मेडिकल रिपोर्ट नपठाएका ग्रिनकार्ड आवेदकलाई यथाशीघ्र पठाउन युएससीआईएसको सुझाव


प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार

अमेरिकी सरकारको अध्यागमन एजेन्सी युएससीआईएसले भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई मेडिकल रिपोर्टका सन्दर्भमा आरएफई (रिक्वेष्ट फर इभिडेन्स) मागिएको भएमा यथाशीघ्र थप कागजात बुझाउन सुझाव दिएको छ । मेडिकल रिपोर्ट मागिएका आवेदकलाई यस्तो रिपोर्ट रातारात वा प्राथमिक सेवामार्फत पठाउन सुझाव दिइएको हो ।

युएससीआईएसले भनेको छ – ‘यदि तपाई रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनुभएको छ र तपाईलाई मेडिकल रिपोर्टका लागि आरएफई (रिक्वेष्ट फर इभिडेन्स) मागिएको छ भने यथाशीघ्र जवाफ पठाउनुहोला । ताकि हामीले तपाईको ग्रिनकार्ड आवेदनबारे छिटो निर्णय गर्न सकौं ।’

आर्थिक बर्षका लागि रोजगारमा आधारित भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड प्रकृया तीब्र पार्न चाहेको युएससीआईएसको भनाई छ ।

ग्रिनकार्ड आवेदन आई ४८५ का आवेदकहरुलाई ग्रिनकार्ड आवेदनका साथमा मेडिकल रिपोर्ट समेत एकसाथ पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । आई ४८५ आवेदनका साथमा मेडिकल रिपोर्ट पेश गरिएको खण्डमा युएससीआईएसले थप कागजात अर्थात् आरएफई माग्ने झन्झट नहुने र ग्रिनकार्ड आवेदनमा छिटो निर्णय हुने युएससीआईएसको भनाई छ ।

अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियम लागु भइसकेको छ । युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको छ । आवेदकले मेडिकल परीक्षण अगाडि भ्याक्सिन अनुशार एउटा वा दुईवटा डोज पूरा गरेको हुनुपर्ने र त्यसको कागजात सिभिल सर्जनलाई उपलब्ध गराउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

यो प्रावधान अमेरिकामा ग्रिनकार्ड आवेदन दिने र अमेरिकाबाहिर दूतावास तथा कन्सुलेटहरुमा आप्रवासी भिसाको आवेदन दिने सबैका सन्दर्भमा लागु गरिएको छ । तर भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु गरिएको छ ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्छ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइदैन ।

यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।

यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।

ग्रिनकार्डका लागि मेडिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्छ । अक्टोबर १ अगाडि नै मेडिकल रिपोर्ट पेश गरिसकेकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु हुँदेन ।

सामान्यतया मेडिकल रिपोर्टको म्याद २ बर्ष हुने गर्छ र दुईबर्षभित्र पनि युएससीआईएस आवेदनबारे निर्णय दिन नसकेको खण्डमा आवेदकले नयाँ मेडिकल रिपोर्ट बुझाउनुपर्छ । कोरोना महामारीका कारण युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको थियो ।

अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ । सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ । यो रिपोर्ट सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षसम्म मान्य हुने प्रावधान अहिलेसम्म रहेको छ । तर आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्दाको मितिले ६० दिन भित्रैको रिपोर्टमात्र मान्य हुन्छ ।

कोरोनाको महामारी कारण ग्रिनकार्ड आवेदन प्रकृयामा ढिलाई भएको भन्दै अगस्त १२ देखि लागु हुने गरी युएससीआईएसले नयाँ नियम ल्याएको थियो । आवेदनमा निर्णय गर्न ढिलो हुँदा आवेदकले नयाँ मेडिकल रिपोर्ट पेश गर्ने अवस्थालाई सम्बोधन गर्नका लागि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद अस्थायी रुपमा बढाउने नियम ल्याएको थियो ।

तर मेडिकल रिपोर्टको म्याद सेप्टेम्बर ३० सम्मका लागिमात्र ४ बर्षसम्म कायम हुनेगरी बढाइएको थियो । यदि सिभिल सर्जनले हस्ताक्षर गरेको ४ बर्ष नाघेको छैन र आई ४८५ आवेदन दिनु अगाडि ६० दिन ननाघेको अवस्थामामात्र मेडिकल रिपोर्टलाई मान्यता दिइएको थियो । सेप्टेम्बर ३०, २०२१ अगाडि निर्णय ग ग्रिरिएका नकार्ड आवेदन आई ४८५ आवेदनका सन्दर्भमामात्र यो नियम लागु गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com