जुन भिसा बुलेटिन: कुन श्रेणीको ग्रिनकार्ड पाउन कति समय ? ग्रिनकार्ड कहिले फाइल गर्ने ?
प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ ।
ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा बुलेटिनका आधारमा आफ्नो ग्रिनकार्डका लागि लाग्ने अवधि थाहा पाउन सक्छन् ।
अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै साढे ६ बर्ष रहेको छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १, २०१४ भन्दा अगाडि आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा १ मार्च, २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुनमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।
त्यस्तै ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुका लागि जुन महिनामा पनि भिसा करेन्ट रहेको छ । अमेरिकामा हुनेहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न जुनमा पनि प्रतिक्षा गर्नुपर्दैन, एकसाथ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसाको प्रतिक्षा नगरी सरासर प्रकृया अगाडि बढाउँछ ।
ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ५ बर्ष ८ महिना रहेको छ । अर्थात् यो श्रेणीमा अगस्त २२, २०१५ भन्दा अगाडि आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अगस्त १५ , २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुनमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।
अमेरिकन नागरिकका विवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै १२ बर्ष ९ महिना रहेको छ । अर्थात् यो श्रेणीमा सेप्टेम्बर १ , २००८ भन्दा अगाडि आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अगस्त १, २००९ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।
अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि झण्डै साढे १४ बर्ष रहेको छ । अर्थात् यो श्रेणीमा डिसेम्बर ८ , २००६ भन्दा अगाडि आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अक्टोबर १, २००७ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुन महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।
जुन महिनामा पनि रोजगारीमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । अर्थात् अमेरिकाभित्र हुनेले यी श्रेणीका ग्रिनकार्डका लागि आई १४० का साथमा स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन समेत दिन सक्नेछन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने अवधि प्रतिक्षा गर्नुपर्नेछैन । तर अहिले नेशनल भिसा सेन्टरमा रहेको चर्को ब्याकलगका कारण भिसा प्रकृयामा ढिलाई भइरहेको छ ।
रोजगारी वा परिवारमा आधारित ग्रिनकार्डका आवेदकले स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन दिइसकेपछि अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँछन् भने एड्भान्स परोल लिएर अमेरिकाबाहिर यात्रा गर्न समेत सक्छन् ।