नेपालले हस्तलिखित भिसाको साटो सुरु गरेको क्युआर कोड सहितको भिसाका ७ विशेषता
प्रकाशित मिति : असार १६, २०७८ बुधबार
नेपाल सरकारले ४६ वर्षदेखि प्रयोगमा रहेको हस्तलिखित भिसाको साटो कम्प्युटर प्रणालीबाट सिर्जित क्यूआर कोडसहितको भिसा जारी गर्न सुरु गरेको छ । सोमबारदेखि अध्यागमन विभागबाट कम्प्युटर प्रणालीबाट सिर्जिट क्यूआर कोडसहितको भिसा जारी गर्न सुरु गरिएको हो ।
क्यूआर कोडसहितको भिसाका ७ विशेषता
– विद्युतीय भिसा प्रणालीमा जान आधार तयार भएको मानिएको यो भिसाको होलोग्राममा नेपालको नक्सासहितको वाटरमार्क रहेको छ ।
– भिसा स्टिकरमा रहने क्यूआर कोडमा भिसाको विवरण हुँदा क्यूआर कोड रिडरको प्रयोग गरेर सजिलै भिसाको आधिकारिकता र अन्य विवरण लिन सकिने छ ।
– भिसाको विवरण प्रणालीबाट प्रिन्ट हुने भएकाले हातले केरमेट गर्न मिल्ने छैन ।
– क्यूआर कोडमा समावेश भएका विवरणहरु परिवर्तन गर्न मिल्नेछैन ।
– भिसा नम्बरसमेत प्रणालीबाट सिर्जित हुने भएकाले शुद्धता हुनेछ ।
– राहदानीको एउटा पेजमा तीनवटासम्म भिसा अट्नसक्नेछ ।
– नेपालमा सम्भवत पहिलोपटक पीआरएन फाइल प्रविधि प्रयोग गरेर भिसाको प्रिन्ट हुनेछ ।
विमानस्थल, अन्य अध्यागमन कार्यालय र कूटनीतिक नियोगबाट कहिले ?
क्यूआर कोडसहितको भिसा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, १३ अध्यागमन कार्यालय र विदेशस्थित कूटनीतिक नियोगबाट जारी हुनभने केही समय लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विदेशस्थित ३९ वटै कूटनीतिक नियोग र १३ ठाउँमा रहेका अध्यागमन कार्यालयबाट यो प्रकारको भिसा असोजभरमा जारी गर्न सुरु गरिनेछ ।
क्यूआर कोडसहितको भिसा अनुकूलका प्रिन्टर खरिद भएपछि यो सेवा नेपालका सबै अध्यागमन कार्यालयबाट सुरु हुनेछ । २०३२ सालमा विदेशीसम्बन्धी नियमावली जारी भएसँगै नेपालमा हस्तलिखित भिसा प्रयोगमा आएको थियो ।