जोन्सन एण्ड जोन्सनको पहिलो डोज लगाएको २ महिना पुगेकाले दोश्रो डोज लगाउनुपर्ने
प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार
अमेरिकाको एफडीए र सीडीसीले जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको जान्सेन भ्याक्सिन लगाएको २ महिना वा त्यो भन्दा बढी अवधि भएकाहरुलाई दोश्रो डोज भ्याक्सिन लगाउन सिफारिस गरेको छ । दोश्रो बुस्टर डोजका लागि जोन्सन एण्ड जोन्सनले दिएको आवेदन बुधबार एफडीएले स्वीकृत गरेको थियो । लगत्तै बिहिबार सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले जोन्सन एण्ड जोन्सनको बुस्टर डोज सिफारिस गरेका हुन् ।
सीडीसीका सल्लाहकार सदस्यहरु जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज आवश्यक भएको निष्कर्षमा पुगेका हुन् । मोडेर्ना र फाइजरको तुलनामा संक्रमण रोक्न कम प्रभावकारी रहेको जोन्सन एण्ड जोन्सनको दोश्रो डोज लगाउँदा उल्लेख्यमात्रामा काम गरेको अध्ययनले देखाएको छ ।
सीडीसीले कस्ता व्यक्तिले बुस्टर डोज लिने लगायतका सन्दर्भमा विस्तृत निर्देशिका जारी गर्ने भएको छ । साथै मान्छेहरुले भ्याक्सिनका डोजहरु मिसाउन हुने वा नहुने भन्ने सन्दर्भमा पनि निर्देशिका जारी गरिने जनाइएको छ । सुरुमा एकडोज लगाएमात्र पुग्नेगरी जोन्सन एण्ड जोन्सनको भ्याक्सिन स्वीकृत गरिएको थियो । जस अनुशार अमेरिकामा झण्डै डेढ करोडले यो भ्याक्सिन लगाएका छन् भने नेपालमा पनि १५ लाख भन्दा धेरैले लगाएका छन् ।
बुस्टर डोज लगाएको खण्डमा जोन्सन एण्ड जोन्सन भ्याक्सिनले कोरोनाबिरुद्ध ९४ प्रतिशत संरक्षण प्रदान गरेको पाइएको छ ।
एक डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुमध्ये बुस्टर डोज कस्ले र कहिलेदेखि लिनुपर्ने भन्नेबारे कम्पनीले कुनै सिफारिस नगरी सबै अधिकार सीडीसी र एफडीएमाथि नै छाडेको थियो । आफूहरुले तथ्यांकहरुको व्याख्या गर्ने र सोही आधारमा एफडीएले उपयुक्त निर्णय लिने अपेक्षा गरेको कम्पनीले जनाएको थियो ।
जोन्सन एण्ड जोन्सनको बुस्टर डोज पहिलो डोज लगाएको दुईमहिनापछि लगाउँदा भ्याक्सिनको प्रभावकारिता उच्च भएको तथ्यांक गतमहिना सार्वजनिक गरिएको थियो । बुस्टर डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको थियो । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ ।
एकडोजमात्र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले दोश्रो बुस्टर डोज लगाउँदा प्रतिरोधात्मक क्षममा अझ बढी देखिएको कम्पनीले जनाएको छ । साथै बुस्टर डोज लगाउँदा कोरोना संक्रमण हुनबाट बलियो तरिकाले जोगाउनुपर्ने समेत कम्पनीको भनाई छ । जोन्सन एण्ड जोन्सन कम्पनीले आफ्नो जान्सेन भ्याक्सिनबारेका तीन अध्ययनका विवरणहरु सार्वजनिक गरेको थियो ।
एकमात्र डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले बुस्टर डोज लगाउँदा कोरोनाबिरुद्धको संरक्षण लामो समय प्राप्त हुने अध्ययनले देखाएको छ । तर एकडोजमात्र भ्याक्सिनले पनि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनबाट जोगाउन बलियो संरक्षण प्रदान गरेको जान्सेन रिसर्च एण्ड डेभलपमेन्टका विश्व प्रमुख डाक्टर माथाई मामेनले बताएका छन् ।
जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई अमेरिकामा एफडीएले यसैबर्षको फरबरी २७ मा स्वीकृत गरेको थियो । कम्पनीको अहिले संचालित दोश्रो चरणको परीक्षणमा दुईडोज वाला जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा ५६ दिनको अन्तरालमा लगाउँदा सिकिस्त हुनबाट रोक्न शतप्रतिशत र ठीक्कको संक्रमणबाट रोक्न ९४ प्रतिशत प्रभावकारी पाइएको हो । विश्वव्यापी तथ्यांक हेर्दा सामान्यदेखि सिकिस्त हुनबाट रोक्न समग्रमा ७५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।
एकमात्र डोज लगाए पुग्नेगरी स्वीकृत जोन्सन एण्ड जोन्सनको एक डोज लगाएकाहरुलाई ६ महिनापछि बुस्टर डोज दिंदा एन्टीबडीमा १२ गुणा बृद्धि भएको पाइएको छ । दुईमहिनाको अन्तरमा दोश्रो डोज दिंदा जम्मा ४ गुणाबृद्धि देखिएकोमा ६ महिनापछि दिंदा १२ गुणा बृद्धि देखिएको हो । त्यस्तै बुस्टर डोज ६ महिनापछिमात्र लिंदा बढी संरक्षण प्राप्त हुने देखिएको चिकित्सकहरुको भनाई छ ।