अमेरिकामा साना व्यवसायले लिएको पीपीपी ऋण र ईआईडीएल एड्भान्स कर योग्य हुन्छ?


प्रकाशित मिति : माघ २३, २०७८ आईतबार

कोरोनाको महामारीमा अमेरिकामा साना व्यवसायहरुले लिएको पीपीपी ऋण र ईआईडीएल एड्भान्सबारे आईआरएसका निर्देशनहरू बुझ्ने प्रयास गर्दा तपाई रनभुल्लमा पर्न सक्नुहुनेछ । त्यसैले हामीले सहजै बुझ्ने गरी व्याख्या गर्ने प्रयास गरेका छौं ।

अमेरिकामा साना व्यवसायहरुले पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत आफ्ना कर्मचारीहरुलाई तलब खुवाउनका लागि सरकारबाट सहायता प्राप्त गरेका थिए भने ईआईडीएल एड्भान्स अन्तरगत १५ हजार डलरसम्म सहायता रकम पाएका थिए । यो रकम ट्याक्स फाइल गर्दा कसरी रिपोर्ट गर्नुपर्छ भन्नेबारे आईआरएसले निर्देशिका पनि जारी गरेको छ । जस अनुशार पीपीपी ऋण सघीय स्तरमा करयोग्य हुँदैन । अर्थात् पीपीपी फण्ड तपाईंको संघीय ट्याक्स फाइलमा तपाईंको व्यवसायको कुल आम्दानीमा समावेश गर्नुपर्दैन ।

तर पीपीपी फण्ड राज्य र स्थानीय कानूनमा करयोग्य हुनसक्छन् । अधिकांश राज्यले पीपीपी फण्डमा करछुट दिएका छन् तर फ्लोरिडा, नेभाडा, युटाह लगायतका राज्यले भने छुट दिएका छैनन् । रोढ आइल्याण्डले पनि २ लाख ५० हजार माथिका पीपीपी फण्डमा कर लगाउनेछ । न्युयोर्कमा पीपीपी फण्डमा कर छुट दिइएको छ भने खर्च घटाउन अनुमति दिइएको छ । मिनाहा नगरिएका पीपीपी ऋण पनि अन्य ऋणजस्तै करयोग्य हुँदैनन् । मिनाहा गरिएका पीपीपी ऋण पनि कर तिर्नुपर्ने कुल आम्दानीका रुपमा समावेश गर्नु पर्दैन । स्वरोजगारका सन्दर्भमा पनि यही नियम लागु हुन्छ ।

सुरुमा पीपीपी ऋण लिएर तिरिएका खर्चहरु घटाउन नपाइने बताइएपनि सन् २०२० को डिसेम्बरमा यो नियम परिवर्तन गरिएको थियो । जस अनुशार पीपीपी ऋण लिएर तिरिएका खर्चहरु पनि घटाउन पाइन्छ । मिनाहा गरिएका र नगरिएका सबै रकम र ऋणलाई करयोग्य आम्दानीका रुपमा रिपोर्ट गर्नुपर्दैन भने यसबाट गरिएका खर्चहरु घटाउन पाइन्छ ।

त्यस्तै तिर्नु नपर्नेगरी प्राप्त १५ हजार डलरसम्मको ईआईडीएल एड्भान्स रकम सुरुमा करयोग्य रकमका रुपमा रिपोर्ट गर्नुपर्ने प्रावधान भएपछि पछि यो प्रावधान उल्टाइएको थियो । अहिले ईआईडीएल एड्भान्स वापत प्राप्त रकम तपाईले व्यवसायको करयोग्य आम्दानीका रुपमा समावेश गर्नुपर्दैन । थप रुपमा तपाईको करको दायीत्व कम गर्न खर्चहरु समेत घटाउन पाइन्छ ।

त्यस्तै सस्तो ब्याजमा प्राप्त ईआईडीएल ऋणलाई पनि करयोग्य खर्चका रुपमा समावेश गर्नुपर्दैन । अन्य ऋणहरुजस्तै ईआईडीएल ऋण पनि करयोग्य आम्दानी होइन । साथै यो रकमको प्रयोग गरेर तिरिएका खर्चहरु पनि घटाउन सकिने प्रावधान रहेको छ ।

यदि तपाईले २ मिलियन डलरभन्दा धेरै पीपीपी ऋण लिनुभएको थियो भने तपाईको ट्याक्स अडिट गर्ने एसबीए र युएस ट्रेजरीले घोषणा गरेको छ । यद्यपी त्योभन्दा कम ऋणपनि अडिट गर्नसकिने प्रावधान भने रहेको छ, तर अनिवार्य अडिट गरिनेछैन । त्यसैले सबै रसिट, स्टेटमेन्ट, पेरोल रेकर्डहरु सुरक्षित राख्न आवश्यक छ । पीपीपीबाट प्राप्त रकम व्यवसायको ट्याक्स तिर्न प्रयोग गर्न सकिदैन तर ईआईडीएल रकम भने ट्याक्स तिर्न प्रयोग गर्न सकिन्छ ।

ईआईडीएल ऋणको भने अडिट हुने सम्भावना निकै कम रहन्छ । यद्यपी तपाईले ऋण लिंदाका शर्तहरु पालना भने गर्नुपर्छ । आवश्यक परेको खण्डमा अडिट समेत हुनसक्ने भएकाले आफ्ना रेकर्डहरु सुरक्षित राख्न सुझाव दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com