नवराज केसी: न्युयोर्क सिटी काउन्सिलमा पहिलो नेपाली अमेरिकन उम्मेदबार


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

– किशोर पन्थी

झण्डै ८ हजार माइल टाढा नेपालबाट अमेरिकी सपनासहित झण्डै २० बर्ष अगाडि अमेरिका आएका एकजना आप्रवासी हुन् नवराज केसी । उनै केसी विश्वको ब्यापारिक राजधानी न्युयोर्क सिटीको सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् ।

आगामी जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसी भन्छन् -‘नेपालमा जन्में । दुख र सुख दुबै देखेको छु । त्यसैले आप्रवासीको वास्तविक समस्याहरु मैले बुझ्न सक्छु । त्यसैले उम्मेदबारी दिने निर्णय गरेको हुँ ।’

न्युयोर्कको राजनीतिमा अहिलेसम्म नेपाली मूलका आप्रवासीहरु अगाडि नबढेको अवस्थामा आफ्नो उम्मेदबारीले अन्य अल्पसंख्यक समुदायका आप्रवासीहरुलाई पनि राजनीतिमा अगाडि बढ्नका लागि प्रेरणा मिल्ने उनको विश्वास छ । उनी भन्छन् -‘न्युयोर्कको क्वीन्स आफैमा आप्रवासीको घर भएकाले म आफूलाई उपयुक्त उम्मेदबार ठान्छु । र म एकदमै उत्साहित छु ।’

न्युयोर्कको क्वीन्स नेपालीहरुको समेत मिनि नेपाल हो । आफूलाई नेपाली समुदायको पनि राम्रो समर्थन भएको बताउँछन् नवराज । उनको चुनावी अभियानलाई सहयोग गर्न डोनेशन प्रदान गरेका ३६६ जनामध्ये आधा नेपाली आप्रवासीहरु रहेको उनले बताए ।

केसीले समुदायबाट प्राप्त डोनेशन समुदायमै खर्च गर्ने योजना बनाएका छन् । प्रचारप्रसारका लागि स्थानीय र सामुदायिक संचारमाध्यमहरुलाई नै रोज्ने उनको भनाई छ । साथै फ्लायर लगायतका प्रचार सामाग्रीहरु पनि बाहिरबाट अर्डर नगरेर स्थानीय प्रेसहरुमा नै छाप्ने उनले बताए । चुनाव प्रचारका सन्दर्भमा सबै अर्डर स्थानीय व्यवसायहरुलाई नै दिने उनको भनाई छ ।

उनी भन्छन् -‘हामीले समुदायमा रहेका स्थानीय व्यवसायलाई नै सहयोग गर्नुपर्छ । स्थानीय समुदायबाट डोनेशन लिएर सस्तोको लागि बाहिरबाट अर्डर गर्नु ठीक होइन । हामीले व्यहारमै समुदायको हितको लागि काम गर्नुपर्छ ।’

उनले आफ्नो चुनावी एजेण्डामा समेत साना व्यवसायको शशक्तिकरण र समर्थनलाई प्राथमिकता दिएका छन् । चुनावमा उम्मेदबार हुनु अगाडि आफ्नो व्यक्तिगत कारमा ग्यास हाल्न समेत स्थानीय ग्यास स्टेशनहरुमा नै जाने गरेको उनले बताए । उनी भन्छन् -‘साना चिजहरुले पनि फरक पार्छ । हामीले साना व्यवसायहरुलाई खुला राख्नका लागि हरतरहले सहयोग गर्नुपर्छ ।’

उनले नोभेम्बरमा हुने चुनावमा जानका लागि जुनमा हुने डेमोक्रेटिक प्राइमरीमा अन्य ५ जना प्रतिस्पर्धीहरुलाई जित्न आवश्यक छ ।

जसमा सबैभन्दा चर्चित टोनी अभेला छन् । जो सन् २००२ देखि सन् २००९ सम्म राज्यसंसदमा सिनेटर हुनु अगाडि सिटी काउन्सिलमा रहेका थिए । अभेला अल्बानीमा विवादास्पद स्वतन्त्र डेमोक्रेटिक कन्फ्रेन्सका सदस्य समेत थिए । सन् २००९ मा उनी न्युयोर्क सिटी मेयरका लागि उम्मेदबार बनेपनि प्राइमरीमा पराजित भए ।

हालै अन्तरिम क्वीन्स बोरो प्रेसिडेण्ट श्यारोन लीका बजेट अधिकारी समेत रहेका अर्का उम्मेदबार रिचार्ड लीसँग चुनावका लागि सबैभन्दा धेरै फण्ड संकलन भएको छ । लीको अभियानका लागि अरु कुनै उम्मेदबारहरुको भन्दा दोब्बर अर्थात दोब्बर १ लाख ९५ हजार फण्ड संकलन भएको छ ।

लामो समयदेखि राजनीतिक सहयोगी हुँदै जनसम्पर्क कार्यकारी बनेका अष्टिन स्याफ्रोन र शैक्षिक नेता बनेकी रिटायर्ड न्युयोर्क सिटी प्रहरी अधिकारी एड्रिना एभाइल्सपनि मैदानमा छन् । भिक्की पालाडिनो उक्त डिस्ट्रिक्टमा रिपब्लिकन उम्मेदबार हुन् । अहिले पाउल भ्यालोन पदमा रहेको उक्त डिस्ट्रिक्ट १९ मा क्वीन्सको अउबर्नडेल, बे टेरेस, बेसाइड, बीचहस्र्ट, कलेज प्वाइन्ट, डग्लसटन, फ्लसिंग, लिटल नेक, माल्वा र ह्वाइटस्टोन लगायतका क्षेत्र पर्छन् ।

आफूले डेमोक्रेटिक प्राइमरीमात्र होइन, नोभेम्बरको चुनाव समेत जित्ने केसीको विश्वास छ ।  उनी भन्छन् -‘जीत हार ठूलो कुरा होइन, न्युयोर्क सिटीको राजनीतिमा नेपाली जस्ता अल्पसंख्यक आप्रवासीहरुको सहभागिता ठूलो कुरा हो ।’

चुनावमा एकएक भोटको महत्व हुने भएकाले अल्पसंख्यक समुदायको भोट निर्णायक हुने उनको भनाई छ । त्यसैले उनले मतदानमा सहभागी भएर राजनीतिक अधिकारको प्रयोग गर्नबाट नहिचकिचाउन अल्पसंख्यक समुदायलाई आग्रह गरेका छन् ।

झण्डै दुईदशकदेखि नै समुदायको हीतमा सकृय केसीले कोभिड १९ हिरो अवार्ड समेत प्राप्त गरेका थिए । सन् २०१८ मा उनी क्वीन्स बोरो प्रेसिडेन्टबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टर समेत हुन् । उनले अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका छन् । केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com