अमेरिकी नागरिकले नेपालबाट मंगेतर झिकाएर विवाह गर्न भिसा प्रकृया कति समय लाग्छ ?


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

अमेरिकी नागरिकले विदेशमा रहेका आफ्ना मंगेतरलाई के वान भिसामा अमेरिका झिकाएर विवाह गर्न सक्छन् । त्यसका लागि अमेरिकी नागरिकले सुरुमा युएससीआईएसमा आई १२९ एफ फर्म भरेर आवेदन दिनुपर्छ । उक्त भिसामा अमेरिका आइसकेपछि ९० दिनभित्र विवाह गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

सुरुमा आई १२९ फर्म भरेर युएसपीएस वा अन्य कुरियरमार्फत युएससीआईएसको ठेगानामा पठाउनुपर्छ । यसरी पठाउँदा युएससीआईएसबाट पठाउने ठेगाना र अन्य कुरियरबाट पठाउने ठेगाना फरक फरक रहेको छ । फर्ममा हस्ताक्षर गरेर पठाउनुपर्ने र हस्ताक्षर नगरिएको फर्म अस्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

यो आवेदन दिंदा युएससीआईएमा ५३५ डलर शुल्क तिर्नुपर्छ । यदि मंगेतरका २१ बर्ष नपुगेका छोराछोरी भएमा उनीहरुका लागि के ३ भिसा प्राप्त गर्न युएससीआईएसमा शुल्क तिर्नु पर्दैन । युएससीआईएसमा मनी अर्डर, व्यक्तिगत चेक वा क्यासियर चेकमार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

युएससीआईसमा कसरी फाइल गर्ने थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

लकबक्समा फाइल गरिएका आवेदको शुल्क क्रेडिट कार्डमार्फत पनि तिर्न सकिन्छ । चेकमार्फत तिर्नेले युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नाममा चेक पठाउनुपर्छ । आवेदन पठाउँदा अमेरिकी नागरिक भएको प्रमाण, विगतमा कुनै विवाह गरेको भए आफू र मंगेतर दुबैले पहिलेको विवाह खारेज गरेको प्रमाण, ३० दिनभित्र लिइएको आफ्नो र मंगेतरको पासपोर्ट साइजको एकएक फोटो लगायतका कागजात पठाउनुपर्छ ।

युएससीआईएसको सर्भिस सेन्टर अनुशार आवेदनबारे निर्णय हुन लाग्ने अवधि फरक फरक हुन्छ । क्यालिफोर्निया सभिस सेन्टरमा ६ देखि ८ महिनासम्म, नेब्रास्का सर्भिस सेन्टरमा साढे ५ महिनादेखि साढे ७ महिनासम्म, पोटामिक सर्भिस सेन्टरमा ४ देखि ७ महिनासम्म, टेक्सास सर्भिस सेन्टरमा ५ देखि ७ महिनासम्म, भर्मोन्ट सर्भिस सेन्टरमा ११ देखि १४ महिनासम्मको अवधि लाग्छ ।

आवेदन स्वीकृत भएपछि युएससीआईएसले आवेदन नेशनल भिसा सेन्टरमा पठाउँछ । नेशनल भिसा सेन्टरले भिसाको थप प्रकृयाबारे उल्लेख गर्दै पत्र पठाउँछ । नेशनल भिसा सेन्टरले आवेदन दूतावासमा पठाइसकेपछि दूतावासले मंगेतरको अन्तरवार्ता लिन्छ । र भिसा जारी गरिन्छ । हरेक के भिसा आवेदकहरुले फरक फरक भिसा आवेदन शुल्क तिर्नुपर्छ ।

नेशनल भिसा सेन्टरको प्रकृयाबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

भिसा अन्तरवार्तामा आउँदा भरेको डीएस १६० फर्म भरेको कन्फर्मेशन नम्बर, पासपोर्ट, जन्मदर्ता प्रमाण, पहिले विवाह गरेको भए डिभोर्सको कागजात, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्ट, फर्म आई १३४ भरेको स्पोन्सर, २ वटा फोटो, विवाह गर्ने अमेरिकी नागरिकसँगको सम्बन्धको प्रमाण लगायतका कागजातहरु साथमा लैजानुपर्छ ।

प्राय के वान भिसाहरुको प्रकृया एकबर्षभित्रै पूरा हुन्छ । तर कतिपय आवेदनमा आवेदकले छिटो कागजात नबुझाउने, थप सुचनाहरु बुझाउनका लागि दिइएको निर्देशन समयमा पालना नगर्ने, दूतावासमा थप अनुसन्धान गर्नुपर्ने अवस्था भएमा प्रशासनिक प्रकृयामा जाने लगायतका कारणले लामो समय पनि लाग्नसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com