ग्रिनकार्डवाहकका दम्पत्तिको भिसा जनवरीमा पनि करेन्ट, अरुको टसमस नहुँदा अवधि बृद्धि
प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार
अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको भिसा बुलेटिन जारी गरेको छ । डिसेम्बरको भिसा बुलेटिनको तुलनामा जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड फाइल गर्ने मितिमा टसमस भएको छैन ।
जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने समय डिसेम्बरको तुलनामा एकमहिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।
ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।
जनवरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ७ बर्ष १ महिना पुगेको छ । नोभेम्बरमा यो अवधि ६ बर्ष ११ महिना रहेकोमा डिसेम्बरमा एक महिना बढेर ७ बर्ष पुगेको थियो । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ६ बर्ष ४ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १३ बर्ष २ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष १० महिना पुगेको छ ।