क्यापिटल हिल दंगाका एक बर्ष, ट्रम्प अमेरिकी प्रजातन्त्रका लागि खतरा भएको बाइडेनको आरोप
प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यापिटल हिलमा दंगा भएको एकबर्ष पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै डोनाल्ड ट्रम्प अमेरिकाको प्रजातन्त्रको लागि खतरा रहेको बताएका छन् । ट्रम्पले अमेरिकाको प्रजातन्त्रलाई उल्टाउन खोजेको आरोप लगाउँदै बाइडेनले यस्तो घटना अमेरिकामा पुन कहिलेपनि हुन नहुने बताएका छन् ।
अमेरिकाको इतिहासमा नै राष्ट्रपतिमा रहेको व्यक्तिले चुनावमा पराजित मात्र नभई शक्तिको शान्तिपूर्ण हस्तान्तरणमा समेत अवरोध उत्पन्न गरेको बाइडेनले बताए । हिंश्रक भींडलाई क्यापिटल हिलमा दंगाका लागि उत्तेजित बनाएपनि उनीहरु असफल भएको र यस्तो आक्रमण अर्को पटक नहुने कुरा सुनिश्चित गर्नैपर्ने बाइडेनले बताए ।
बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेयता ट्रम्पलाई प्रत्यक्षरुपमा सम्बोधन गरेर केही भनेका छैनन् । बिहिबारको सम्बोधनमा पनि बाइडेनले ट्रम्पको नाम लिएनन तर पूर्व राष्ट्रपतिप्रति एकदर्जनभन्दा धेरै सन्दर्भहरु उल्लेख गरे । ट्रम्पले पराजय स्वीकार गर्न नसकेकोमा र चुनावको बारेमा झुठहरु बोलेकोमा बाइडेनले आक्रोश व्यक्त गरे ।
जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाको कारण डोनाल्ड ट्रम्पबिरुद्ध दोश्रो पटक प्रतिनिधिसभाबाट महाभियोगको प्रस्ताव पारित गर्ने अवस्था आएको थियो । यो दंगाले एफबीआर्ईएको इतिहासमा नै सबैभन्दा ठूलो अनुसन्धानको अवस्था आएको थियो । झण्डै ७ सय व्यक्तिलाई पक्राउ गरिएको थियो भने सयौं अझै पनि फरार रहेका छन् ।
प्रतिनिधिसभाको छनौट समितिले अहिले पनि दंगाबारे अनुसन्धान जारी राखेको छ । ट्रम्पका २ सहयोगीहरु मार्क मेडोज र स्टीभ ब्याननलाई आपराधिक अभियोगमा नियन्त्रणमा लिइएको छ । क्यापिटल हिल दंगा बाइडेनले सपथग्रहण गर्नुभन्दा २ साता अगाडि भएको थियो ।