ताप्लेजुङका ५७ अग्नीपीडितलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको नेतृत्वमा १५ लाख
प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार
ताप्लेजुङको मिरिङदेन गाउँपालिकाको दोभान बजारका ५७ आगलागी पीडितलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको नेतृत्वमा अमेरिकामा बस्ने नेपालीहरुका तर्फबाट १५ लाख रुपैया सहयोग गरिएको छ । गत फागुन १८ गते ताप्लेजुङको मिरिङदेन गाउँपालिकाको दोभान बजार जलेर खरानी भएको थियो । ७९ परिवारको सर्वश्व जलेर नष्ट हुँदा घरबार विहिन भएका थिए ।
प्राकृतिक, आपतकालिन अवस्थाको वेला दुखमा साथ र सहयोग गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आर्थिक संकलन अभियान संचालन गरेको थियो । संस्थागत रूपमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, वालुङ कम्युनिटि अफ नर्थ अमेरीका र ढोक्प्या किदुग न्यूयोर्कको संयुक्त पहलमा रकम संकलन भएको हो ।
यो अभियानलाई सफल बनाउन संस्थागत रूपमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका , नेपलिज युनाइटेड स्पोर्टस क्लब र शेर्पा किदुग अमेरीकाले समेत सहयोग गरेको थियो । आगलागी पीडितका लागि अमेरिकामा रहको नेपाली समुदायबाट १३ हजार ३ सय ३४ डलर संकलन भएको थियो ।
५७ पिडित परिवार मध्ये ४५ परिवारलाई प्रतिपरिवार रू ३२ हजारका दरले र कम क्षति हुने १२ परिवारलाई प्रतिपरिवार रू ६ हजारका दरले रकम वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ ताप्लेजुङ ,तोप्केगोला समाज ताप्लेजुङ, वालुङ किदुक काठमाण्डौ ताप्लेजुङ र मिरिङदेन गाउॅपालिकाले सहयोग पुर्याउन समन्वय गरेका थिए ।