अमेरिकामा विद्यार्थी भिसा, एसाइलम वा टीपीएस हुनेले डिभी लोटरी पारेमा कसरी ग्रिनकार्ड पाउने ?


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

अमेरिकामा बस्नेहरुले पनि योग्य देशको नागरिक भएको खण्डमा डिभी लोटरी भर्न र परेको खण्डमा ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । अमेरिकामा भिसा वा स्टाटसमा रहेका तर ग्रिनकार्ड नभएकाहरुले डिभी लोटरीबाट ग्रिनकार्ड पाउन सक्छन् ।

यदि डिभी लोटरी परेको व्यक्ति अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति÷पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका आप्रवासीले पनि डिभी लोटरीबाट ग्रिनकार्ड पाउन सक्छन् ।
यदि कुनै व्यक्ति अमेरिकामा आएर भिसा नसकिदै युएससीआईएसमा एसाइलम फाइल गरेको छ र उसको एसाइलम युएससीआईएसमा नै पेन्डिङ अवस्थामा छ भने त्यस्तो व्यक्तिले डिभी लोटरीबाट ग्रिनकार्ड पाउनसक्नेछ । साथै कुनै व्यक्तिले आफ्नो भिसा नसकिदै टीपीएस फाइल गरेर टीपीएस प्राप्त गरेको छ भने पनि त्यस्तो व्यक्तिले डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्छ ।

अदालतमा एसाइलमका मुद्दा पेन्डिङ अवस्थामा रहेकाहरु डिभी लोटरीका लागि योग्य हुदैनन् । तर युएससीआईएसमा एसाइलम आवेदन दिएका तर अन्तरवार्ता आइनसकेका, भिसा नसकिदै टीपीएसका लागि आवेदन दिएर टीपीएस पाएका र अहिलेपनि भिसा अद्यावधिक रहेका तर ग्रिनकार्ड नभएकाहरुले डिभी मार्फत ग्रिनकार्ड पाउँछन् ।

अमेरिकामा विद्यार्थी भिसामा रहेकाहरुले डिभी लोटरीबाट फाइदा लिन सहज छ । डिभी लोटरी परेमा उनीहरु स्टाटस एड्जस्ट गर्ने बेलासम्म पनि विद्यार्थी भिसामै रहेको अवस्थामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।
डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा मार्चमा करेन्ट रहेको छ । अमेरिकामा रहेका यो भन्दा तल केस नम्बर हुनेहरुले अहिले प्रकृया अगाडि बढाउन सक्छन् ।

जनवरीमा ३२ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा करेन्ट थियो । कोरोनाको महामारीका कारण दूतावासहरुले ठूलो ब्याकलगको सामना गर्नु परिरहेकाहरुले अमेरिकामा हुनेहरुले युएससीआईएसबाटै प्रकृया अगाडि बढाउनु सहज हुनेछ । युएससीआईएसले पनि ब्याकलगको सामना त गरिरहेको छ तर नियमित हुने प्रयास गरिरहेकाले अमेरिकाबाटै ग्रिनकार्ड पाउन सहज रहेको छ ।

यी सामान्य सुझावहरुमात्र हुन् । कानूनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानून व्यवसायीलाई सम्पर्क गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com