फ्याक्ट चेक: कोरोनाबिरुद्धको भ्याक्सिनले तपाईको शरीरलाई चुम्बकीय बनाउँछ ?


प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार

अहिले कोरोनाबिरुद्धको भ्याक्सिनले मान्छेको शरीरलाई चुम्बकीय बनाउने र शरीरमा चम्चा लगायतका बस्तुहरु टाँसिने गरेका भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् । तर विज्ञहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि शरीर चुम्बकीय हुने कुरालाई अस्वीकार गरेका छन् ।

अमेरिकन सीडीसीले पनि भ्याक्सिन लगाएपछि मान्छेको शरीर चुम्बकीय भएकाले सिक्का वा चम्चा जस्ता बस्तु टाँसिने कुरालाई अस्वीकार गरेको छ । सीडीसीले भनेको छ – ‘कोरोनाबिरुद्धको खोप लगाउँदा तपाईको शरीर चुम्बकीय हुँदैन । खोप लगाएको ठाउामा चुम्बकीय क्षेत्र उत्पादन गर्नसक्ने कुनैपनि सामाग्री खोपमा समावेश छैन । कोरोनाबिरुद्धका सबै खोपहरु फलाम, निकेल, कोबाल्ट, लिथियम र दुर्लभ पृथ्वी मिश्रित धातुबाट मुक्त छन् ।’

सीडीले थप प्रष्ट पारेको छ – ‘कोभिड १० खोपहरु माइक्रोइलेक्ट्रोनिक्स, इलेक्ट्रोड, कार्बन नानोट्युबहरु र नानोवायर सेमीकण्डक्टरहरु जस्ता कुनै पनि उत्पादीत उत्पादनबाट मुक्त छन् । साथै भ्याक्सिनको डोज सामान्यतया एक मिलिलिटरभन्दा पनि कम हुन्छ । जुन चुम्बकीय धातुले भरिएको हुन्थ्यो भनेपनि तपाईले खोप लगाएको स्थानमा चुम्बकीय बनाउन प्रयाप्त हुँदैन ।’

कसरी टाासियो सिक्का वा चम्चा ?

चिकित्सक र सामाजिक सञ्जालका मूल्यांकनकर्ताहरुले व्यक्तिको पाखुरा तेलीय भएका कारण, पानी लगाइएका कारण, पसिना आएका कारण वा थुक लगाइएका कारण वा टेप लगाइएका कारणमात्र सिक्का, चम्चा लगायतका बस्तुहरु अडाउन सफल भएको दावी गरेका छन् । अधिकांश मामलामा धातु वा चुम्बकहरु मान्छेका पाखुरामा रहेका प्राकृतिक आद्रता र प्राकृतिक तेलका कारण अडिनसक्ने अवस्था आउने विज्ञहरुले बताएका छन् ।

नाकमा चम्चा अडाउने टेक्निक निकै पुरानो हो ।

भ्याक्सिन नलगाएकाहरुमा पनि यसरी अडिनसक्ने उनीहरु बताउँछन् । यस्तो तरिकाले नाकमा चम्चासमेत अडाउन सकिन्छ । त्यसका लागि चम्चामा केही लगाउन पर्दैन ।

अर्कातर्फ व्यक्तिले शरीरमा लिने केही मल्टिभिटामिनहरुमा आइरन लगायतका धातुहरुको सानोमात्रा हुने विज्ञहरुको भनाई छ । तरपनि मल्टिभिटामिन लिंदैमा व्यक्ति म्याग्नेटिक नहुने तथा भिटामिनका कारण शरीरमा चुम्बक टाँसिने अवस्था नहुने न्युयोर्क युनिभर्सिटीमा सुरुवा रोग विशेषज्ञ डाक्टर सेलिन गाउण्डरको भनाई छ ।

फाइजर र मोडेर्ना भ्याक्सिनमा हुने सकृय तत्व भनेको एमआरएनएमात्र हो । ती भ्याक्सिनहरुले मानव सेलमा मोलिक्युल छोड्छन् । एमआरएएनले हाम्रो सेलहरुलाई कसरी एन्टीबडी उत्पादन गर्ने भन्नेबारे सिकाउँछ । जसले कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्छ । भ्याक्सिनमा ढुवानी र भण्डारण गर्दा ब्याक्टेरियाहरुको सम्सर्ग हुनबाट जोगाउन तथा भ्याक्सिनलाई स्थीर र प्रभावकारी राख्न अरु निस्कृय तत्वहरु हुन्छन् ।

शेरी टेनपेनीको भनाई के हो त ?

ओहायाका सांसदहरुले बुधबार भ्याक्सिनविरोधी डाक्टर शेरी टेनपेनीलाई भ्याक्सिन लगाएपछि मान्छेको शरीर चुम्बकीय हुने वा नहुने भन्नेबारे प्रश्नहरु सोधेका थिए । भ्याक्सिनविरोधी पुस्तककी लेखिकासमेत रहेकी उनले कोरानाबिरुद्धको भ्याक्सिन लगाएकाहरुको शरीर चुम्बकीय हुने दावी गरेकी थिइन् ।

तर यो भ्याक्सिनविरोधी अभियानकर्ता टेनपेनीको भनाईको विज्ञहरुले सप्रमाण खण्डन गरिसकेका छन् । उनले भ्याक्सिनविरुद्ध लेखेको किताबले गलत सुचना प्रसारहुनका लागि महत्वपूर्ण भूमिका खेलेको छ । मोन्टरियलको म्याकगिल युनिभर्सिटीको शोधले त सामाजिक सञ्जालमा कोरोनाबिरुद्धको भ्याक्सिनका बिरुद्ध फैलाइएका गलत सुचनाहरुका लागि ६५ प्रतिशत जिम्मेबार १२ जना व्यक्ति रहेको र तीमध्ये एकजना शेरी टेनपेनी रहेको निष्कर्ष निकालेको छ ।

भ्याक्सिनले मान्छेलाई चुम्बकीय बनाउने भ्रम कहाँबाट फैलिन सुरु गरेको हो भन्ने यकिन छैन । तर यो टिकटकमार्फत सबैभन्दा धेरै फैलिएको छ । र नेपालमा पनि यस्ता भिडियोहरु भाइरल भइरहेका छन् ।

भ्याक्सिन लगाएपछि मान्छेको शरीर चुम्बकीय बन्ने भन्दै फैलाइएका सुचनाबारे एएफपी लगायत कैयन संस्थाहरुले फ्याक्ट चेक गरिसकेका छन् । ती फ्याक्टचेकहरु तल हेर्न सक्नुहुनेछ ।

एएफपी फ्याक्ट चेक: कोरोनाबिरुद्धको भ्याक्सिनमा चुम्बकीय माइक्रोचिप्स हुँदैन 

पोयन्टर फयाक्ट चेक :  भ्याक्सिनले शरीर चुम्बकीय बनाउनेबारेको गलत दावी

हेल्थ डटकम : कोरोनाबिरुद्धको भ्याक्सिनले पाखुरालाई चुम्बकीय बनाउँदैन, सत्य यस्तो छ

बीबीसी भिडियो: अहँ कोरोनाबिरुद्धको भ्याक्सिनले चुम्बकीय बनाउँदैन 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com