अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाको आदेश
प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2021/11/Ethopia-US-Embassy.jpg?fit=1153%2C1153&ssl=1)
अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाले आदेश दिएको छ । सशस्त्र द्वन्द्व, अशान्ति र हिंशाका कारण अमेरिकाले यस अगाडि इथोपियामा रहेका सबै अमेरिकी नागरिकलाई देश छाड्न सुझाव दिए लगत्तै कर्मचारीहरुलाई पनि आदेश दिएको हो ।
शनिबार इथोपियामा रहेको अमेरिकी दूतावासले अशान्ति र हिंशाका घटनाहरु विना चेतावनी भइरहेकाले अवस्था अझ खराब हुनसक्ने बताएको छ । स्थीति नकारात्मक बन्दै जाँदा अभाव, संचार अवरुद्ध र यातायातमा अवरोध हुनसक्ने भन्दै दूतावासले आफ्ना नागरिक र अत्यावश्यक बाहेकका कर्मचारीलाई देश छाड्न भनेको हो ।
![](https://i0.wp.com/fra1.digitaloceanspaces.com/appharuspace/khaso/uploads/2021/11/af4fbacc09e342219ed7892532e77d6f-af4fbacc09e342219ed7892532e77d6f-7d92a064605e4cf3b837ac72ea7c5b3e.jpg?resize=720%2C480&ssl=1)
डेनमार्क र इटलीले पनि व्यवसायिक उडानहरु उपलब्ध भएकै अवस्थामा इथोपिया छाड्न आफ्ना नागरिकहरुलाई सुझाव दिएका छन् । बिद्रोही शक्ति र उनीहरुका समर्थकहरु राजधानीतिर अगाडि बढिरहँदा विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका हुन् ।
सरकारले गत मंगलबार त्यहाँ संकटकाल घोषणा गरिसकेको छ । टिग्रे पिपुल्स लिबरेशन फन्टका प्रवक्ताले आफ्ना हजारौं कार्यकर्ता र समर्थकलाई पक्राउ गर्नका लागि सरकारले संकटकाल लगाएको आरोप लगाएका छन् । सरकारका प्रवक्ताले भने आफूहरुले गैरकानूनी आतंककारी समुहलाई सहयोग गर्नेहरुलाईमात्र पक्राउ गरिएको बताएका छन् ।