भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिक-‘हरेक ६ महिनामा संसारलाई भ्याक्सिन लगाउन सम्भव छैन’


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका बनाउन भूमिका निभाएका एकजना मुख्य वैज्ञानिकले हरेक ६ महिनामा संसारभर सबैलाई बुस्टर डोज लगाउन सम्भव नभएको बताएका छन् । हरेक ४ वा ६ महिनामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनु दिगो र किफायती समेत नहुने उनले बताएका छन् ।

अक्सफोर्ड भ्याक्सिन गु्रपका निर्देशक तथा बेलायतको भ्याक्सिन समितिका प्रमुख समेत रहेका प्रोफेसर एन्ड्रयु पोलार्डले मंगलबार द डेली टेलिग्राफसँगको कुराकानीमा यस्तो बताएका हुन् । १२ बर्ष वा त्योभन्दा माथिका हरेक समुहलाई भ्याक्सिन दिनुको साटो संवेदनशीलहरुलाई लक्ष्यीत गर्नुपर्ने उनको भनाई छ ।

बेलायतमा कोरोनाबिरुद्धको चौथो शट लगाउनुभन्दा अगाडि थप प्रमाण र अध्ययन आवश्यक रहेको उनले बताए । बेलायतमा १८ बर्षमाथिका सबैलाई र १६ बर्षभन्दा माथिका जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको तेश्रो डोज लगाइदैछ ।

इजरायलमा कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज लगाउन सुरु भसकेको छ । अहिले सबै स्वास्थ्यकर्मी र ६० बर्षभन्दा माथिकाहरुलाई चौथो डोज लगाउन सुरु गरिसकिएको छ । डिसेम्बरको अन्तिम साता जर्मन स्वास्थ्यमन्त्रीले पनि कोरोनाबिरुद्ध भ्याक्सिनको चौथो डोज आवश्यक रहेको बताएका थिए ।

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले सम्भावित चौथो डोजका बारेमा अहिले नै छलफल गर्नु छिटो हुने बताएका छन् । चौथो डोजको बारे अहिले नै बोल्नु अपरिपक्व हुने उनको भनाई छ । तेश्रो अर्थात् बुस्टर डोजपछि प्राप्त हुने संरक्षणको राम्ररी मूल्यांकन गरेरमात्र यसबारे थप निर्णय लिइने फाउचीले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com