चाइनिज भ्याक्सिन ‘भेरोसेल’ लगाएकाहरुलाई नोभेम्बर ८ पछिपनि अमेरिका प्रवेश दिइने


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिदैछ । त्यसका लागि अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएको छ । जस अनुशार चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउनेछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई भने अमेरिका प्रवेश दिइनेछैन ।

नेपालमा सबैभन्दा बढी कोरोनाबिरुद्धको भ्याक्सिन साइनोफार्म अन्तरगतको भेरोसेल वितरण भइरहेको छ । त्यस्तै नेपालमा वितरण गरिएको जोन्सन एण्ड जोन्सन र कोभिशिल्ड (आष्ट्राजेनेका) लगाएकाहरुले पनि अमेरिका प्रवेश गर्न पाउनेछन् । त्यो बाहेक फाइजर र मोडेर्ना भ्याक्सिन लगाएकाहरुलाई पनि अमेरिका प्रवेश दिइनेछ । उनीहरुले अमेरिका प्रवेशका लागि उपयुक्त भिसा, तीनदिनभित्र स्वाब संकलन गरिएको कोरोनाको नेगेटिभ रिपोर्ट र पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गरिने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई नोभेम्बर ८ पछि पनि अमेरिका प्रवेश त दिइने छ तर उनीहरुले अमेरिका फर्कने विमान चढ्नुभन्दा एक दिन अगाडि कोरोनो परीक्षण गरेर नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ । साथै उनीहरु अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण लगायतका अतिरिक्त नियमहरुको पालना गर्नुपर्नेछ ।

अहिलेसम्म भ्याक्सिन लगाएको प्रमाणविना नै कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेर अमेरिका आइरहेका देशहरुबाट पनि नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका विदेशीहरु अमेरिका आउन पाउनेछैनन् । तर भ्याक्सिन लगाएकाहरु ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट पनि आउन पाउनेछन् । अहिले ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट अमेरिका प्रवेशमा अत्यावश्यकबाहेकका अन्यलाई रोक छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

अमेरिकाले नोभेम्बरदेखि स्थलनाकाहुँदै क्यानडा र मेक्सिकोबाटसमेत प्रवेशको अनुमति दिने भएको छ । स्थलनाकाबाट भ्याक्सिन लगाएकाहरु प्रवेश गर्दा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छैन । अत्यावश्यक बाहेकका अन्यलाई गतबर्षदेखि क्यानडा र मेक्सिकोको स्थलनाकाबाट प्रवेशमा रोक लगाइदै आएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com