् ।

चुनौतिभित्रै सम्भावना हुन्छ भन्ने बुझेका बिष्ट कृषिक्षेत्रमा नेपालले नयाँ सूत्रको खोजी गर्नुपर्ने बताउँदै आएका छन् । काभ्रे र दाङमा कालो धानको खेतीबाट चर्चामा आएका पूर्वमन्त्री विष्टलाई धेरैले खहरे खोला नभनेका पनि होइनन् । तर, उनी निरन्तर आफ्नो कृषिकर्ममै लागि पर्दै आएका छन् भने अहिले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्ड नजिकै ड्रागनफ्रुट खेती गरिरहेका छन् ।

ड्रागनफ्रुटका फाइदा

ड्रागनफ्रुटले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउने बिष्ट बताउँछन् । उनले दुई प्रकारका ड्रागनका विरुवा लगाएका छन् । तर ड्रागनका तीन प्रकारका बिरुवा भएको उनले सुनाए ।

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको बताउँदै भने, ‘ड्रागनको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले यसलाई रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ । फूल फुलेको चार–पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उनले बताए । फूल फुलेको ४५ दिनमा फल तयार हुने फलको तौल १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ ।’

गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ ।
फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण रहेको छ । यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री बिष्टले बताए । पहिलो पटक चीन जाँदा खाएका उनले नेपालमा यसको खेती गर्ने सोच बनाएको बिष्टले लामो समयको अध्ययन र अनुसन्धानपछि सूरु गरेको सुनाए ।

विष्टको ड्रागन खेती कृषि पर्यटन

तत्कालीन माओवादीका केन्द्रीय नेता एवं जनमुक्ति सेनाका कमिसार विष्टको ड्रागन खेती कृषि पर्यटन बन्दै गएको छ । उनको फार्ममा अहिले नेतादेखि सामान्य किसान समेतले भ्रमण गर्ने र यसका बारेमा बुझ्ने र केहीले विरुवा समेत लैजाने गरेको सुनाए ।

समाज परिवर्तनको कसम आएर युद्धमा होमिएका बिष्टको हातमा उबेला कम्मरमा पिस्तोल थियो भने अहिले हातमा कैंची देखिन्छ ।

दाङ बिजौरीस्थित घोराही–तुलसीपुर सडकको किनारामा १५ वर्षका लागि जग्गा भाडामा लिएर विष्टले ड्रागनफ्रुटको खेती थालेपछि धेरै अप्ठाराहरुको सामाना गर्नु परेको थियो । सबैभन्दा ठूलो समस्या सिचाई रहेको थियो । तर, अहिले काम गर्दै जाँदा आउने समस्यासँग जुदैआएका विष्ट दिनरात त्यसैमा रमाउने गरेका छन् ।

ड्रागनफ्रुटका लागि प्रत्येक बिरुवालाई सिमेन्टका पिलर दिइएको छ भने पोलमाथि टायर राखिएको छ । त्यसो गर्नुको मुख्य कारण फलले बोट नभाँचियोस् भन्ने हो ।

विष्टले ड्रागन फ्रूटको बीचबीचमा अन्य खेती पनि शुरु गरेका छन् । कुरिलो, सर्पगन्धा, भटमास, बोडी र काउलीको खेती पनि गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा बिष्टले कालो बोडीको फोटो शेयर गर्दै लेखेका छन्, “कालो मान्छे कालै चिज मनपर्छ ।”

‘नेकपा मैमत्त साँढे’

उनी सामाजिक सञ्जालमा पनि क्रियाशील बिष्ट बेलाबेला राजनीतिक क्षेत्रलाई ब्यांग्यगर्दै, आफ्ना भनाई राख्दै आएका छन् । इन्टरनेटको बिकासले गर्दा सूचनाका लागि सजिलो भएसँगै नौलो खेती गर्न गाह्रो नहुने उनले सुनाए ।

