न्युयोर्कमा नेपाली लिफ्ट चालक सापकोटामाथि मास्क नलगाएका यात्रुबाट आक्रमण (भिडियो)
प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार
न्युयोर्कमा नेपाली लिफ्ट चालकमाथि मास्क नलगाएका यात्रुबाट आक्रमण भएको छ । न्युयोर्कको एल्महस्र्ट निवासी आशिष सापकोटामाथि मंगलबार बेलुका आक्रमण भएको हो ।
दुईजना यात्रुलाई पिकअप गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा बेलुका ७ बजेर ३९ मिनेट जाँदा आफूमाथि आक्रमण भएको सापकोटाले जानकारी दिएका छन् । एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एकआपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि आफूले असुरक्षित महसुस गरेर गाडी रोकेको सापकोटाले बताए ।
Nepali Lyft driver Ashish Sapkota assaulted by unmasked rider in Queens, NYC. 03-16-2021, 7:39 PM EST pic.twitter.com/nqamzRM8Ac
— Kishor Panthi (@KishorPanthi) March 17, 2021
आफूले उनीहरुलाई झगडा नगर्न अनुरोध गर्दै गन्तब्यमा पुर्याइदिने बताएपनि उनीहरु कुटपिट नै गर्न थालेपछि आफूले गाडी रोकेको सापकोटाको भनाई छ । त्यसपछि पुरुष यात्रुले फोन खोसेको तथा मुख र कानमा समेत हानेको सापकोटाले बताए ।
त्यसपछि नजिकैको लिक्वेर स्टोरनेर गाडी रोकेपछि उनीहरु गाडीबाट झरेका थिए भने सापकोटाले ९११ मा प्रहरीलाई फोन गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई जमैका अस्पताल लगिएको थियो । राती अस्पतालमै राखेर उपचार गरिएपछि उनलाई आज विहान डिस्चार्ज गरिएको छ ।
आफ्नो कानमा असर गरेको र सुन्नमा समेत समस्या भइरहेको सापकोटाले जानकारी दिएका छन् । नेपालको बाग्लुङ स्थायी घर भएका सापकोटाले एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।
क्यालिफोर्नियामा नेपाली उबर चालकमाथि आक्रमण भएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो । एसियनमाथि घृणा र हिंशाका घटना बढिरहँदा न्युयोर्कको क्वीन्समा नेपाली उबर चालक कुटिएका हुन् ।