भारतीय कोभ्याक्सिन स्वीकृत, नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिन ८


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई पनि आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि अब नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिनको संख्या ८ पुगेको छ । नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य रहेको छ । भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको छ ।

अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई मान्यता दिइएकोमा त्यसमा कोभ्याक्सिन थपिएको हो । अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएकाले चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउनेछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई भने अमेरिका प्रवेश दिइनेछैन ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

नेपालमा सबैभन्दा बढी कोरोनाबिरुद्धको भ्याक्सिन साइनोफार्म अन्तरगतको भेरोसेल वितरण भइरहेको छ । त्यस्तै नेपालमा वितरण गरिएको जोन्सन एण्ड जोन्सन र कोभिशिल्ड (आष्ट्राजेनेका) लगाएकाहरुले पनि अमेरिका प्रवेश गर्न पाउनेछन् । नेपालमा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन पनि आएको छ ।

अक्टोबर ८ देखि लागु हुनेगरी अमेरिकामा भ्याक्सिन लगाएका विदेशीहरुलाईमात्र प्रवेश दिने नियम घोषणा गरिएको छ । तर भ्याक्सिन लगाउने दर १० प्रतिशतभन्दा कम भएका झण्डै ५० वटा देशबाट अमेरिका आउनेहरुलाई भने भ्याक्सिन नलगाएको भएतापनि अमेरिका प्रवेश दिइनेछ । तर उनीहरु अमेरिका आइसकेपछि ७ दिनसम्म सेल्फ क्वारेन्टीनमा बस्नुपर्नेछ । भ्याक्सिन नलगाएका १८ बर्षभन्दा कम उमेरका व्यक्ति अमेरिका आउँदा अबदेखि क्वारेन्टीन बस्नु पर्ने छैन ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

पूर्णरुपमा भ्याक्सिन लगाएका अन्य सबै आप्रवासीहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने लगायत कोरोना महामारी सम्बन्धित सबै नियमहरुको पालना गर्नुपर्नेछ । अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र भ्याक्सिनमा छुट पाउने योग्य आप्रवासीहरु लगायत सबै यात्रुहरुले अमेरिका आउनु अगाडि कोरोना परीक्षण गर्नुपर्नेछ ।

भ्याक्सिन अनिवार्यको नियमले विदेशमा रहेका अमेरिकी कन्सुलेटहरुलाई भिजिटर भिसा जारी गर्नका लागि निषेध गर्दैन । तर भिसाको माग बढ्ने देखिएकाले भिसा अप्वाइन्टमेन्टमा ब्याकलग भने चर्को हुने देखिएको छ । विमानमा चढ्नुभन्दा अगाडि नै आप्रवासीहरुले पूर्णरुपमा भ्याक्सिन लगाएको र तीनदिनभित्र परीक्षणको नेगेटिभ रिपोर्ट प्रमाण पेश गर्नुपर्नेछ ।

दुईडोज लगाउनुपर्ने भ्याक्सिनको दोश्रो डोज लगाएको १४ दिन पूरा भएपछि मात्र पूर्णरुपमा भ्याक्सिन लगाएको मानिनेछ । मिश्रित रुपमा भ्याक्सिन लगाएकाहरुलाई पनि मान्यता दिइनेछ । तर कम्तीमा १७ दिनको अन्तरमा लगाएको हुनुपर्नेछ भने पछिल्लो डोज लगाएको १४ दिन पूरा भएको हुनुपर्नेछ ।

नेपालमा कोरोनाबिरुद्धको खोप कोभिशिल्ड लगाइदै

भ्याक्सिन नलगाएका र अमेरिका आउन छुट दिइएकाहरुले भने अत्यन्तै कडा प्रकारका मापदण्डहरु पालना गर्नुपर्नेछ । उनीहरुले अमेरिका प्रस्थान गर्नुभन्दा एकदिनभित्रको नेगेटिभ परीक्षण रिपोर्ट पेश गर्नुपर्नेछ । पूर्णरुपमा भ्याक्सिन लगाएका अभिभावकसँग यात्रा नगरेका २ देखि १७ बर्षसम्मका यात्रुहरुले समेत एकदिनभित्रको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

त्यस्तै उनीहरुले अमेरिका प्रवेश गरेको ६० दिनभित्र वा सीडीसीले तोकेको समयतालिकाभित्र पूर्णरुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने प्रतिवद्धता जनाउनुपर्नेछ । उनीहरुले अमेरिका आएपछि तीनदेखि ५ दिनभित्र कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com