जर्मनीमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, कडा नियमको तयारी, यस्तो छ कारण


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

जर्मनीमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । कोरोना चौथो छालले मुलुकलाई पूरै शक्तिका साथ आक्रमण गरिरहेको जर्मन चान्सलर एन्जेला मर्कलले बताएकी छिन् ।

जर्मनीको रोग नियन्त्रण केन्द्रका अनुशार विगत २४ घण्टामा ६५ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अघिल्लो २४ घण्टाको तुलनामा यो १२ हजार ५ सय ४५ ले बढी हो । यो संख्या वास्तविक भन्दा कम भएको र वास्तविक संक्रमण यो भन्दा दुईदेखि तीनगुणासम्म बढी रहेको विश्लेषण गरिएको छ ।

बुधबारदेखि बिहिबारसम्म जर्मनीमा कोरोना सम्बन्धित २६४ जनाको मृत्यु भएको छ । कोरोना महामारी सुरु भएदेखि जर्मनीमा ९८ हजारभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । जर्मनीमा कोरोना संक्रमणको साप्ताहिक दरपनि उच्च विन्दुमा पुगेको छ । हरेक एकलाखमा ३३६ जनामा संक्रमण पाइएको छ ।

जर्मनीमा कोरोना संक्रमण बढ्नुमा भ्याक्सिन लगाउने दरलाई मुख्य दोष दिइएको छ । पश्चिम युरोपका देशहरुमा जर्मनी भ्याक्सिन लगाउने दर अत्यन्तै कम भएको मध्येको मुलुक हो । जर्मनीमा ६७ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् भने ३३ प्रतिशतले कुनै संरक्षण प्राप्त गरेका छैनन् ।

भ्याक्सिन लगाउने दर कम रहनु र भ्याक्सिन लगाएकाहरुमा पनि संक्रामक डेल्टा भेरियन्ट बढ्दै जाँदा संरक्षण घट्दै जानुलाई जर्मनीमा कोरोना संक्रमण बढ्नुको मुख्य कारण रहेको विज्ञहरुको भनाई छ । यो बर्षको सुरुमा भ्याक्सिन अभियान सुरु हुँदा भ्याक्सिन लगाएका बढी उमेर समुह र जोखिममा रहेका व्यक्तिमा समय वित्दै गर्दा संरक्षण घट्दै गएको छ । संक्रमणदर उच्च रहेपनि अस्पताल भर्ना र हुने ज्यान गुमाउनेदर भने विगतको भन्दा कम रहेको छ ।

कोरोना संक्रमणदर उच्च हुँदै गर्दा भ्याक्सिन नलगाएकाहरुलाई लकडाउन गर्ने बाटोमा जर्मनी रहेको छ । बिहिबार त्यसबारेको नयाँ नियमको ड्राफ्टमा सहमति भइसकेको छ । जस अनुशार जर्मनीमा बस र ट्रेनमा चढ्नका लागि समेत कोरोनाको नेगेटिभ रिपोर्ट, निको भएको प्रमाण वा भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्नेछ । साथै मास्क पनि अनिवार्य लगाउनुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com