‘नेपाललाई कोभ्याक्समार्फत यथाशीघ्र भ्याक्सिन पठाउन समन्वय गरेका छौं’: अमेरिकी विदेश मन्त्रालय
प्रकाशित मिति : असार २३, २०७८ बुधबार
नेपाललाई भ्याक्सिन प्रदान गर्नका लागि कोभ्याक्ससँगको समन्वयमा सकेसम्म छिटो अगाडि बढ्ने तर डोजको संख्या र मितिबारे टुंगो नलागिसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालमा आगामी साता अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोभ्याक्समार्फत १५ लाख डोज नेपाललाई प्राप्त हुनेबारे समाचार आइरहेको सन्दर्भमा कोभ्याक्समार्फत अमेरिकी सहयोगको कतिडोज, कुन भ्याक्सिन र कहिले नेपाललाई उपलब्ध हुनेबारे टुंगो नलागिसकेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई बताएका छन् ।
प्रवक्ताले भने – ‘अमेरिकाले खोप दिने देशहरूको सूचीमा नेपाल छ । तर हामीसँग अहिले यसबारे सार्वजसनक गर्नका लागि थप निदृष्ट जानकारी छैन।’
आगामी दिन र हप्ताहरुमा बाइडेन प्रशासनले नेपाललाई भ्याक्सिन प्रदान गर्नका लागि कोभ्याक्ससँगको समन्वयमा सकेसम्म छिटो अगाडि बढ्ने पनि प्रवक्ताको भनाई छ । भ्याक्सिनका डोजहरुको सुरक्षित हस्तान्तरण सुनिश्चित गर्नका लागि नियामक आवश्यकता र लजिस्टिक विवरणहरुका सन्दर्भमा काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिए ।
नेपालको स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई लेखेको पत्रमा कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख डोज भ्याक्सिन आउने उल्लेख गरेको समाचार नेपालका संचारमाध्यमहरुमा आएको थियो । मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसार अमेरिकाले प्रदान गर्ने १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको जनाइएको छ ।
हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोज दुईदुई डोज लगाउनुपर्छ । तर जोन्सन एण्ड जोन्सनको खोप भने एकडोजमात्र लगाए पुग्ने खोप हो ।
कोभ्याक्समार्फत नेपालको कुल जनसंख्याको २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुने भनिएकोमा ३ महिना अघि पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड उपलब्ध भएको थियो ।
जोन्सन एण्ड जोन्सन भ्याक्सिनको आशा
हाल अमेरिकामा स्वीकृत भ्याक्सिनहरुमध्ये जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमात्र भण्डारण र वितरण गर्नसक्ने क्षमता नेपालसँग रहेको छ । मोडेर्ना र फाइजरको भ्याक्सिन भण्डारण र वितरण गर्नमा समस्या रहेको छ ।
अमेरिकामा स्वीकृत मोडेर्ना वा फाइजर भ्याक्सिनको नेपालमा भण्डारणमा समस्या हुने देखिएको छ । फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । नेपालमा यति चिसो तापक्रममा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।
नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले खसोखासलाई जानकारी दिए । डाक्टर पौडेलले भने – ‘हामीसँग माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न मिल्ने कुनै प्रबन्ध छैन ।’
फाइजर भ्याक्सिन दुइसातासम्मका लागि माइनस १५ डिग्रीदेखि माइनस २५ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिन्छ । तर सीडीसीको पछिल्लो गाइडलाइन अनुशार त्योभन्दा लामो समय उक्त तापक्रममा फाइजर भ्याक्सिन भण्डारण गर्न मिल्दैन । फाइजरको भ्याक्सिन दुईडोज २१ दिनको अन्तरमा दिनुपर्ने भएकाले अहिलेसम्म २१ दिनसम्म यो भ्याक्सिन नेपालमा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । काठमाडौंमा दुईसातासम्म भण्डारण गर्न मिलेपनि भ्याक्सिन परिचालन गर्दा यो सुविधा पनि उपलब्ध नहुने भएकाले यो भ्याक्सिन नेपालमा तत्काल वितरण सम्भव देखिन्न ।
अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन प्रदान गर्यो । यो भ्याक्सिन पनि नेपालमा लामोसमय भण्डारणका लागि उचित व्यवस्था देखिन्न । यो भ्याक्सिन माइनस १५ देखि माइनस ५० डिग्री सेल्सियसभित्र भण्डारण गर्नुपर्छ । नेपालमा माइनस २० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नसकिने व्यवस्था रहेपनि यो भ्याकिसन सकभर माइनस २० डिग्री वा त्यो भन्दा माथि राख्न सिफारिस गरिएको छ । प्रवक्ता पौडेलले भने – ‘तर हामीसँग माइनस २० डिग्रीभन्दा माथि धान्ने प्रणाली छैन ।’
मोडर्ना भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा ३० दिनसम्म राख्न सकिन्छ । यो तापक्रममा भ्याक्सिन राख्नसक्ने व्यवस्था नेपालले गर्नसक्छ । तर यो भ्याक्सिन दुईडोज २८ दिनको अन्तरमा दिनुपर्ने भएकाले काठमाडौंबाहिर वा दुर्गम स्थानमा भ्याक्सिन परिचालनमा भने समस्या हुनसक्छ । प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी २ डिग्रीदेखि २५ डिग्री सेल्सियसको तापक्रममा १२ घण्टासम्म राख्न सकिन्छ ।
जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने नेपालको लागि भण्डारण र वितरणमा सहज रहेको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन ।
नेपालमा विगतमा वितरण गरेको आष्ट्राजेनकाले विकाश गरेको काभिशिल्ड भ्याक्सिन पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राखे पुग्ने खालको थियो । यसरी यो भ्याक्सिन उक्त तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी ३० डिग्री सेल्सियसको तापक्रममा ६ घण्टासम्म राख्न सकिन्छ । त्यस्तै नेपालमा वितरण गरिएको सिनोफार्म अन्तरगतको भेरोसेल भ्याक्सिनपनि २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्ने भ्याक्सिन हो ।
जटिल परिचालन चुनौती
अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज भ्याक्सिन पठाएको छ भने पेरुलाई २० लाख डोज भ्याक्सिन पठाएको छ । तर नेपाललाई कोभ्याक्समार्फत पठाउने भनेको भ्याक्सिन भने अमेरिकाले अझै पठाएको छैन । नेपाल जस्ता मुलुकमा भ्याक्सिन पठाउन जटिल परिचालन चुनौती खडा रहेको अमेरिकाले बताएको छ ।
जसका कारण नेपाल लगायतका मुलुकले अमेरिकाबाट भ्याक्सिन प्राप्त गर्न अझै केहीसाता कुनुपर्ने अवस्था देखिएको छ । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्सकी प्रेस अफिसर ग्रेस चुङले खसोखासलाई दिएको जानकारी अनुशार नियामक आवश्यकताहरु र लजिस्टिक विवरणहरुमार्फत सुरक्षित तरिकाले भ्याक्सिनका डोजहरुको स्थानान्तरण सुनिश्चित गर्न कोभ्याक्स र सम्बन्धिन देशसँगको समन्वयमा आगामी साताहरुमा भ्याक्सिन पठाउन अमेरिकी सरकारले सकेसम्म चाँडो कदम चाल्नेछ ।
मेडिकल एजेन्सीहरुले सुरक्षा र नियामक सुचनाहरु शेयर भएको सुनिश्चित गर्न समन्वय गरिरहेको, आपूर्ति टिमले निडल, सिरिन्ज र अल्कोहोल प्याडहरु जुटाइरहेको, ट्रान्सपोर्टेशन टिमले उचित तापक्रममा भण्डारणको व्यवस्था सुनिश्चित गर्ने, विच्छेद हुन नदिने कुरा सुनिश्चित गरिरहेको र भ्याक्सिन सम्बन्धित देशमा पुगिसकेपछि भन्सारमा कुनै समस्या नहुने सुनिश्चित गर्नका लागि काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ । भ्याक्सिनका डोजहरु सम्बन्धित कानून बमोजिम वितरण गरिने सुनिश्चित गर्न कानूनी सम्झौतासमेत आवश्यक पर्ने र त्यसका लागि काम भइरहेको प्रवक्ताको भनाई छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पौडेलले विमानस्थलमा भ्याक्सिन आइसकेपछि त्यसलाई विना कुनै झन्झट भण्डारणका लागि ‘केन्द्रीय भ्याक्सिन भण्डारण टेकु’ लैजाने प्रबन्ध रहेको जानकारी दिए । विगतमा पनि त्यसरी नै भ्याक्सिन लगिएको र विमानस्थलबाट भ्याक्सिन लैजादा भन्सारमा कुनै समस्या नहुने उनको भनाई छ ।
यसैबीच अमेरिकी दूतावास काठमाडौंकी प्रवक्ता अन्ना रिची एलेनले खसोखासलाई दिएको जानकारी अनुशार अमेरिकी सरकारले भ्याक्सिनका डोजहरु नेपाललाई उपलब्ध गराउनका लागि कोभ्याक्स र नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ । तर प्रकृया कहाँ पुगेको छ भन्नेबारे प्रवक्ता एलेनबाट कुनै जानकारी प्राप्त भएको छैन ।