नेगेटिभ रिपोर्ट र भ्याक्सिन प्रमाणपत्र देखाएर नेदरल्याण्ड आएका १३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी
प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार
नेदरल्याण्डमा १३ जना हवाई यात्रुहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण अफ्रिकाबाट फर्केका यात्रुहरुमा परीक्षण गर्दा १३ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो । उनीहरु शुक्रबार आम्स्टर्डममा आएका थिए ।
अधिकारीहरुले दुईवटा उडानबाट आएका ६ सय जना यात्रुहरुको परीक्षण गरेका थिए । जसमध्ये ६१ जनामा कोरोना संक्रमण देखिएको थियो । १३ जनामा ओमिक्रोन भेरियन्ट देखिएपनि अन्यमा भने उक्त भेरियन्ट नभेटिएको जनाइएको छ ।
उनीहरु नेदरल्याण्डले दक्षिण अफ्रिकाबाट उडानमा रोक लगाउनु अगाडि नै आइसकेकाहरु हुन् । उनीहरुले जोहनेसबर्ग र केप टाउनमा नेदरल्याण्ड आउने विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट वा भ्याक्सिन लगाएको प्रमाण देखाउनेहरु हुन् ।
एयर फ्रान्सको डट शाखा केएलमले नेगेटिभ रिपोर्ट देखाएर वा भ्याक्सिन लगाएको प्रमाण देखाएर विमान चढेका ठूलो संख्यामा कोरोना संक्रमण देखिदा आफूहरु आश्चर्यचकित भएको बताएको छ । तर आफूहरुसँग यसको कुनै व्याख्या नरहेको केएलएमका प्रवक्ताको भनाई छ ।
डच अधिकारीहरुले दक्षिण अफ्रिका र बोत्साना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिविया, जिम्बाबे लगायतका देशबाट सोमबारयता नेदरल्याण्ड आएका झण्डै ५ हजार यात्रुहरुसँग सम्पर्कको प्रयास गरिरहेका छन् । साथै उनीहरुलाई यथाशीघ्र कोरोना परीक्षण गराउन समेत आग्रह गरेका छन् ।
दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोनाको ओमिक्रोन भेरियन्ट यूके, जर्मनी, इटली, डेनमार्क, बेल्जियम, इजरायल, अष्ट्रेलिया, हङकङ लगायतका कैयन मुलुकमा पुष्टी भइसकेको छ । कोरोनाको नयाँ भेरियन्टका कारण यूएसए, यूके लगायतका कैयन देशहरुले यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् ।