विश्लेषण: अमेरिकामा मूल्यबृद्धि १९९० यताकै बढी, मुद्रास्फीति हो कि होइन? दोष कस्को?


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

अमेरिकामा सामानको मूल्यबृद्धि सन् १९९० को नोभेम्बरदेखिकै सबैभन्दा बढी प्रतिशत देखिएको छ । अमेरिकामा समग्रमा बस्तुको मूल्यबृद्धि ६ दशमलव २ प्रतिशत भएको छ । जुन फेडरल रिजर्भको २ प्रतिशतको दीर्घकालिन मुद्रास्फीति लक्ष्यभन्दा धेरै माथि हो । तर अमेरिकामा अहिलेको अवस्थालाई मुद्रास्फीति भन्ने वा नभन्ने विषयमा अर्थशास्त्रीहरु विभाजित रहेका छन् ।

बस्तुको मूल्य ब्यापक रुपमा बृद्धि भएको अवस्थामा मुद्रास्फीति हुनेगर्छ । यसमा व्यापक शब्दको खास अर्थ छ । कहिलेकाँही ग्राहकको चाहना र स्वाद बदलिंदा पनि सामानको मूल्यमा घटबढ हुनसक्छ । कुनै भिडियो वा विज्ञापनका कारण ग्राहकहरु कुनै खास बस्तु किन्न उत्साहित हुँदा माग बढी भएकाले उक्त बस्तुको मूल्य बढ्ने र अन्यको घट्ने वा स्थीर हुने समस्या हुन्छ ।

तर मुद्रास्फीति तब हुन्छ, जब ग्राहकहरुले किन्ने प्राय सबै बस्तुको औषत मूल्यमा बृद्धि हुन्छ । मुद्रास्फीति भएमा खाद्यान्न, घर, कार, कपडा, खेलौना लगायत सबै बस्तुको मूल्यबृद्धि हुन्छ । यी आवश्यकता पूरा गर्न मान्छेको पारिश्रमिकमा पनि बृद्धि हुनुपर्छ । पछिल्लो ४० बर्षदेखि अमेरिकामा न्यून र अत्यन्तै कम गतिको मुद्रास्फीति देखिएको छ, जुन सामान्यतया तेलसँग सम्बन्धित अर्थव्यवस्था कारण आउने गरेको छ । तेलको मूल्यबृछि अमेरिकामा बार्षिक २ प्रतिशतका दरले हुने गरेको छ ।

त्यसो हुँदा घर, स्वास्थ्योपचार लगायतको मूल्यमा बृद्धि हुन्छ तर कम्प्युटर, टेलिभिजन लगायतका सामानको मूल्यमा भने कमी आउँछ । कुनै सामानको मूल्य बढ्ने र कुनैको घट्ने हुँदा समग्रमा हिसाब गर्दा मूल्यबृद्धि स्थीर नै देखिन्छ । सबै सामानको मूल्यबृद्धि नहुने भएकाले यसलाई समग्रमा मुद्रास्फीति भन्न नमिल्ने अर्थशास्त्रीहरुको तर्क छ ।

अमेरिकामा पेट्रोलिम पदार्थमा पनि उच्च मूल्यबृद्धि भएको छ ।

तर जब सामानको मूल्य लामोसमयसम्म बृद्धि हुन्छ, तब ग्राहकहरु आफै मूल्यबृद्धिका लागि जिम्मेबार हुन्छन् । किनभने उनीहरुले सामानको मूल्य अझ बढ्नसक्ने अनुमान गरेर धेरै सामानहरु किन्न थाल्छन् । जसका कारण माग बढ्छ, अनि सामानको मूल्य पनि अझ बढ्छ ।

