भिसा बुलेटिन: सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकामा हुनेले एड्जस्ट गर्नसक्ने, बाहिर हुने अन्यौलमा
प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा अगस्त महिनाका लागि सबै डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । जुनको भिसा बुलेटिनमा पनि जुलाईका लागि सबै डिभी विजेताका लागि भिसा करेन्ट गरिएको थियो ।
मे महिनाको भिसा बुलेटिनमा जुन महिनाका लागि नेपाली डिभी विजेताहरुलाई ६४ सय सम्म केस नम्बरमा सिमित गरिएको थियो । तर जुलाईका लागि कुनै पनि देशका डिभी विजेताहरुको केस नम्बरमा लगाइएको सिमाबन्दी हटाइएकोमा अगस्तमा पनि त्यो कायम गरिएको छ ।
अमेरिकामा नै रहेका डिभी विजेताहरुले जुनसुकै केस नम्बर भएपनि प्रकृया अगाडि बढाउन सक्नेछन् । तर अमेरिकाबाहिर रहेका डिभी विजेताहरुको सन्दर्भमा पनि दूतावास वा कन्सुलेटहरुले भिसा जारी नगरेसम्म सिमाबन्दी हटाइनु अर्थहीन भएको छ ।
अप्रिल २९ देखि सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा प्रकृयामा लैजान सुचारु त गरेको छ । तर डिभीलाई भने प्राथमिकता दिइएको छैन । अप्रिल २९ अगाडि पनि भिजिटर भिसा नविकरण, केही गैर आप्रवासी भिसा र प्राथमिकताका आधारका केही आप्रवासी भिसाहरु जारी गरिएपनि डिभी विजेताहरुलाई भने भिसा जारी गरिएको थिएन ।
ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि अधिकांश अमेरिकी दूतावास र कन्सुलेटहरुले भने डाइभर्सिटी भिसा जारी गरेका छैनन् । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फरबरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर कुनै पनि कुनै डिभी विजेतालाई भिसा दिइएन ।
मार्चमा विश्वका अधिकांश अमेरिकी दूतावास र कन्सुलेटबाट डाइभर्सिटी भिसा जारी नगरिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकमा देखिएको छ । विश्वभरबाट मार्चमा २० जनालाई मात्र डाइभर्सिटी भिसा जारी गरिएको तथ्यांकमा देखिएको छ । जसमा घानाका २ जना, अल्जेरियाका १७ जना र क्यामरुनका एकजना रहेका छन् । अप्रिलमा पनि काठमाडौं दूतावासबाट कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरिएको तथ्यांकमा देखिएको छ ।
सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउन सकेका थिएनन् । अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।
२१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष
सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।
जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना
आर्थिक बर्ष २०२२ का लागि गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा पनि मे ८ मा सार्वजनिक भइसकेको छ ।
डिभी २०२२ विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासको सुझाव
डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासले काठमाडौंले सुझाव दिएको छ । दूतावासले भनेको छ – ‘तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।’
यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ । कोरोना महामारीका कारणले भएको लकडाउनले गर्दा अहिले अमेरिकी दूतावास काठमाडौंका सेवाहरू पूर्णरूपमा बन्द भएको पनि दूतावासले जनाएको छ ।
डीएस २६० फर्म भर्नुभन्दा अगाडि उक्त फर्मको नमुना र भर्नुपर्ने विवरणहरु समेत हेर्न सकिनेछ । सुरुमा केस नम्बर हालिसकेपछि तपाईले नेशनल भिसा सेन्टरबाट प्राप्त गरेको इन्भोइस नम्बर हाल्नुपर्छ । त्यसपछि तपाईले आफू आवेदक भएको विकल्प छनौट गर्नुपर्छ । आवेदकबाहेक अन्यले वकिल, याचिकाकर्ता वा तेश्रो पार्टी एजेण्ट भएको विकल्प छनौट गर्न सक्नेछन् ।
त्यसपछि तपाईले आफ्नो आप्रवासी भिसा आवेदन भर्ने स्थान देख्नुहुनेछ । त्यहाँ क्लीक गरेर तपाईले आफ्ना विवरणहरु भर्दै जानुपर्नेछ ।
आवेदन कसरी भर्ने ? यसबारेमा आवेदनको नमुना यहाँ हेर्नुहोला ।
डीएस २६० फर्म भर्दा तपाईले अमेरिकामा कुन ठेगानामा ग्रिनकार्ड प्राप्त गर्ने हो उक्त ठेगाना समेत उल्लेख गर्नुपर्छ । तपाईले यो ठेगाना उपलब्ध गराउँदा ठेगाना पूर्ण भए नभएको चेक गर्नुपर्छ । यो ठेगानामा अपार्टमेन्ट नम्बर वा फ्लोर नम्बर भए नभएको राम्रोसँग चेक गर्न आवश्यक छ । ठेगाना पूर्ण नभएका कारण वा अपार्टमेन्ट नम्बर छुटेका कारण अमेरिका आइसकेपछि ग्रिनकार्ड फिर्ता भएर जाने तथा हराउने समस्या देखिएको छ । त्यसपछि ग्रिनकार्ड पुन प्राप्त गर्न लामो समय लाग्ने र झमेला हुने समेत गरेको छ ।
साथै तपाईले आफूलाई सोसल सेक्युरिटी कार्ड आवश्यक भएको र त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुपर्छ ।
यदि तपाईले सोसल सेक्युरिटी कार्ड आवश्यक छ ? भन्ने प्रश्नमा छैनमा टिक लगाउनुभयो र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुहुन्छ ? भन्नेमा गर्दिन भन्नेमा टिक लगाउनुभयो भने तपाईले सोसल सेक्युरिटी कार्ड स्वत प्राप्त गर्नुहुनेछैन । अमेरिका आइसकेपछि तपाईले सोसल सेक्युरिटी अफिसमा गएर पुन आवेदन दिनुपर्ने हुन्छ ।
अमेरिकामा बैंक खाता खोल्नदेखि राज्यका आईडी कार्ड जारी गर्न लगायत ट्याक्स तिर्न र अन्य महत्वपूर्ण कामहरुका लागि सोसल सेक्युरिटी नम्बरको आवश्यकता पर्छ । कैयन आवेदकले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बर आवश्यक नभएको उल्लेख गर्दा वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान नगर्दा अमेरिका आइसकेपछि झमेला भोग्ने गरेका छन् ।
डिभी लोटरी २०२२ को नतिजा अमेरिकाको न्युयोर्क समय अनुशार मे ८ तारिख अपरान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो ।
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।
चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।
डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।
अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ८ देखि सन् सेप्टेम्बर ३०, २०२२ सम्म उपलब्ध हुनेछ ।
सन् २०२२ का डिभी विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०२२ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पछि डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ ।
डिभीको कन्फर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस् सहजै
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।
डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अहिले नै उपलब्ध भइसकेको छ ।
हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।
तपाईसँग पहिले नै कन्फर्मेशन नम्बर छ वा माथि उल्लेखित विधिबाट इमेलमा कन्फर्मेशन नम्बर प्राप्त गर्नुभयो भने अब तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।
यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।