डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन विदेश मन्त्रालयबाट वेवसाइट अपडेट


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीबारेको वेवसाइट अपडेट गरेको छ । अब डिभीबारेको वेवसाइटमा डिभी २०२० का विजेताहरुले पनि आफ्नो विवरण चेक गर्न र प्रकृया अगाडि बढाउन सक्नेछन् ।

गतमहिना अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको थियो । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालयले अहिलेसम्म यसबारे कुनै प्रकृया सुरु भने गरेको थिएन ।

डिभीबारेको सरकारी वेवसाइटबाट गतबर्षको अक्टोबर १ बाट डिभी २०२० का विजेताहरुले इन्ट्रेन्ट स्टाटस चेक गर्न सकिने व्यवस्था हटाइसकिएको थियो । तर सरकारले २०२० को विकल्प समेत वेवसाइटमा थप गरेको छ । यद्यपी बाइडेन प्रशासनले यस अगाडि आर्थिक बर्ष २०२० का ९०९५ डिभी विजेतालाई आर्थिक बर्ष २०२३ मामात्र भिसा जारी गर्न सकिने तर्क गरेको थियो ।

सन् २०२० को सेप्टेम्बर ३० मा दिइएको आदेशमा न्यायाधिस मेहताले आर्थिक बर्ष २०२० का ९ हजार ९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएका थिए । तर संरक्षित भिसाहरु अहिलेसम्म प्रकृयामा भने लगिएको छैन । उनीहरुले कहिलेदेखि भिसा पाउन सुरु गर्नेछन् भन्ने पनि स्पष्ट छैन ।

९ हजार ९५ जनालाई केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा भिसा प्रकृया अगाडि बढाइनेछ । ९ हजार ९५ संख्या नपुग्दासम्म उनीहरुले भिसा पाउनेछन् । त्यसपछि बाँकी रहेकाहरुले भने भिसा पाउनेछैनन् । न्यायाधिस मेहताले ९ हजार ९५ बाहेक थपका डिभी विजेताका लागि भने कुनै आदेश जारी गरेका छैनन् ।

कोरोनाको महामारी र तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण आर्थिक बर्ष २०२० का ठूलो संख्यामा डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् ।

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । बाँकी झण्डै २३ सय नेपालीहरुले भिसा पाउन सकेका छैनन् ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

अमेरिकी दूतावास काठमाडौं

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र गतबर्षको सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

आर्थिक बर्ष २०२१ का भिसा नपाएका डिभी विजेताहरुको संख्या पनि उल्लेख्य रहेको छ । ट्रम्पको कार्यकारी आदेश समाप्त भइसकेपछि पनि बाइडेन प्रशासनले डिभीलाई कम प्राथमिकतामा राखेपनि उनीहरुले भिसा पाउन सकेनन् । उनीहरुले सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेकाले उक्त डेडलाइन पनि समाप्त भइसकेको छ । अदालतले भिसा पाउन नसकेका २०२१ का डिभी विजेताहरुका लागि सन् २०२० को जस्तै भिसा संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com