अमेरिकी कामदार भिसा एचवानबीको दर्ता अवधि समाप्त, मार्च ३१ अगाडि लोटरीबाट छानिने
प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार
अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइनमार्फत दर्ता अवधि समाप्त भएको छ । मार्च ९ बाट अनलाइनमार्फत दर्ता सुरु भएकोमा बिहिबार मध्यान्ह १२ बजे दर्ता अवधि समाप्त भएको हो । युएससीआईएसको अनलाइन प्रणाली मार्फत आर्थिक २०२२ का लागि कामदार भिसाका लागि दर्ता खुलेको हो ।
अब मार्च ३१ सम्म आवेदनहरु छनौटका लागि लोटरी प्रणाली अपनाइने जनाइएको छ । पहिलो लोटरीबाट नियमिततर्फका ६५ हजार कोटालाई पुग्नेगरी छनौट गरिनेछ । त्यसपछि दोश्रो लोटरीबाट एड्भान्स डिग्री अन्तरगत पर्ने २० हजारको छनौट गरिनेछ ।
छानिएकाहरुले अप्रिल १ बाट भिसाका लागि आवेदन दिन सक्नेछन् । जुन ३० सम्म आवेदन दिन सकिने जनाइएको छ । बिलम्ब गरिएका आवेदनहरु युएससीआईएसले स्वीकार नगर्ने जनाइएको छ ।
छानिएकाहरुको सन्दर्भमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले प्रकृया अगाडि बढाउाछ । अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराएका तर पहिलो लोटरीमा नछानिएकाहरु प्रयाप्त भिसा आवेदन नपरेको खण्डमा अर्कोपटकको लोटरीमा पनि छानिन सक्ने जनाइएको छ ।
समयमा गराइएका हरेक दर्ताका लागि दर्ता नम्बर उपलब्ध गराइएको छ । दर्ताका लागि युएससीआईएसको अनलाइन एकाउन्ट प्रयोग गरेर दर्ता शुल्क १० डलर तिर्नुपर्ने प्रावधान छ ।
अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत बर्षदेखि विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो ।
अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेपछि अनलाइनमार्फत छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।
अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।
एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।
त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।
वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।
वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।