यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको सुझाव, नेपाल यात्रा गर्दा ‘पुनर्विचार’
प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार
भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ । चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ ।
अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन् । भारत छाड्न चाहने अमेरिकनहरुलाई ब्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।
भारतमा कोरोनाको महामारी तीब्र बन्दै गर्दा बिहिबार सार्वजनिक तथ्यांक अनुशार पछिल्लो २४ घण्टामा नयाँ संक्रमण पुष्टी हुनेहरुको संख्या झण्डै ३ लाख ८० हजार पुगेको छ । २४ घण्टाकै अवधिमा ३६ सय ४५ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट २ लाख ५ हजारको ज्यान गइसकेपनि कोरोनाबाट मृत्यु हुने ठूलो संख्या यो तथ्यांकमा नसमेटिएका रिपोर्टहरु आएका छन् ।
#India: Access to medical care is severely limited due to COVID-19 cases. U.S. citizens wishing to depart should use available commercial options now. Daily direct flights to the US and flights via Paris and Frankfurt are available. https://t.co/p5a3v5ws9y pic.twitter.com/LqHhCiZVEg
— Travel – State Dept (@TravelGov) April 28, 2021
भारतमा रहेको अमेरिकी दूतावास र कन्सुलेटको वेवसाइटमा ठाउँ अभावका कारण कैयन अमेरिकन नागरिकलाई भारतका कैयन सिटीमा रहेका अस्पतालहरुमा भर्ना गर्नबाट अस्वीकार गरिएको उल्लेख छ । दूतावासबाट जारी अलर्टमा भारत छाड्न चाहने अमेरिकनहरुले उपलब्ध व्यापारिक उडानहरुको फाइदा दिन भनिएको छ । चेन्नईमा रहेको अमेरिकी कन्सुलेटले नियमित भिसा सेवा र अमेरिकी नागरिक सेवा समेत स्थगित गरेको छ ।
गत साता अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गर्दै नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको थियो । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयले अधिकांश मुलुकका लागि चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गरेपनि नेपालका लागि तेश्रो स्तरको एड्भाइजरी जारी गरेको छ ।
नयाँ अपडेटमा यात्रा नगर्न भनिएका बाहेकका अन्य मुलुकमा अमेरिकी नागरिकलाई यात्रा गर्दा पुनर्विचार गर्न समेत भनिएको छ । ती देशहरुको वर्तमान स्वास्थ्य अवस्थाको मूल्यांकनका आधारमा सीडीसीको प्रकोप मूल्यांकनका आधारमा ट्राभल एड्भाइजरी जारी गरिएको हो ।
सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा ८० प्रतिशत मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको हो । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।
नेपाललाई सीडीसीले ठिक्कको जोखिम भएको दोश्रो श्रेणीमा राखेको छ भने भारतलाई अति उच्च जोखिम रहेको चौथो श्रेणीमा राखेको छ । चीनलाई भने अमेरिकन सीडीसीले जोखिम कम भएको पहिलो श्रेणीमा राखेको छ ।
अफगानिस्तान लगायत ३५ वटा देशको महामारीको अवस्था अज्ञात रहेको भन्दै ती देशहरुमा अत्यावश्यकबाहेकका यात्रा नगर्न सीडीसीले सुझाव दिएको छ । ठीक्कको जोखिम भएको देशमा नेपालसहित सिंगापुर, जापान लगायत २१ वटा देशहरु रहेका छन् ।