अदालतको आदेशपछि युएससीआईएसबाट एसाइलम वर्क परमिटका २ नियम कार्यान्वयनमा रोक
प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार
अमेरिकाका संघीय न्यायाधिसले एसाइलमवाहकलाई वर्क परमिट सम्बन्धित ट्रम्पकालिन दुईवटा नीतिहरु खारेज गरेकोमा ती नियमहरु लागु गर्न बन्द गरेको युएससीआईएसले घोषणा गरेको छ । युएससीआईएसले सुचना प्रकाशित गर्दै सन् २०२० को जुन २२ मा प्रकाशित र जुन २६ मा प्रकाशित नियम लागु गर्न बन्द गरेको जनाएको हो ।
जुन २२ को नियममा एसाइलम आवेदकले वर्क परमिटका लागि आवेदन दिएपछि ३० दिनभित्र त्यसबारे निर्णय गर्नुपर्ने युएससीईएसको प्रावधान खारेज गरिएको थियो भने र जुन २६ मा प्रकाशित नियममा वर्क परमिटका लागि आवेदन दिन एसाइलम वाहकले ३६५ दिन कुर्नुपर्ने लगायतका प्रावधानहरु राखिएको थियो । तत्कालदेखि लागु हुनेगरी यी नियम कार्यान्वयन गर्न रोकिएको युएससीआईएसले जनाएको छ ।
अदालतको आदेशले कसरी एसाइलम आवेदक र युएससीआईएसको प्रकृयामा प्रभाव पार्नेछ भन्नेबारे थप जानकारीहरु छिट्टै प्रकाशन गर्ने युएससीआईएसले जनाएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधिस बेरिल होवेलले वर्क परमिट सम्बन्धित ट्रम्पकालिन नीतिहरु खारेज गरेपछि विगतका तुलनामा एसाइलम आवेदकलाई वर्क परमिट सहज हुने भएको छ ।
वर्क परमिटका लागि आवेदन दिन एसाइलम वाहकले ३६५ दिन कुर्नुपर्ने, एकबर्षको डेडलाइनभित्र एसाइलम फाइल गर्नेलाई वर्क परमिट नदिने, पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका आउनेलाई वर्क परमिटका लागि अयोग्य बनाउने लगायतका नियमहरु ट्रम्प प्रशासनले लागु गरेको थियो । यो नियमलाई अदालतले खारेज गरेकाले अब एसाइलम आवेदन दिएको १५० दिनपछि नै वर्क परमिटका लागि आवेदन दिनसकिने छ ।
त्यस्तै एसाइलम आवेदकले वर्क परमिटका लागि आवेदन दिएपछि ३० दिनभित्र त्यसबारे निर्णय गर्नुपर्ने युएससीआईएसको डेडलाइन रहदै आएको थियो । यद्यपी युएससीआईएसले यो डेडलाइनभित्र काम गर्न छाडेको भने लामो समय भइसकेको छ । ट्रम्प प्रशासनले यो डेडलाइनलाई खारेज नै गरिदिएको थियो । अदालतले उक्त निर्णय पनि उल्टाइदिएको छ ।
यद्यपी सन् २०२० मा को सेप्टेम्बर मा नै मेरिल्याण्डको ड्रिस्ट्रिक्ट कोर्टले कासा डे मेरिल्याण्ड कासा वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट एएसएपीको सदस्यता लिएकाहरुका सन्दर्भमा एसाइलम आवेदन पेन्डिंग रहेको १५० दिनपछि नै वर्क परमिटका लागि आवेदन दिनसक्ने र ३६५ दिन कुर्न नपर्ने फैसला गरेको थियो । यी दुई संस्थाको सदस्यता लिएकाहरुले बायोमेट्रिक लगायतका अन्य सन्दर्भमा समेत कैयन छुटहरुको व्यवस्था गरिएको थियो ।
सदस्यता सहित पठाएका कैयन नेपालीका वर्क परमिटका आवेदनहरु समेत युएससीआईएसले स्वीकार गरेको थियो । कासा वा एएसएपीको सदस्यता नलिएका नेपालीहरुले नयाँ सदस्यता लिएर उक्त सदस्यता सहित वर्क परमिटका आवेदनहरु पठाएका थिए ।
तरपनि ट्रम्पकालिन नियम लागु भएपछि पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना नै अमेरिका प्रवेश गरेकाहरुलाई भने वर्क वरमिटमा रोक लगाइएको थियो । अदालतको आदेशपछि अब उनीहरुले पनि वर्क परमिट प्राप्त गर्न सक्ने भएका छन् ।