अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी, हिमपात, बाढी र बर्षा, २८ सय उडान रद्द, ३ लाख घर अन्धकार


प्रकाशित मिति : माघ २, २०७८ आईतबार

अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा खराब मौषमको चेतावनीमा ८० मिलियन व्यक्ति परेका छन् । झण्डै ८० मिलियनको बसोबास रहेको मिसिसिपीदेखि मैनसम्मको १४ सय माइलको क्षेत्रमा आँधी र बरफको चेतावनी दिइएको छ ।

नर्थ क्यारोलिनामा झण्डै ९० हजार, साउथ क्यारोलिनामा झण्डै ८८ हजार, जर्जियामा ५६ हजार, फ्लोरिडामा ३२ हजार, टेनेसीमा साढे ७ हजार र अलाबामा ३१ सय घरमा विद्युत आपूर्तिमा अवरोध भएको छ । नर्थ क्यारोलिनाका कतिपय स्थानमा १२ इन्चसम्म हिमपात भएको छ भने २५ वटा काउन्टीहरुमा संकटकाल घोषणा गरिएको छ ।

न्युयोर्कमा आइतबार राती तटीय बाढीको चेतावनी दिइएको छ । न्युयोर्क सिटी, लङ आइल्याण्ड र कनेक्टिकटका कतिपय क्षेत्रमा तटीय बाढीको चेतावनी दिइएको छ । न्युयोर्क र न्युजर्सीमा आइतबार राती र सोमबारका लागि खराब मौषमको चेतावनी दिइएको छ । न्युयोर्कमा रातभर भारी बर्षा हुनेछ भने कैयन स्थानमा तीन फिटसम्म बाढी आउने चेतावनी दिइएको छ ।

न्युयोर्क सिटीमा मध्यरातदेखि सोमबार विहान ८ बजेसम्म हुरीबतासको चेतावनी दिइएको छ भने सोमबार विहान ४ बजेदेखि विहान १० बजेसम्म बाढीको चेतावनी दिइएको छ । खराब मौषमका कारण आइतबार रातीदेखि नै सावधानी अपनाउन चेतावनी दिइएको हो ।

खराब मौषमका कारण अमेरिकामा आइतबार २८ सय उडानहरु रद्द भएका छन् । अमेरिकन एयरलाइन्सले मात्र आइतबार ११ सय भन्दा धेरै उडानहरु रद्द गरेको छ । मौषमबाट प्रभावित भएका ग्राहकहरुलाई थप शुल्कविना नै अर्को उडान बुक गर्ने मौका दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com