तर अहिलेको मूल्यबृद्धिका लागि अमेरिकामा महामारीलाई दोष दिइएको छ । सन् २०२० को मार्चमा अमेरिकामा महामारी फैलिन सुरु गरेको थियो । यो विश्वको अर्थतन्त्रमा जोडिएको प्लग निकाल्नुजस्तै थियो । विश्वभरका कैयन उद्योगधन्दाहरु बन्द भए । ग्राहकहरु रेष्टुरेण्टमा जान छाडे । उडानहरु बन्द भए । लाखौं, करोडौं व्यक्ति कामबाट बिदा भए । अमेरिकामा बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतबाट एकैचोटी १५ प्रतिशत पुग्यो ।

अमेरिकामा राहत प्याकेज आयो, बेरोजगारी सुविधा प्रदान गर्न थालियो । अमेरिकनहरुका हातमा अचानक रकम आयो । त्यसपछि उनीहरुले पुन किनमेल गर्न थाले । माग शुन्य बाट एकैपटक बढेर शतप्रतिशत भयो । तर आपूर्ति भने सहजैरुपमा पहिलेको अवस्थामा आउन सकेन । विश्व अर्थतन्त्रको तार टुटेपछि फेरी जोड्नासाथ उही गतिमा अर्थतन्त्र संचालन हुन सक्दैन ।

उदाहरणका लागि गाडी कम्पनीहरुमा महामारीको सुरुतिर संकट आयो । तर पछि मान्छेहरु सार्वजनिक गाडीमा चढ्न डराएपछि गाडीको माग बढ्यो । मान्छेहरु विमान चढ्न पनि डराउन थाले । तर गाडीको माग बढेपनि कम्पनीहरुले सहज रुपमा गाडी उत्पादन गर्न भने सकेनन् । कारका लागि विश्वका विभिन्न भागमा रहेका कम्पनीमा बनेका विभिन्न पाटपुर्जाहरु आवश्यक पर्छन् । तर महामारीका कारण कामदारहरु बिरामी हुँदा र कामदारहरु काममा आउन नसक्ने अवस्था हुँदा सहज आपूर्ति हुन सकेन ।

अर्थशास्त्रीहरुले थोरै सामान किन्नका लागि धेरै रकम आवश्यक पर्ने अवस्थालाई मुद्रास्फीतिका रुपमा व्याख्या गर्छन् । कार, घर लगायतका सन्दर्भमा ठ्याक्कै यस्तै भयो । सामानको मूल्यबृद्धिमा आपूर्तिमा आएको अवरोध पनि कारक बन्यो । माग बढ्दा र सामानको आपूर्ति कम हुँदा सामानको मुल्य बढ्छ भने माग बढ्दा, सामानको आपूर्ति कम हुँदा र उत्पादनमा ढिलो हुँदा मूल्य अझ धेरै बढ्छ ।

सबै आधुनिक कारहरु विभिन्न प्रकारका कम्प्युटर चिपमा भर पर्छन् । यस्ता चिपहरु सेलफोन, टिभी, ल्यापटप लगायतका विद्युतीय सामाग्रीमा पनि प्रयोग हुन्छन् । दुर्भाग्यवश यी सबै सामानको माग एकैपटक बढ्न पुग्यो । यो एउटा विश्वब्यापी आपूर्तिमा आएको अवरोधको उदाहरण मात्र हो । नयाँ कारको आपूर्ति कम हुँदा पूराना कारको समेत माग बढ्यो । कतिपयले त किनेको मुल्यभन्दा बढी मूल्यमा समेत पूराना कारहरु बेचे ।

सन् २०२२ मा पनि मूल्यबृद्धि कायम रहने देखिएको छ । तर यो कतिसम्म हुने र कतिसमय कायम हुने भन्ने विषय असंख्य विषयहरुमा भर पर्छ । नीति निर्माताहरुको उच्च प्राथमिकता विश्वब्यापी आपूर्तिमा भएको अवरोध हटाउनु हो । महामारी पहिलेकै अवस्थामा आपूर्तिलाई ल्याउनु उनीहरुको प्राथमिकतामा रहेको छ । तर यो त्यही सहज पनि छैन ।

सीएनएनमा प्रकाशित एलिशन मोरोको लेखमा आधारित ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com