अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि थप २० हजार भिसा उपलब्ध
प्रकाशित मिति : पुस ७, २०७८ बुधबार
अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२२ को पहिलो आधाका लागि थप २० हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । रोजगारदाताहरुले थप २० हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् ।
सन् २०२२ को मार्च ३१ वा त्यो भन्दा अगाडि काम सुरु गर्ने अस्थायी गैर कृषि कामदारहरुका लागि यी भिसाहरु उपलब्ध हुनेछन् । २० हजारमध्ये १३ हजार ५ सय भिसाहरु पहिलेपनि यस्तो भिसा लिएर अहिले काममा फर्कनेहरुका लागि उपलब्ध हुनेछन् भने ६५ सय भिसाहरु हैटी, एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरसका लागि उपलब्ध हुनेछन् ।
रोजगार दाताले अस्थायी गैर कृषि कामदार भिसामा कसैलाई राख्नका लागि उनीहरुको व्यवसायमा अतिरिक्त एच टु बी कामदारहरु नराखेको खण्डमा नोक्सान पुग्ने देखाउनुपर्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी साताहरुमा थप कोटाका लागि कसरी आवेदन दिने भन्ने सन्दर्भमा निर्देशिकाहरु प्रकाशित गर्ने जनाइएको छ ।
आर्थिक बर्षको पहिलो आधामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी गैर कृषि कामदारका लागि थप भिसाहरु उपलब्ध गराएको यो पहिलो पटक हो । आर्थिक बर्षको दोश्रो आधाका लागि भने थप भिसाहरु यस अगाडि पनि उपलब्ध गराइएको थियो । आर्थिक बर्ष २०२१ को अतिरिक्त २२ हजार भिसाको कोटा गत अगस्त १३ मा पूरा भएको थियो । त्यसैले थप कामदार ल्याउन चाहने रोजगारदाताका लागि थप मौका आएको छ ।
रोजगारदाताहरुले पहिले नै अमेरिकामा एच टु बी भिसामा रहेकाहरुलाई नयाँ आवेदन स्वीकृत हुँदासम्म प्रतिक्षा नगरी तुरुन्तै काममा लगाउन सक्नेछन् । यसपटक थपिएका भिसाहरु आर्थिक बर्ष २०२२ का लागिमात्र लागु हुनेछन् भने यसले आगामी आर्थिक बर्षका भिसाहरुमा कटौती वा नकारात्मक असर गर्नेछैन ।
यो भिसामा कामदार ल्याउन चाहने रोजगारदाताहरुले तोकिएको कामका लागि अमेरिकामा कामदारहरु नपाएको, अमेरिकामा हुने कामदारहरु काम गर्न इच्छुक नभएको वा योग्य नभएको प्रमाणित गर्नुपर्छ । यो भिसाका लागि रोजगारदाताले आई १२९ आवेदनका साथमा लेबर सर्टिफिकेशन समेत पेश गर्नुपर्छ । यो भिसाका लागि कामदार आफैले आवेदन दिन मिल्दैन ।
अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८६ देशहरु योग्य छन् । सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।
नेपाल सुचीमा रहेको छैन । तर विभिन्न अवस्थाको मूल्यांकन गरेर युएससीआईएसले नेपाली आवेदकको समेत अस्थायी कृषि तथा गैर कृषि भिसा आवेदन स्वीकार गर्न सक्नेछ ।