घरनिकालाबाट संरक्षण प्रदान गर्ने नियमको अवधि बढाउन अमेरिकी संसद असफल
प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

कोरोनाको महामारीका कारण आर्थिक समस्या उत्पन्न भई भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधानको अवधि बढाउनेमा सर्वसम्मतको प्रयास अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा असफल भएको छ । संसद छुट्टीमा जानुभन्दा ६ साता अगाडि शुक्रबार अबेर प्रतिनिधिसभाबाट सर्वसम्मतीको प्रयास गरिएपनि यस्तो प्रयास असफल भएको हो ।
भाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट संरक्षण प्रदान गर्ने नियम शनिबार समाप्त हुँदैछ । रिपब्लिकन सांसदहरुले प्रस्ताव अस्वीकार गरेपछि संसदबाट पारित हुन नसकेको हो । कोही पनि रिपब्लिकन सांसदहरुले घरनिकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधानलाई समर्थन गरेनन् ।
डेमेक्र्याट्सहरुले घरनिकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधान यो बर्षको अन्तिमसम्म लम्बाउन चाहेका थिए । सीडीसी निर्देशक रोशेल वालेन्स्कीले गत महिनाको वक्तब्यमा जुलाईसम्मको म्याद अन्तिम रहेको बताएकी थिइन् ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले भाडा सहायता कार्यक्रम अन्तरगत दिइएको रकम यथाशीघ्र वितरण गर्न स्थानीय सरकारहरुलाई आव्हान गरेका छन् । उनले उचित तरिकाले भाडा सहायता कार्यक्रम अन्तरगतको रकम वितरणमा कुनै बहानाबाजी नगर्न समेत राज्य सरकारहरुलाई आग्रह गरेका छन् ।
As the eviction moratorium deadline approaches tomorrow, I call on all state and local governments to take all possible steps to immediately disburse these funds given the imminent ending of the CDC eviction moratorium. https://t.co/lei4rN3D9a
— President Biden (@POTUS) July 31, 2021
हाउस स्पीकर न्यान्सी पेलोसीले संसदबाट छुट्याइएको रकम वितरण गर्न राज्य र स्थानीय सरकारलाई आव्हान गरेकी छिन् । संसदबाट स्वीकृत भाडा सहायता कार्यक्रमको ४० बिलियन रकम वितरण हुन बाँकी रहेकाले उक्त रकम वितरण गर्न पेलोसीले आग्रह गरेकी हुन् ।