नेपाल सहित ६ देशबाट कतारहुँदै यात्रा गर्दा ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य
प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार
नेपालबाट कतारहुँदै यात्रा गर्दा अब तोकिएको प्रस्थान समयले ४८ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य भएको छ । भारत, नेपाल, बंगालादेश, पाकिस्तान, श्रींलंका र फिलिपिन्सबाट वा ती देशमा ट्रान्जिट बनाएर कतार आउने वा कतार ट्रान्जिट बनाउनेहरुका लागि ४८ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो ।
खासगरी कतार एयरवेजमार्फत नेपालबाट कतार जाने वा कतार ट्रान्जिट बनाएर तेश्रो मुलुक जानेहरुका लागि प्रस्थान समयको ४८ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट आवश्यक पर्नेछ । तर उल्लेखित बाहेक अन्य देशबाट कतारहुँदै नेपाल आउनेहरुका सन्दर्भमा भने प्रस्थान समयको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट भए पुग्नेछ ।
विगत १४ दिनमा भारत, नेपाल, बंगालादेश, पाकिस्तान, श्रींलंका र फिलिपिन्समा उपस्थीत भएको वा ती देशहरुबाट ट्रान्जिट बनाएको व्यक्ति कतार आउँदा पनि १० दिनसम्म कतारमा तोकिएको क्वारेन्टीन केन्द्रमा वा मेखाइनेसमा १४ दिनसम्म क्वारेन्टीनमा बस्नुपर्नेछ ।
कतार एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट कतारबाहेक अन्य मुलुक ट्रान्जिट भएर जानेहरुको सन्दर्भमा भने नेपालबाट यात्रा गर्दा प्रस्थानसमय भन्दा ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट पेश गरे पुग्नेछ ।