किन चलेन झण्डै ६ घण्टासम्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम?


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

न्युयोर्क समय अनुशार मध्यान्ह १२ बज्नु ठीक अगाडि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका फेसबुकका कम्पनीका उत्पादनहरु विश्वव्यापीरुपमा एकैपटक बन्द भए । झण्डै ६ घण्टाको प्रयासपछि फेसबुकले यो समस्या समाधान गर्न सफल भयो ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द भएपछि फेसबुकले ट्वीटरमा रहेको आफ्नो एकाउन्टमार्फत यसको पुष्टी गर्दै माफी मागेको थियो । उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको जनाइएको छ । बाह्य ह्याकिङ भने नभएको फेसबुकको भनाई छ ।

फेसबुक लगायतका सामाजिक सञ्जाल अवरुद्ध भएपछि विश्वभरका झण्डै सवा करोडले रिपोर्ट गरेका थिए । सन् २०१९ को अवरोधपछिको यो सबैभन्दा ठूलो अवरोध भएको जनाइएको थियो । फेसबुकमा सन् २०१९ मा २४ घण्टाभन्दा लामो समय समस्या आएको थियो ।

फेसबुकले सोमबारको अवरोधलाई कन्फिगरेशन सम्बन्धि समस्या भएको बताएको छ । डीएनएस चेकर डट ओर्गमार्फत आईएसपी डीएनएसको परीक्षणमा दिनभरका सबै परीक्षणहरु असफल भएको न्युयोर्क समय आनुशार बेलुका ५ बजेर ३० मिनेट जाँदा फेसबुकले सर्भरमा बाटो भेटाएको देखाएको थियो । त्यसको केही मिनेटपछि फेसबुक संचालनमा आएको थियो । तर ठीक भएको डीएनएस प्रयोगकर्तासमक्ष पुग्न केही समय लागेको थियो ।

फेसबुकका संचारसम्बन्धी कार्यकारी एन्डी स्टोनले ट्वीटरमार्फत यो समस्या नेटवर्किङसम्बन्धी भएको बताएका थिए । फेसबुकमा आएको समस्याका कारण कर्मचारीसँगको आन्तरिक संचारपनि विच्छेद भएको थियो । कर्मचारीहरुले फेसबुकले उपलब्ध गराएको आउटलुकमार्फत इमेल पठाएर सम्पर्क गरेको बताएका छन् । गुगल डकुमेन्ट र जुममार्फत लगइन गरेका कर्मचारीहरुले काम गर्न सकेका थिए भने कामको इमेलमार्फत लगइन गर्नुपर्नेहरुले समस्या भोगेका थिए ।

समस्या आएपछि फेसबुकमा इन्जिनियरहरुलाई अमेरिकामा रहेका कम्पनीका डाटा सेन्टरहरुमा परिचालन गरिएको थियो । उनीहरुले त्यहाँ पुगेर समस्या समाधानका प्रयासहरु गरेका थिए । अन्तत डीएनएसलाई नै मुख्य समस्या भएको बताइएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com