क्यानडाको प्रान्तमा भ्याक्सिन नलगाउनेलाई जरिवाना, अप्वाइन्टमेन्ट लिनेको संख्यामा बृद्धि
प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

क्यानडाको क्युबेकमा कोरोनाबिरुद्धको भ्याक्सिन नलगाउनेलाई जरिवाना स्वरुप भ्याक्सिन नलगाएको ट्याक्स लगाइने प्रस्ताव गरेपछि भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट लिनेहरुको संख्या ह्वात्तै बढेको छ । मंगलबार क्यानडाको दोश्रो ठूलो जनसंख्या भएको प्रान्त क्युवेबले भ्याक्सिन नलगाउने बयस्कहरुलाई जरिवाना स्वरुप ट्याक्सको प्रस्ताव घोषणा गरेको थियो ।
स्वास्थ्यका कारणले भ्याक्सिन लगाउन नसकेकाहरुलाई भने यस्तो जरिवाना लगाइनेछैन । यो जरिवाना रकम एकसय डलरभन्दा धेरै हुने जनाइएको छ । मंगलबार यस्तो प्रस्ताव ल्याइएपछि मंगलबार र बुधबार भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट लिनेहरुको संख्या क्यानडामा नाटकीय रुपमा बृद्धि भएको थियो ।
भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट लिनेहरुको संख्या कैयन दिनमा उच्च भएको क्युबेकका स्वास्थ्यमन्त्रीले ट्वीट गरेका छन् । क्युबेकका ९० प्रतिशत योग्यहरुले कोरोनाबिरुद्धको कम्तीमा एकडोज भ्याक्सिन लगाएपनि भ्याक्सिन नलगाएकाहरु त्यहाँको स्वास्थ्य प्रणालीमा बोझ भएको प्रान्तीय सरकारले जनाएको छ ।
बुधबार क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले क्युवेकको आर्थिक जरिवानाको नीति राम्रो भए नभएकोबारे आफूले केही नबताउने तर यसबारे थप जानकारी हासिल गर्न चाहेको बताएका थिए । क्यानडाले भ्याक्सिन नलगाएकाहरुलाई ट्रेन र प्लेनमा यात्रा गर्नमा रोक लगाएको छ । त्यस्तै संघीय कामदार र संघीय सरकारबाट नियमन गरिएका कार्यस्थलमा पनि भ्याक्सिन अनिवार्य गरिएको छ ।