अमेरिकाको भिसा शुल्क १६० डलरबाट बढाएर २४५ बनाउने तयारी, २७ करोड डलर आम्दानी बढ्ने
प्रकाशित मिति : पुस १४, २०७८ बुधबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने तयारी गरेको छ । भिसा शुल्क बढाउनेबारे प्रस्तावित नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । जस अनुशार अधिकांश गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर २४५ डलर बनाउने प्रस्ताव गरिएको छ ।
भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि अहिलेसम्म भिसा शुल्क १६० डलर रहेको छ । त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा ३१० डलर बनाउने प्रस्ताव गरिएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाउने प्रस्ताव गरिएको हो ।
त्यस्तै ब्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई भिसाको शुल्क पनि २०५ डलरबाट बढाएर ४८५ डलर बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै २ बर्षसम्म नयाँ भिसा नलिनेगरी जे भिसा लिएकाहरुलाई छुट दिनुपरेको खण्डमा छुट आवेदनका लागि १२० डलर लिइदै आएकोका बढाएर ५१० डलर बनाउने तयारी गरिएको छ । निश्चित प्रकारका जे भिसावाहकहरु अमेरिकाबाट फर्केपछि २ बर्ष अमेरिका जान नपाउने प्रावधान रहेकोमा २ बर्षअगाडि जानुपरेमा छुटको आवेदन दिन आवश्यक हुन्छ ।
विभिन्न प्रकारका भिसा शुल्कहरु बढाउँदा अमेरिकी सरकारलाई २७ करोड, १२ लाख ८१ हजार ७९० डलर बढी आम्दानी हुने अपेक्षा गरिएको छ । यो नियम प्रस्तावित नियममात्र भएकाले फरबरी २८ मा कमेन्ट अवधि सकिएपछि अन्तिम नियम प्रकाशित हुने अपेक्षा गरिएको छ ।