आफैसँग राष्ट्रपतिमा लडेका ३८ बर्षे समलिंगी नेता पिट बुटाजज बाइडेनका यातायात मन्त्री
प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार
आफैसँग राष्ट्रपति चुनावको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धामा आएका समलिंगी नेता तथा पूर्व मेयर पिट बुटाजजलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले यातायात मन्त्रीमा छानेका छन् । बुटाजजले सुपर ट्युजडे प्राइमरी अगाडि नै आफ्नो चुनावी दौड रोकेर बाइडेनलाई समर्थन गरेका थिए ।
बाइडेनले बुटाजजलाई आफ्ना दिवंगत छोरासँग तुलना गरेका थिए । हार्भड कलेज र अक्सफोर्ड युनिभर्सिटीका ग्रयाजुएट बुटाजजले अमेरिकी सेनाका पूर्व लेफ्टिनेन्ट समेत हुन् । उनले त्यहाँ खुफिया अधिकारीका रुपमा काम गरेका थिए । इन्डियानाको साउथ बेण्डका मेयर समेत भएका उनी सन् २०१५ मा समलिंगीका रुपमा सार्वजनिक भएका थिए ।
अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो खुल्ला समलिंगी उम्मेदबार बुटाजज यातायात मन्त्रीमा नियुक्त भएमा उनले माताहतमा ५५ हजार कर्मचारीहरुले काम गर्नेछन् । बाइडेनले आफ्नो क्याबीनेट समावेशी बनाउने क्रममा बुटाजजलाई छानेको समाचार आएको हो ।
मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा चर्चित महिला अनुहार
बाइडेनले आफ्नो क्याबीनेट, सो सरह र ह्वाइट हाउसका महत्वपूर्ण पदहरुमा २० जनालाई छानिसकेका छन् । जसमा १० जना महिलामात्र छन् । अश्वेत, ल्याटिनो, दक्षिण एसियाली र समलिंगीहरुलाई पनि बाइडेनले उच्च तहमा छानेका छन् ।
कमला ह्यारिस
कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् । कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।
क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् ।
जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् । कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।
जानेट यालेन
यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।
एभ्रिल हेन्स
एभ्रिल हेन्ससीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । अमेरिकाको खुफियामा पहिलोपटक महिलालाई नेतृत्व दिइने भएको छ ।
अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।
लिण्डा थोमस ग्रिनफिल्ड
लिण्डा सन् २०१३ देखि सन् २०१७ सम्म ओबामा कार्यकालमा अमेरिकी विदेशमन्त्रालयमा अफ्रिकन अफेयर्सको लागि सहायक विदेशमन्त्री रहेकी थिइन् । लुजियानामा जन्मिएकी उनी अमेरिकाकी चर्चित अश्वेत कुटनीतिज्ञ हुन् । उनले स्वीटजरल्याण्ड, पाकिस्तान, केन्या, गाम्बिया, नाइजेरिया र जमैकामा अमेरिकी कुटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।
नीरा टण्डन
टण्डन सेन्टर फर अमेरिकन प्रोग्रेसकी प्रमुख कार्यकारी हुन् । यो बाम झुकाव भएको केन्द्रका रुपमा परिचित रहेको छ । टण्डन भारतीय मुलकी हुन् । उनका बाबुआमा भारतबाट अमेरिका बसाई सराई गरेका थिए । टण्डन नियुक्त भएमा उनी उक्त अफिसको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुनेछिन् ।
उनी सन् १९७० मा अमेरिकाको मासाचुसेट्समा जन्मिएकी हुन् । उनका एकजना भाई राज टण्डन रहेका छन् । जब उनी ५ बर्षकी थिइन्, तब उनका बुबाआमाको डिभोर्स भएको थियो । पारपाचुकेपछि उनकी आमा माया टण्डनले नीरा र राजलाई हुर्काउनका लागि वेलफेयरको सहायता लिनु परेको थियो । फुडस्ट्याम्प र आवासीय सुविधा समेत लिएर आमाले निरा र उनका भाईलाई हुर्काइन् ।
नीराले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आर्टसमा ब्याचलर गरेकी थिइन् भने यल युनिभर्सिटीबाट जुरिस डाक्टर गरेकी थिइन् । त्यसपछि वासिंटनमा डिसीमा क्यापिटल हिलमा उनले घरेलु नीतिबारे काम गरिन् । उनी डेमोक्रेटिक पार्टीभित्रकी प्रगतिशिल व्यक्तित्वका रुपमा चिनिन्छिन् ।
नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपति हुने निश्चित भएका जो बाइडेनलाई आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिनेछ र जनवरी २० मा बाइडेनले सपथग्रहण गर्नेछन् ।
सेसेलिया राउस
सेसेलिया राउस अमेरिकन अर्थशास्त्री हुन् । उनी प्रिन्स्टन युनिभर्सिटीमा प्रिन्स्टन स्कुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर्सकी डिन समेत हुन् । ओबामा राष्ट्रपति हुँदा सन् २००९ देखि सन् २०११ सम्म उनी राष्ट्रपतिको आर्थिक सल्लाहकार परिषदकी सदस्य समेत थिइन् । उनले बिल क्लिन्टनका पालामा राष्ट्रिय आर्थिक परिषदमा समेत सन् १९९८ देखि सन् १९९९ सम्म काम गरेकी थिइन् ।
केट बेडिंगफिल्ड
३७ बर्षकी केट बेडिंगफिल्डले गत नोभेम्बर ३ मा सम्पन्न चुनावमा जो बाइडेनको अभियानमा सहायक अभियान म्यानेजरका रुपमा काम गरेकी थिइन् । बाइडेन उपराष्ट्रपति हुँदा उनी बाइडेनकी संचार निर्देशक समेत थिइन् । ओबामा प्रशासनमा उनले मिडिया मामलामा सहायक निर्देशक र रेस्पोन्स निर्देशकका रुमिा समेत काम गरेकी थिइन् । सरकार र राजनीतिमा ४० बर्ष मुनीमा प्रभावशाली व्यक्तिमा फच्र्युनले उनको नाम प्रकाशित गरेको थियो ।
जानिफर साकी
जानिफर साकी अमेरिकन राजनीतिक सल्लाहकार हुन् । उनी ओबामाका पालामा सन् २०१५ देखि सन् २०१७ सम्म ह्वाइटहाउसमा संचार निर्देशक समेत थिइन् । त्यसभन्दा अगाडि उनी अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ता समेत थिइन् । उनले सन् २००९ देखि २०११ सम्म ह्वाइट हाउसमा सहायक संचार निर्देशक भएर काम गरिन् भने सन् २००९ भरी ह्वाइट हाउसमा सहायक प्रेस सेक्रेटरी समेत भइन् ।
ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी
उल्लेख्य संख्यामा महिला र अश्वेतहरुलाई उच्च तहमा नियुक्तीका लागि रोजेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले समलिंगी तथा तेश्रो लिंगीहरुलाई पनि उच्च तहहरुमा प्राथमिकता दिएका छन् । समलिंगी तथा तेश्रो लिंगी समावेशीकरणमा पनि बाइडेन प्रशासनले अमेरिकामा नयाँ इतिहास रच्ने देखिएको छ ।
समलिंगी महिला तथा चुनावी अभियानमा नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको चिफ अफ स्टाफका रुपमा काम गरेकी करिन जन पियररलाई ह्वाइट हाउसको डेपुटी प्रेस सेक्रेटरी नियुक्त गरिने भएको छ । उनी समलिंगीमात्र नभएर अश्वेत समेत हुन् ।
मुभअनकी बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय प्रवक्ता समेत रहेकी करिनले एनबीसी, एमएसएनबीसी लगायतमा विश्लेषककको रुपमा समेत काम गरेकी छिन् । हैटियन आप्रवासी बुबाआमाबाट जन्मिएकी उनी न्युयोर्कको क्वीन्समा हुर्केकी हुन् । उनले कोलम्बिया युनभर्सिटीमा इन्टरनेशनल र पब्लिक अफेयर्समा समेत लेक्चरका रुपमा काम गरेकी थिइन् ।
त्यस्तै समलिंगी महिला पिली टोबरलाई जो बाइडेनले ह्वाइट हाउसको डेपुटी कम्युनिकेशन डाइरेक्टरमा नियुक्त गर्ने भएका छन् । उनी लामो समयदेखि आप्रवासी अधिकारका क्षेत्रमा काम गर्दै आएकी छिन् भने सिनेटर चक शुमरकी पूर्व सहयोगी समेत हुन् । टोबरले बाइडेनको अभियानमा पनि संचार निर्देशकका रुपमा काम गरेकी थिइन् ।
फ्लोरिडामा जन्मेकी उनी ग्वाटेमालामा हुर्केकी थिइन् । सन् २००४ मा पुन अमेरिका आएकी उनी युनभर्सिटी अफ मायामीबाट जन प्रशासनमा स्नातकोत्तर गरेकी थिइन् । उनी अमेरिकाज भ्वाइसकी उप निर्देशक समेत भएर काम गरेकी थिइन् ।
त्यस्तै समलिंगी पुरुष कार्लोेस एलिफोन्दोलाई जो बाइडेनलाले ह्वाइट हाउसको सोसल सेक्रटेरीमा नियुक्त गर्ने भएका छन् । उनले बाइडेन उपराष्ट्रपति हुँदा पनि बाइडेनको सोसल सेक्रेटरीका रुपमा काम गरेका थिए ।
सन् २००९ देखि सन् २०१७ सम्म उनले ओबामाको विशेष सहयोगीका रुपमा समेत काम गरेका थिए । उनी राजनीतिक कार्यक्रमका योजनाकारका रुपमा परिचित रहेका छन् । उनी टेक्सासमा जन्मे हुर्केका थिए ।