बिटक्वाइन ३ लाख डलरसम्म पुग्ने र फोका झैं फुटेर ९० प्रतिशतसम्म गिरावट आउने चेतावनी
प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2021/03/bitcoin-2643159_1280.jpg?fit=1280%2C851&ssl=1)
चर्चित क्रिप्टो व्यवसायी बबी लीले क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३ लाख डलरसम्म हुनसक्ने अनुमान गरेका छन् । ऐतिहासिक संरचनालाई हेर्दा ३ लाख डलरसम्म पुग्नसक्ने तर उचाइमा पुगेपछि फोका फुटेर बर्षौसम्म मूल्य कमजोर हुनसक्ने उनले चेतावनी दिएका छन् ।
बबी ली क्रिप्टो एक्सचेन्ज बीटीसीसीका पूर्व सीईओ तथा सहसंस्थापक हुन् । बिटक्वाइनको बजार हरेक ४ बर्षमा उच्चतम बिन्दुमा पुग्ने र यसपटक ठूलोमध्येको एक रहेको उनको भनाई छ । उनी हाल क्रिप्टो वालेट ब्यालेटका प्रमुख कार्यकारी समेत हुन् । उनले आगामी समरसम्म १ लाख डलरसम्म पुग्ने अनुमान गरेका छन् ।
४ बर्ष अगाडि बिटक्वाइनको मूल्य १ हजार डलरबाट एकैपटक २० हजार डलर पुगेको थियो । २०२१ मा प्रवेश गर्दा बिटक्वाइनको मूल्य ३० हजार डलरको हाराहारीमा रहेको थियो । तर इतिहास दोहोरिने कुरामा आफू निश्चित नभएको उनको भनाई छ ।
बिटक्वाइनको मूलय २०२१ मा ६० हजार डलरसम्म पुगेको छ । र अन्तिमपटक यो ५७ हजार ६ सय ६० डलरमा किनबेच भएको तथ्यांकले देखाएको छ । एकपटक उच्चतम बिन्दुमा पुगेर फोका फुटेपछि बिटक्वाइनको मूल्यमा ८० देखि ९० प्रतिशतसम्म गिरावट आउनसक्ने भएकाले लगानीकर्ताहरुलाई सचेत हुन उनले चेतावनी दिएका छन् ।
बिटक्वाइन असाध्यै अस्थीर भएकाले यसमा लगानी गर्ने व्यक्ति अत्यन्तै सावधान र चनाखो हुनुपर्ने उनको भनाई छ । भारतमा बिटक्वाइन प्रतिबन्धको प्रस्ताव गरिएको छ । साथै उक्त प्रस्तावमा बिटक्वाइन माइन गर्ने र किनबेच गर्नेहरुलाई पनि जरिवानाको व्यवस्था गरिएको छ ।
भारतबाट झण्डै १ दशमलव ४ बिलियन डलर बिटक्वाइनमा लगानी रहेको अनुमान छ । सरकारी प्यानलले सन् २०१९ मा पनि बिटक्वाइनको कारोबार गर्नेहरुलाई १० बर्षसम्म जेल सजायको सिफारिस गरेको छ ।