क्यानडा र मेक्सिकोको स्थलनाकाबाट अमेरिका प्रवेशमा गरिएको कडाई अक्टोबर २१ सम्म थप
प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार
कोरोना महामारी कारण क्यानडा र मेक्सिकोको स्थलनाकाबाट अमेरिका प्रवेशमा गरिएको कडाई अक्टोबर २१ सम्म थप गरिएको छ । मेक्सिको र क्यानडाको स्थल नाकाबाट अत्यावश्यकबाहेकका अरु व्यक्तिलाई प्रवेशमा रोक लगाइनेछ । तर यो नियमबाट हवाईमार्गबाट आउनेहरु भने प्रभावित हुनेछैनन् ।
अत्यावश्यक यात्रुहरुमा अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र अमेरिकामा काम गर्ने विदेशी नागरिकहरु समेत पर्छन् । उनीहरुलाई स्थलनाकाबाट अमेरिका प्रवेशमा कुनै रोक लगाइनेछैन । भिसा वेभर र अन्य विजनेश सम्बन्धित यात्रुहरुले भने सिमानाकामा कडाइको सामना गर्नुपर्नेछ । घुम्न र मनोरञ्जनका लागि आउनेहरुले स्थलनाकाबाट अमेरिका प्रवेश दिइनेछैन ।
स्थलनाकाबाट अमेरिका प्रवेशमा लगाइएका प्रतिबन्धहरु मंगलबार समाप्त भएकोमा त्यसपछि एकमहिना थपिएको हो । कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि यस्तो प्रतिबन्ध लगाउन थालिएको हो । सुरुको प्रतिबन्ध अप्रिलमा समाप्त भएकोमा त्यसपछि एकएक महिना गर्दै थप गरिएको छ ।
नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने सबै भिसावाहक विदेशीहरुले अमेरिका प्रवेश पाउने नियम लागु गर्ने तयारी भइरहँदा स्थलनाकाहुँदै मेक्सिको र क्यानडाबाट आउनमा लगाइएका प्रतिबन्धहरुलाई भने निरन्तरता दिइएको छ । अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट समेत भ्याक्सिन लगाएकाहरुलाई अमेरिका आउन छुट दिने तयारी गरेको छ ।
अमेरिका प्रवेशका लागि उनीहरुले भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । भ्याक्सिन लगाएको प्रमाण देखाउने सवै विदेशीहरुलाई अमेरिका प्रवेश दिइने नियम नोभेम्बरको पहिलोसाताबाट लागु हुने अपेक्षा गरिएको छ । एयरलाइन्स र अन्य ट्राभल उद्योग समुहहरुले यात्रा प्रतिबन्ध हटाउन माग गर्दै आएपनि अहिलेसम्म बाइडेन प्रशासनले ट्रम्प प्रशासनको ३० देशमाथिको यात्रा प्रतिबन्ध लागु गर्दै आएको छ ।
बाइडेन प्रशासनले अमेरिका फर्कन लागेका भ्याक्सिन नलगाएका अमेरिकनहरुका लागि समेत नियम कडा बनाउने भएको छ । उनीहरुले अमेरिका प्रस्थान गर्नुभन्दा एकदिन अगाडि कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ भने अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण गराउनुपर्नेछ ।
भ्याक्सिन बृहत रुपमा उपलब्ध भइसकेपछि युरोपियन र बेलायती अधिकारीहरुले आफ्नो देश यात्रा गर्ने भ्याक्सिन लगाएका अमेरिकनहरुका लागि नियम खुकुलो बनाएका थिए । तर अमेरिकाले सोही अनुशार उनीहरुका लागि नियम खुकुलो बनाएको थिएन । अब सीडीसीले पनि अमेरिका आउने हरेक यात्रुको इमेल र फोन नम्बर लगायतका विवरणहरु राख्नुपर्नेगरी एयरलाइन्सहरुलाई आदेश जारी गर्ने भएको छ ।
अहिलेसम्म भ्याक्सिन स्वीकृत नगरिएका उमेरका बालबालिकाहरुका लागि भने छुट दिइनेछ । तर आगामी नीतिका बारेमा सम्पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई अमेरिका फर्केपछि क्वारेन्टीन अनिवार्य गरिने छैन भने भ्याक्सिन नलगाएकाहरुलाई कडा नियम लागु गरिनेछ ।