नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ, अझै रजिष्ट्रेशन र रि रजिष्ट्रेशन फाइल गर्नेहरु उल्लेख्य
प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार
अमेरिकामा नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ रहेको युएससीआईएसले जनाएको छ । नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि कायम रहेकोमा सुरुमा टीपीएस फाइल नगरेका वा बीचमा रि रजिष्ट्रेशन गर्न छुटाएकाहरुले पनि अहिले टीपीएस आवेदन आई ८२१ फाइल गरिरहेको युएससीआइएसको तथ्यांकले देखाएको छ ।
अमेरिकामा बस्ने नेपालीहरुलाई सन् २०१५ को जुन २४ देखि टीपीएस सुविधा प्रदान गरिएको थियो । त्यतीबेला टीपीएस आवेदन दिएकाहरुका लागि सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।
सुरुमा टीपीएसका लागि आवेदन दिएका र बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने भएकाले युएससीआईएसमा नेपालीका त्यस्ता आवेदनहरु उल्लेख्य रुपमा प्राप्त भइरकेका छन् । आर्थिक बर्ष २०२१ मा मात्र ९३७ जना नेपालीहरुका टीपीएस आवेदन प्राप्त भएको युएससीआईएसले जनाएको छ ।
आर्थिक बर्ष २०२१ मा झण्डै ३ सय नेपालीका टीपीएस रजिष्ट्रेशन र रि रजिष्ट्रेशन आवेदन स्वीकृत भएका छन् भने झण्डै ६० जना आवेदन अस्वीकृत भएका छन् । बीचको अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने भएतापनि त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्ने प्रावधान छ । त्यस्तै रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।
अहिले नेपाली लगायतका टीपीएसवाहकले रजिष्ट्रेशन, रि रजिष्ट्रेशन र वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्ने व्यवस्था समेत गरिएको छ । सबै टीपीएस आवेदकहरुले टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ आवेदन अनलाइनबाटै दिनसक्ने युएससीआईएसले जनाएको छ ।
अहिले टीपीएसको दर्जा प्रदान गरिएका योग्य देशका आवेदकहरु नोभेम्बर २९ सम्म टीपीएस र वर्क परमिटका लागि अनलाइनबाटै आवेदन दिन योग्य भएका हुन् । अहिलेसम्म बर्मा, एल साल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, भेनेजुएला, यमनलाई अमेरिकाले टीपीएसको दर्जा प्रदान गरेको छ ।
पहिलोपटक टीपीएसका लागि आवेदन दिनेहरु र रि रजिस्ट्रेशन गर्नेहरु अनलाइन आवेदनका लागि योग्य हुनेछन् । आवेदकहरुले टीपीएस आवेदन आई ८२१ का साथमा वर्क परमिटको आवेदन आई ७६५ आवेदन दिनसक्नेछन् । वर्क परमिटको आवेदन आई ७६५ आवेदन पछि अलग्गै पनि पेश गर्न सकिनेछ । तर एकैपटक आवेदन दिंदा छिटो वर्क परमिट प्राप्त हुने युएससीआईएसले जनाएको छ ।
अनलाइनबाट आवेदन दिनका लागि युएससीआईएसको माइ युएससीआईएस पेजमा गएर अनलाइन एकाउन्ट बनाउनुपर्छ । अनलाइनबाट आवेदन दिंदा सहज र युएससीआईएससँग इनबक्समार्फत सम्पर्क गर्न सकिन्छ । यसभन्दा अगाडि निश्चित देशका आवेदकलाईमात्र टीपीएस आवेदन आई ८२१ अनलाइनमार्फत फाइल गर्नसक्ने सुविधा रहेको थियो ।
कागजी रुपमा टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ पेश गरेकाहरुले पनि अनलाइन एकाउन्ट बनाएर आफ्नो आवेदन ट्रयाक गर्न सक्नेछन् ।
नेपालीका टीपीएसको कागजातको अवधि स्वत सन् २०२२ को डिसेम्बर ३१ सम्म कायम छन् । टीपीएसवाहकले त्यसका लागि कुनै कदम चाल्न वा शुल्क तिर्न आवश्यक पर्दैन ।
वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत डिसेम्बर ३१ सम्म छ । टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्छन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।
स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु पर्दैन । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा २०२२ को डिसेम्बर ३१ सम्म प्रयोग गर्न सकिन्छ ।
यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले २०२२ को डिसेम्बर ३१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि अब अनलाइनबाट आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।
यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।
यदि तपाईले २०२२ को डिसेम्बर ३१ सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ ।
यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ ।