अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेल: नेपालको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

कोरोना संक्रमणपछिको जटिलताबाट ८४ बर्षको उमेरमा निधन भएका अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेल नेपालको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी थिए ।

सन् २००१ को जनवरी २० देखि सन् २००५ को जनवरी २६ सम्म अमेरिकाको ६५ औं विदेशमन्त्री भएका पावेलले सन् २००२ मा नेपालको भ्रमण गरेका थिए ।

उनी नेपालको भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले नेपालको भ्रमण गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका थिए । उनलाई नेपालका तत्कालिन परराष्ट्रमन्त्री डाक्टर रामशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कोलिन पावेलले सन् २००२ को जनवरी १८ मा नेपालका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्च अधिकारीहरुलाई भेटेका थिए ।

सन् २०१२ मा कोलिन पावेल

कोलिन पावेल नेपाल भ्रमणमा आएको झण्डै १७ बर्षसम्म नेपाल र अमेरिकाबीच उच्चस्तरीय औपचारिक भेटघाट भएको थिएन । सन् २०१८ को डिसेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको भेटवार्ता त्यसपछिको उच्चस्तरीय औपचारिक भेटघाट थियो । तर उक्त भेटघाट अमेरिकामा भएको थियो ।

सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएयता दुईदेशका अधिकारीबीचको औपचारिक भ्रमण भएको थिएन । यद्यपी युद्धमा रहेको माओवादीविरुद्ध अप्रेसनमा सैन्य सहयोग माग्दै देउवा अमेरिका पुगेर राष्ट्रपति जर्ज डब्लु बुससँग भेटवार्ता गरेका थिए । तर, अमेरिकी दस्तावेजमा देउवाको भ्रमणलाई निजी भनिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्रीस्तरीय वार्तालाई भने औपचारिक वार्ता भनिएको थियो ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध झण्डै ७३ बर्ष पुरानो सम्बन्ध हो । यो सम्बन्धको दौरान कोलिन पावेलको नेपाल भ्रमणलाई निकै महत्वपूर्ण मानिन्छ । अमेरिकाले नेपाललाई सन् १९४७ मा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गरेको थियो । सन् १९४७ को अप्रिल २५ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

सन् १९९५ मा प्रथम महिलाका रुपमा हिलारी क्लीन्टनले नेपालको भ्रमण गरेकी थिइन् । कार्टर सेन्टरका संस्थापकका रुपमा अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले सन् २००७ र सन् २००८ मा नेपालको भ्रमण गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com