बिष्ट भन्छन्, “अनुदान खानेले काम गर्दैनन्, काम गर्नेले अनुदान पाउँदैनन् । राज्यले किसानलाई ऋणको व्यवस्थासँगै बजार व्यावस्थापनलाई ध्यान दिने हो भने धेरै राम्रो हुने थियो । तर, नेकपा मैमत्त साँढे भएको छ, उसलाई देश र जनताको कुनै चाँसो छैन ।”

राजनीतिक खेलबाट आजित बिष्ट भन्छन्, “राजनीति निःस्वार्थ र निःशुल्क गरिने समाज सेवा हो । यो आजीवन गर्ने पेशा होइन, राजनीतिमा लागेकाहरुले जनतासँगै आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन कृषि पेशा रोजेँ ।”

समाजमा राजनीतिक गर्ने, धेरै पढेका र मन्त्रीहरुले काम गर्दैनन् भन्ने ठूलो भ्रम रकेको छ । जसको अनुभव विष्ट आफैले गरेका छन् ।

मन्त्री भन्दा पत्याएनन्

बिष्ट डाक्टर बाबुराम भट्टराईको पालामा पर्यटन मन्त्री र झलनाथ खनालको पालामा स्वास्थ्य मन्त्री भएका थिए ।

माटो लागेको लुगा, काँधमा फरुवा, दाह्री पालेको कृषक देखेर एकजना होटलका साहुजीलाई उनी पूर्वमन्त्री भन्ने विश्वासै रहेनछ । होटलका साहुजीलाई लागेछ, बिष्टलाई मान्छेले मन्त्री भनेर व्यंग्य गर्ने गरेका छन् ।

त्यसैले एकदिन उनले बिष्टलाई सोधेछन् – ‘तपाईलाई किन मान्छेहरुले मन्त्री भन्दै उडाउँछन ?’

बिष्टले हाँस्दै भनेछन् – ‘म पहिला मन्त्री नै हो ।’
त्यसपछि होटेलवाला साहुजीले माफी माग्दै नमस्कार गरेछन् ।

 

नेता र मन्त्रीप्रति जनता नकारात्मक

बिष्ट दाङबाट सार्वजनिक यातायातमा काठमाडौं आउँदै गर्दाको एउटा प्रसंग सुनाउँछन् । राजनीतिक नेताप्रति जनता कति आक्रोशित छन् भन्ने कुरा यो प्रसंगबाट थाहा हुन्छ ।

एकजना मानिस आएर उनलाई सोधेछन् – ‘तपाई पूर्व मन्त्री हैन ? तपाईको गाडी खोई ?’

बिष्टले भनेछन् – ‘मसँग गाडी छैन ।’

ती व्यक्तिले फेरी सोधेछन्  – ‘बेच्नु भयो कि फिर्ता गर्नुभयो ?’

बिष्टले जवाफ दिएछन् – ‘फिर्ता गरेँ।’

ती व्यक्तिले सोधेछन् – ‘मन्त्री भएको मान्छे सार्वजनिक यातायातमा असुरक्षा हुदैन ?’

बिष्टले ‘हुँदैन, तपाईहरु हुनुहुन्छ नि’ भनेछन् ।

‘आसपासका मानिसहरु नेता र मन्त्रीप्रति कोही सकारात्मक थिएनन् । जनताका पक्षमा काम गर्न नसकेकोमा सबै आक्रोसित थिए । मलाई गाडीमा देखेर होला सोझै गाली गरेनन । त्यसबेला उनीहरुलाई सम्झाउन मलाई हम्मे पर्याे,’ बिष्ट सम्झिन्छन् ।

बिष्ट भन्छन् – ‘नेपालको राजनीति यस्तै छ, अरु मन्त्रीले म जस्तो गर्दैनन् । म के गरुँ भनेपछि बल्ल सबैको चित्त वुझ्यो । त्यसपछि गाडीको माहौल साम्य भयो ।’

प्रस्तुती: अस्मीता खड्का

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com